विलासपुर मन्दिर

विलासपुर भैरव मन्दिर दैलेख जिल्लाको एक प्रसिद्व मन्दिर हो। यो मन्दिर दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिका अन्तरगत पर्ने विलासपुर डाँडामा अवस्थित छ। यस मन्दिरको अर्को नाम विलासपुर बटुक भैरव पनि भनिन्छ। बाइसे राज्य कालका खस राजा विलासपुरे राजाहरूले कुल देवताको रूपमा पूजा गर्ने प्रचलनमा ल्याएको यो मन्दिरको निकै महत्त्व मानिन्छ।

विलासपुर मन्दिर
बेलासपुर मन्दिर.jpg
विलासपुर मन्दिर
प्राथमिक विवरण
स्थान:नारायण नगरपालिका, दैलेख
सम्बन्धनहिन्दुत्व
जिल्लादैलेख
देशनेपाल

मन्दिरको स्थापनासम्पादन

विलासपुर मन्दिरको स्थापनाको बारेमा अहिले सम्म कुनै ठोस प्रमाण उपलब्ध हुन सकेको छैन। तर पनि स्थानिय जन श्रुती अनुसार यस मन्दिरको स्थापनाको बारेमा फरक फरक मत पाइएको छ।

  1. विलासपुर राज्यका प्रथम नायक श्री वर्माले विलासपुर राज दरबार नजिकै वि. सं. १४७५ मा आफ्नो कुल देवताको रूपमा भैरवको अमूर्त आकृती सहित प्रस्तरको बटुक भैरव स्थापना गरेर पूजा गर्न सुरुवात गरेका थिए।
  2. विलासपुर राज्यका अन्तिम राजा कर्ण शाहीकी रानीले आफ्नो माइती जुम्लाको सिंजाबाट ढलौटको भैरव मूर्ति ल्याएर यहाँ स्थापना गरेर पूजा गर्ने सुरुवात गरेकी थिइन्। [१] मन्दिर नजिकै रहेको विलासपुर दरबारको भग्नावशेषहरू यत्र तत्र छरिएर रहेका आज पनि देखिन्छन्। विलासपुरे राजाले आफ्नो प्रभाव कायम राख्नको लागि दैवी शक्तिको उपासनाको आवश्यकता बमोजिम श्री वर्माले दरबार नजिकै मन्दिर स्थापना गरेर पूजाको सुरु गरेका र पछि गएर उनका सन्तान दरसन्तानले आफ्नो कुल देवताको रूपमा पूजा गर्दै गएको प्रसङ्ग सान्दर्भिक नै देखिन्छ। वर्तमान मन्दिरको निर्माण भने वि. सं. २०३८ सालमा गरिएको थियो। यसै तर्कको आधारमा यो मन्दिरको स्थापना पनि बेलासपुर राज्यको स्थापना अर्थात वि. सं. १४७५ को आसपासमा भएको मान्न सकिन्छ। हाल यो मन्दिरमा मन्दिरको प्राचिनतालाई चिनाउने कुनै अवशेषहरू बाँकी रहेका छैनन्।यहाँ रहेको सुनको छाता ओढाएको वटुक भैरवको मूर्ति र परम्परादेखी मन्दिरमा पूजा गरिदै आएको खड्क वि. सं. २०४४ मा हराएको थियो र आज सम्म पत्ता लागेको छैन। हाल मन्दिर भित्र पूजाको लागि नयाँ मूर्ति स्थापना गरिएको छ।

मुख्य पूजासम्पादन

मन्दिरमा प्रत्यक शनिबार र मङ्गलबारका दिन बोका र कुखुराको बलि सहित पूजा गर्ने प्रचलन रहेको छ। बडा दशैंको नवरात्रभर विशेष पूजा र अनुष्ठान गरिने भएकोले नवरात्रीको अष्टमी, नवमी र दशमीको दिन भक्तहरूको ठुलो घुईंचो लाग्ने गर्दछ। श्रद्धा पूर्व क पूजा अर्चना गर्नाले भक्तहरूको मनोकाङ्क्षा पूर्ण हुन्छ भन्ने विश्वास बोकेर दैलेख लगायत छिमेकी जिल्ला कालिकोट, जाजरकोट, अछाम लगायत विभिन्न जिल्लाबाट आउने भक्तजनहरूको ओइरो लाग्दछ।

मन्दिरको संरक्षणसम्पादन

 
विलासपुर मन्दिरको प्रवेश द्वार

विलासपुर राज्यका अन्तिम राजा कर्ण शाहीका सन्तति स्थानिय निवासी भुपेन्द्र शाहीको अध्यक्षतामा विलासपुर मन्दिर क्षेत्र संरक्षण प्रवर्द्धन एवं व्यवस्थापन समिति गठन गरिएको छ। उक्त समितिले वि. सं. २०६६ सालमा नारायण नगरपालिकाको अनुदान र स्थानिय जनश्रमदान गरेर ३२६ वटा खुडकिला भएको बाटो र प्रवेश द्वार निर्माण गरेको छ।

हेर्नुहोस्सम्पादन

सन्दर्भ सूचीसम्पादन

  1. विश्व के.सी. (पोखरेल) द्वारा लिखित कीर्तिखम्ब नामक पुस्तक पहिलो संस्करण पृष्ठ संख्या ११५

बाहिरी लिङ्कहरुसम्पादन