लूनी (खण्डकाव्य)
लूनी महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लेखिएको नेपाली भाषाको खण्डकाव्य हो । १८ खण्डमा लेखिएको यो खण्डकाव्य सुखान्त प्रेमकथामा आधारित खण्डकाव्य हो । साझा प्रकाशन[१] ले विसं २०२५ सालमा प्रथम पटक प्रकाशित गरेको यो खण्डकाव्यमा सिन्धुपाल्चोक जिल्लाको हेलम्बुमा रहेको सेर्पा समुदायको प्राचिन रहन-सहनलाई चित्रित गरिएको छ । यस खण्डकाव्यमा महाकवि मुख्य पात्र लूनीलाई केन्द्रित गर्दै हेलम्बुको प्राकृतिक छटा, त्यहाँको तत्कालीन सेर्पा परिवार र तिब्बतको ल्हासाको शाही परिवारको ठाँटबाँट, सामाजिक परिवेस तथा रीतिरिवाजको सजीव चित्रण गरेका छन् ।
लेखक | महाकवी लक्ष्मीप्रसाद देवकोटा |
---|---|
आवरण कलाकार | टेकवीर मुखिया |
देश | नेपाल |
भाषा | नेपाली |
विषय | साहित्य |
प्रकार | खण्डकाव्य |
प्रकाशक | साझा प्रकाशन |
प्रकाशित मिति | विसं २०२५ साल |
आइएसबिएन | 978-99933-2-307-1 Parameter error in {{isbnt}}: Invalid ISBN. |
कथा सारांश
सम्पादन गर्नुहोस्महाकवी लक्ष्मीप्रसाद देवकोटाले हेलम्बुको राजा सोङ्गोको दरवार र वरपरको प्राकृतिक वातावरणको वर्णन गर्दै लूनी खण्डकाव्यको उठान गरेका छन् ।
सेर्पा साम्बा सोङ्गो
राज्छ दरवार लोङ्गो
सेर्पा हेलम्बू ।
चाँदी चुली झलझल
खोला नाला कलकल
सेर्पा झोलुङ्गो ।
लुनीको पहिलो खण्डको सुरूमा हिमाल, हिमनदी, फुलबारी, चराचुरूङ्गी, सगरमाथा र हिमालमा देखिने सुन झैं टल्कने बिहानी किरण अदि प्राकृतिक छटाले सिंगारेको हेलम्बुको लोङ्गो दरवारमा बस्ने सेर्पा राजाको ठाँटबाँट, जीउडाल तथा दैनिक जीवनको चित्रण गरिएको छ । यही खण्डको अन्त्य तिर मुख्य पात्रा लूनीको रूपको बयान गरिएको छ ।
रानीवनमा फुल्ने गुलाफ हँसिली ।
वसन्तकी झरी जस्ती रसिली ।।
साँझकी बहिनी जस्ती हिमाल दरवारमा
फूल फुलेकी जस्ती मानिस घरबारमा ।।
महाकवीले वर्णन गरे अनुसार बैंसालु उमेरमा पुगेकी लूनी अत्यन्तै सुन्दर छिन् । उनी फूलको थुङ्गा झैं हलुका शरीर, गुलाबी गाला, मोती जस्ता दन्तलहर, वनचरीको झैं सुमधुर बोली भएकी लूनी विभिन्न धातुजडित लुगा तथा गहना लगाएर सुखसयलमा हुर्केकी राजकुमारी हुन् । डोलेहरूले बोक्ने सुन बुट्टे पाल्कीमा चडेर वरिपरि सुसारेहरूको बथानसहित हिड्ने, चराको भुवाले बनेको ओछ्यानमा तिलको सिरानी लगाएर सुत्थिन भन्नेकुरा उल्लेख गरेर सेर्पा राजकुमारी लूनीको शाही जीवनशैलीलाई महाकवीले अत्यन्तै उत्कृष्टरूपमा उतारेकाछन् । तेस्रो खण्डमा महाकविले मारदौन भन्ने काल्पनिक प्रतियोगितात्मक उत्सवको कल्पना गरेकाछन् जसलाई हेर्न राजा, राजकुमारीसहित उक्त भेगका आइमाई, बच्चा, ठिटा, बूढा, जवान मैदानमा जम्मा हुने गर्दछन् ।
आज बैशाख पूर्णिमाको मारदौन भन्ने उत्सव छ ।
सारा सेर्पा हेलम्बू नै हेर्न आज उत्सुक छ ।।
स्यावा मैदान मखमल-हरा चारैतिर घेरिन्छ ।
आइमाई बच्चो ठिटो बूढो जवान सारा वैरिन्छ ।।
यसरी सबै जम्मा भएर घोडादौड, कुश्ती, तिरवाजी, तरवारवाजी, नृत्य जस्ता विभिन्न प्रतियोगिताहरू आयोजना हुन्छ । उक्त प्रतियोगितामा चाङना नामको एक युवक सबैलाई उछिन्न सफल हुन्छ ।
सारा सेर्पा जित्ने आज चाङना नामको ठीटो भो ।
अग्लो गोरो राम्रो सेर्पा घोडादौडमा छिटो भो ।।
कुश्ती खेल्दा राङजालाई धोबीपाटले पछार्यो ।
बुद्धको रथ दुवै हातले तानी एक्लै घिसार्यो ।।
