रामेछाप नेपालको मध्यमाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चलमा अवस्थित एक दुर्गम पहाडी जिल्ला हो। राजधानीसमेत रहेको मध्यमाञ्चल विकास क्षेत्रका १९औं जिल्लामा पर्ने रामेछाप सेवा सुविधाको हिसावले एक विकट क्षेत्र हो। राजधानी छोएको काभ्रेपलाञ्चोक जिल्ला, चीनसँग सीमा जोडिएका दोलखाओखलढुङ्गा जिल्ला र तराई छोएको सिन्धुली जिल्लाको बीचको १,५४६ वर्ग किलोमिटरको यो जिल्ला पर्याप्त स्रोत र साधन भएर पनि उपेक्षित अवस्थामै छ। रामेछापलाई तीन लालको जिल्ला भनेर पनि चिन्ने गरिन्छ। नेपाली साहित्यका प्रथम शहीद सुब्बा कृष्णलाल अधिकारी, शहीद गङ्गालाल श्रेष्ठनेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म रामेछापमै भएको हो। रामेछापले नेपाली राजनीति, कला, साहित्य, उद्योगी, व्यापारी, विद्वान, साँस्कृतिककर्मी, सञ्चारकर्मी सबै प्रतिभा जन्माएको छ। भौगोलिक हिसावमा भन्ने हो भने रामेछाप जनकपुर अञ्चलका ६ जिल्ला मध्येको एक हो। विक्रम संवत् २०५६ को विकेन्द्रीकरण नियमावलीअनुसार अहिले यो जिल्ला दुर्गमको कोटीमै पर्दछ। यस जिल्लाको भौगोलिक विस्तार २७ डिग्री २८' उत्तरी अक्षांशदेखि २७ डिग्री ५०' उत्तरसम्म र ८५ डिग्री ५०' पूर्वी देशान्तरदेखि ८६ डिग्री ३५' पूर्वसम्म छ। मध्य महाभारत पर्वत शृङ्खलादेखि उच्च हिमाली शृङ्खलासम्म विस्तारित रामेछाप जिल्लाको भू-बनोट समुद्री सतहदेखि ४२६ मिटरको उचाइदेखि ६,९५८ मिटरको नुम्बुर हिमचुलीसम्म फैलिएको छ। कुल ५५ गाविस रहेको रामेछापलाई ११ इलाका र २ निर्वाचन क्षेत्रमा विभक्त गरिएको छ।

रामेछाप जिल्ला

विसं १८३६ देखि विसं २०४६ सम्म कहिले गौडा, गोश्वारा कहिले बडा हाकिमको अड्डा, कहिले अञ्चल स्तरीय प्रशासनिक निकाय, कहिले जिल्ला स्तरीय प्रशासनिक स्थलको रूपमा २१० वर्षको इतिहास वोकेर बसेको रामेछाप सदरमुकाम सरी २०४५ साल देखि विधिवत रूपमा मन्थलीमा रहँदै आएको छ।

जिल्लाको नामाकरण

सम्पादन गर्नुहोस्

रामेछाप जिल्लाको नाम किन, कसरि र कहिले देखि रामेछाप रहन गयो भन्ने सन्दर्भमा एक रोचक विषय भएता पनि रामेछाप वासीको विचारमा यस वारेमा विवधता पाइन्छ।

  • हालको रामेछाप डाँडाँको वरिपरि प्राचीन कालदेखि (हालसम्म) तामाङ जातिको वाहुल्यता रहेको पाइन्छ। तामाङ् भाषामा 'रा' भनेको भेडा बाख्रा, 'मे' भनेको गाई गोरु र 'छाप' भनेको चरण क्षेत्र वा खर्क भन्ने जनाउँदछ। तामाङहरूले रामेछाप डाँडाको मुख्य भागलाई आफ्नो भाषामा रामेछाप भनेर भेडा बाख्रा र गाई गोरुको चरणक्षेत्र भन्ने अर्थमा प्रयोग गरेकोले त्यस ठाउँको नाम रामेछाप रहन गएको मान्न सकिन्छ।
  • यसै गरी स्थानीय किम्बदन्ति अनुसार इतिहासको कुनै समयमा रामेछापको मुख्य स्थान हालको रामेछाप डाँडाँको वरिपरि तामाङ जातिको वस्ती रहेको (हालसम्मरहेको) र त्यहाँ राम नाम गरेको एकजना तामाङले तत्कालिन राजाबाट त्यस स्थानको मुख्तीयारिको रूपमा विर्ता पाएको र उसबाट नै त्यस स्थानको भोगचलन र छाप समेत चल्दथ्यो। राम भन्ने त्यसै व्यक्तिको छाप चल्ने भएको कारण अन्यत्रबाट त्यहाँ आई वसोवास गर्ने मानिसहरूले राम भन्ने व्यक्तिबाट छाप (जग्गा जमिन भोग चलन गर्ने अधिकार) प्राप्त गरी वसोवास गर्ने गरेको र दुवै शव्द राम छाप संयुक्त रूपमा प्रयोग गर्दा अपभ्रंश भई कालान्तरमा रामेछाप नाम हुन गएको भनि मान्न सकिन्छ।