यसरी प्रवेश गराइएको नायक पात्र चाङना उक्त प्रतियोगिता मात्रै हैन राजकुमारी लूनीको दिल जित्न पनि सफल हुन्छ । कम्बल कोट र कट्टु लगाएको कम्मरमा खुकुरी भिरेको बीस वर्षे ठिटोलाई विजयको ताज पहिर्याउँदा राजकुमारी लुनी मोहित हुन पुग्छिन् । त्यस दिन देखि राजकुमारी लूनी बिस्तारै चाङनाको यादमा हराउन थाल्छिन्, एकान्तमा बसेर रून थाल्छिन, वासना हराएर खोज्दै हिँडेको कस्तुरी झैं हुन्छिन् । थोरै खाने, थोरै बोल्ने, रातमा धेरै जागा रहने गर्न थाल्छिन् । राजकुमारी लूनीको यस्तो अवस्था नजीकबाट रहेकी जिन्जी नामकी सुसारेले के भएको हो भनी सोध्छिन् ।
आज क्यान लूनी रानी आज क्यान लूनी ?
आधा वचन सुन्न छोड्यौ आधा कुरा सुनी ।
त्यस पछि राजकुमारी लूनीले आफूलाई चाङना मनपरेको भन्दै उसलाई भेटाइदिन अनुरोध गर्छिन् । जिन्जीले अनेक किसिमले सम्झाउँदा पनि राजकुमारी लूनीले नमानेपछि उनी राजकुमारी र चाङनालाई भेटाइदिने निर्णय गर्छिन् । यस्तैमा ल्हासाको राजाले राजकुमारी लूनीलाई बुहारी बनाउन चाहेको सन्देस हेलम्बुमा पठाउँछ । राजा सोङ्गोले पनि उक्त प्रस्ताव सहर्ष स्वीकार गर्छ । यता विरहमा डुबेर रहेकी राजकुमारी लूनीलाई केलिन्दी नदीको तिरमा रहेको बगैंचामा लिएर जान्छिन् जहाँ चाङना लूनीलाई सम्झिँदै पूजा गरिरहेको हुन्छ । चाङना लूनीको नाम लिँदै रोइरहेको देखेपछि लूनीले चाङनालाई अंकमाल गर्छिन् ।
चाङना लाई लूनी छन् लूनी लाई चाङना छन् ।
व्यर्थ है जिन्जी, जून ! ह्लासामा माग्न्या छन् ।।
केलिन्दी नदीको तिरमा लूनीले चाङनालाई भेटेको चाल पाएपछि राजा अत्यन्तै क्रोधित हुन्छ । राजाले लूनीलाई चाङनाको टाउको काटिदिने धम्की दिन्छ । उता चाङनालाई गुम्बा पस्न बाध्य बनाउँछ । त्यसको केही समयपछि लूनीको विवाह ल्हासाको राजकुमारसँग हुन्छ । राजकुमारी लूनी रूँदै रूँदै सुनको पाल्कीमा राखेर अन्माइन्छिन् । लूनीको विवाह पछि महाकवी उनकै पछिलागेर ल्हासामा पुग्छन् अर्थात दशौँ खण्डमा पुगेर उनले ल्हासाको वर्णन गरेकाछन् ।
ह्लासा सारा सुन घर छ।
ञुँका पहाड भरभर छ ।
पन्ना हाँगा हाँगामा ।
हीरा हीरा झर्छन् रे, छरछर छङछङ छागामा ।।
महाकवीले ल्हासामा एउटा भव्य दरवारको कल्पना गरेकाछन् । उनले सिङ डोङ्गारमा रहेको सुनखानी र लुक्याँङको तलाउको समेत वर्णन गरेका छन् । उनका अनुसार ल्हासा दरवार सुन, हिरा, मोती, मुगा, मणी-माणिक्यले धप धप बलेको छ । झलमल दरवारमा जहाँतही विभिन्न किसिमका फूलले सजिएका छन् । जताततै अत्तरको सुगन्ध फैलिएको त्यस्तो महलमा पनि रानी लूनी भने विरहमा वइलाएकी छिन् । हजार नोकरचाकरले भरिएको त्यो महलभन्दा लूनीलाई हेलम्बुमा रहेको चाङनाको झुपडी नै प्यारो लाग्छ । सुसारे जिन्जी पनि लूनीसँगै ल्हासामा छिन् । जिन्जीका सामु लूनी आफूले सपनामा चाङना रोएको देखेको भन्दै रून्छिन् । यता चाङना केलन्दी नदीको छेउको कहालिलाग्दो भिरमा रहेको गुफामा लामाहरूको संरक्षणमा छ । उसलाई लामाहरूले ठेलीका ठेली पुस्तक अध्ययन गर्न दिन्छन् तर उसले पुस्तकको पानामा समेत लूनीलाई देख्छ । अक्षर अक्षरमा सुकुमारी लूनी भएको कल्पना गर्छ । उ सपना विपना सबैमा लूनीमै हराएको छ । उता ल्हासाको राजकुमार ह्लानोले लूनी दिनप्रतिदिन विरहमा हराउँदै गएको चाल पाउँछ ।
के चाहिन्छ तिमीलाई ह्मेन्दो वन रानी
ह्लानो सोध्छ जवाफ दिन्छन् आँखाभर पानी ।।
कल्ले बुझ्ने जिन्दगीको भित्री कहानी ?
लूनीको विरहलाई नजीकबाट नियालिरहेकी जिन्जी पनि अत्यन्तै दुखी छे । उसले अन्जा नामकी साथीसँग मिलेर एउटा उपाय निकाल्छे । ल्हासामा एकदमै प्रख्यात लामा ह्लुसिंगोलाई सबैकुरा बताएर लूनीलाई चाङना भएको ठाउँमा पुर्याइदिए मात्र ठीक हुन्छ भन्न लगाउँछन् । लामा ह्लुसिंगो दरवारमा आएर राजा तासी र राजकुमार ह्लानोलाई भेट्छ र लूनीलाई केलन्दीको तिरमा रहेको गुम्बामा नलगी नहुने कुरा बताउँछ । लामा ह्लुसिंगोको कुरा सुने पछि राजकुमार ह्लानो, लूनी, जिन्जी र अन्जा लावा लस्करसहित हेलम्बुतिर लाग्छन् ।
सेर्पा साम्बा सोङ्गो, भेट्छ ह्लानो होङ्गो
जुवाइँ मानले ठूलो, झुकाई आफ्नो शिर ।
छोरी रानी लूनी
जुन झैं आकाशमुनि, वैलिएको फूल ।
लूनीको अवस्था देखेर राजा साम्बा र रानी हेलम्बा दुवै दुखी हुन्छन् । लूनीमा साँच्चै धेरै परिवर्तन आएको छ, पहेँलिएको पात झैं, मुटुमा काँडा बिझे झैं, भाँचिएको मुना झैं । रानी हेलम्बाले अत्यन्तै माया गरेर छोरीलाई मुसार्छिन र के भयो भनी सोध्छिन् जवाफमा लूनी आसुमात्र झार्छिन् । रानी हेलम्बा लूनीको इच्छाविपरित विवाह गरिदिएकोमा पश्चाताप गर्छिन् ।
सबैकुरा सुनेपछि राजा साम्बा, लूनी र ह्लानोलाई लिएर केलन्दीको तिरमा रहेको गुम्बामा पुग्छ । त्यहाँ चाङना लामा ह्मे ह्मेसँग ध्यानमा बसेको हुन्छ । चाङनालाई देख्नासाथ लूनी गएर छोप्दै अंकमाल गर्छिन् । तब लामा ह्मे ह्मेको पनि ध्यान भंग हुन्छ । उसले अन्तर्दृष्टिबाट सबैकुरा चाल पाइसकेको हुन्छ । लूनीको चाला देखेर ह्लानो अचम्ममा पर्दछ । चाङना पनि बरबर आँसु झार्दै लूनीको अंगालोमा बाँधिन्छ । राजा साम्बाको पनि आँखा खुल्छ । त्यसपछि लामा ह्मे ह्मेले एउटा फैसला सुनाउँछ ।
बुद्ध भगवान भन्नुहुन्छ लूनी चाङनाकी ।
ह्लानो पस्ला केलिन गुम्बा,
चाङना राख्ला यशको खम्बा,
अर्कैलाई वर्ने दिलकी
ह्लानोको बुद्धि भूलकी भर्इ
लूनी माग्नाको ।।
त्यसपछि राजकुमार ह्लानो गुम्बा पस्यो, चाङना र लूनी एक भए र चारै तिर खुसियाली छायो ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ साझा प्रकाशका कविताहरू वेब्याक मेसिन अभिलेखिकरण २०१३-०६-१० मिति