भौगोलिक अवस्था

सम्पादन गर्नुहोस्
  • अक्षांश:- २७ डिग्री २८' उत्तर देखि २७ डिग्री ५०' उत्तरसम्म
  • देशान्तरः- ८५ डिग्री ५०' पूर्व देखि ८६ डिग्री ३५' पूर्वसम्म
  • सबभन्दा अग्लो स्थान:- ६,९५८ मिटरको नुम्बुर हिमचुली
  • सबभन्दा होचो स्थान:- ४२६ मिटर कोलोन्जोरघाट
  • सिमाना:- पूर्व- ओखलढुङ्गासोलुखुम्बु, पश्चिम- सिन्धुपाल्चोककाभ्रेपलाञ्चोक, उत्तर-दोलखा, दक्षिण-सिन्धुली
  • क्षेत्रफल:- १,५४६ वर्ग किलोमिटर
  • अवस्थिति:- मध्यपहाड
  • औसत लम्बाइ:-

भौगोलिक रूपमा हेर्दा रामेछाप हलो अथवा मोजा आकारको देखिन्छ। रामेछापको सबैभन्दा कम उचाइ भएको स्थान लिखु र सुनकोसीको संगम कोलोन्जोरघाट (४२६ मिटर) हो भने सबैभन्दा उच्च भाग नुम्बुर हिमचुली (६,९५८ मिटर) हो। रामेछाप पहाडी जिल्ला भए पनि तामाकोसी, सुनकोसी, लिखु, खिम्ती, चौरीजस्ता खोला र नदीले बनाएका स-साना उर्वरा फाँटहरू पनि प्रशस्तै छन्। रजमनटार, मुँगीटार, द्यौरालीटार, जखनीटार, सित्खाटार, टारीखेत, खिम्तीबेसी, विर्ताटार आदि स्थान उत्पादन र बसाईका लागि उत्तम मानिएको छ। रामेछापमा ३,१४८ मिटर अग्लो गिद्धे डाँडा, २,२९५ मिटर अग्लो अग्लेश्वरडाँडा, २,४२० मिटरको दमकोटीडाँडा, ३,१४८ मिटर अग्लो सैलुङ्गेडाँडा, ३,१०६ मिटर अग्लो तामेडाँडाजस्ता हिमाली तथा पहाडी डाँडाकाँडा रहेका छन्। यो जिल्ला रामादिङचुली ६,२५८ मिटर, ५,५०२ मिटर अग्लो गोकुलचुली, ६,७५७ मिटर अग्लो लिखुचुली, ६,६७८ मिटर अग्लो गाकोशिर जस्ता हिमालय शृङ्खलाहरूले सजिएको छ। यहाँ ८ सय मिटर उचाइमा रहेको मन्थलीबजार, १३७८ मिटर उचाइको रामेछाप बजार, ४९५ मिटरमा रहेको आकाशे, ८ सय मिटरकै उचाइमा अवस्थित साँघुटार, १७ मिटर उचाइमा रहेको ठोसेबजार, १८ मिटर उचाइको गाल्वाभन्ज्याङ्ग र १८ सय मिटरकै उचाइमा रहेको धोवीबजार यहाँका मुख्य बजार क्षेत्र हुन्। यद्यपि हाल आएर शिवालय, बेताली, बाम्तीभण्डार आदि स्थान पनि बजार बनिसकेको छ। रामेछापका उल्लेखित क्षेत्रमा फलाम, तामा, स्लेट आदि खानीको भण्डार रहेको छ।

हावापानी र भू-उपयोग

सम्पादन गर्नुहोस्

उचाइको विविधतासँगै रामेछापको हावापानी र भू-उपयोगमा पनि प्रभाव परेको देखिन्छ। ४२६को कोलोन्जोरबाट सुरू भएको रामेछापको भूबनोट ६९५८ सम्मको उचाइसम्म पुग्दा विविध खाले हावापानी पाइन्छ। रामेछापको दक्षिणी भागमा अत्यधिक गर्मी हुने गर्दछ भने उत्तरी भाग निकै उचाइमा रहेकाले अत्यन्त चिसो क्षेत्र मानिन्छ। यस जिल्लाको औषत वाषिर्क तापक्रम ११.९ ० सेन्टिग्रेट र वर्षा मीमीसम्म रहेको छ। यसरी हावापानीको विविधता र लेकबेसीयुक्त भू-बनोटका कारण रामेछापमा २१.४९ प्रतिशत मात्र जमित खेतीयोग्य मानिएको छ। यहाँका २७.७६ प्रतिशत क्षेत्र वनजङ्गलले ढाकेको छ। यहाँका २४.३२ प्रतिशत क्षेत्र घाँसे तथा चरण क्षेत्र र १० प्रतिशत भाग चट्टान तथा हिउँले ढाकेको छ भने १५.८३ प्रतिशत क्षेत्रमा मानव वस्ती तथा बाँझो रहेको छद्ध। यस जिल्लाका जनताको जीवनयापन कृषि नै हो। बस्तुभाउ पाल्नु र कृषिमा लाग्नु यहाँका जनताको दैनिकी हो। रामेछापमा खेतीका रूपमा धान, मकै, कोदो, फापर, गहुँ आदि हुने गर्दछ। फलफूलतर्फ जुनार रामेछापको प्रसिद्ध छ तर अन्य फलफूल पनि प्रशस्तै हुने गर्दछ। रामेछापमा कुल कृषियोग्य जमिन मध्ये सिँचित क्षेत्र २७.६९ प्रतिशत मात्र रहेको छ।

 
सुनकोशी नदीको किनारमा रहेको लुभु गाउँ

रामेछाप जिल्ला दुवैतिर ठूला नदीले घेरिएको जिल्ला हो। रामेछापको ओखलढुंगा र सोलुखुम्बूसँगको सीमा (लिखु) वा लिकु खोलाले छुट्टाएको छ भने दोलखा, सिन्धुली र काभ्रेपलाञ्चोकसँगको सीमा क्षेत्रमा खिम्ती, तामाकोसी, सुनसकोसी, चौरीजस्ता खोलाले सीमाको काम गरेका छन्। रामेछापमा तामाकोसी, सुनकोसी, लिखु, खिम्तीजस्ता ठूला नदी पर्दछन् भने चौरी, मिल्ती, भटौली, बाफर, चुलुपे, खानीखोला, दोर्जे खोला, सोत्रे खोला, चौलाखोलाजस्ता मध्यम नदीहरू पनि पर्दछन्। पानीको हिसाव गर्दा रामेछापमा विद्यूत उत्पादनको बलियो सम्भावना रहेको छ। हाल ६० मेगावाटको खिम्ती-१ निर्माण भइसकेको छ। रामेछापमा रहेका नदी तथा खेलाहरूमा विद्युत गृह निर्माणका लागि दर्जन बढी परियोजना प्रस्तावित अवस्थामा रहेका छन्। यस जिल्लामा साना तथा ठूला विद्युत परियोजना सञ्चालन गर्न सकिने प्रचुर सम्भावनाहरू रहेका छन्। लिखु १, २, ३ र ४ जस्ता परियोजनाहरूको काम धमाधम भइरहेको छ। २०५८को तथ्याङ्क हेर्ने हो भने रामेछापका ७ प्रतिशत जनताले मात्र विद्युत प्रयोग गरेको पाइन्छ। यद्यपि अहिले यसमा केही परिवर्तन आइसकेको छ।

खनिज पदार्थहरू

सम्पादन गर्नुहोस्

रामेछापमा रहेको अथाह खनिज पदार्थ उपयोग हुन नसक्नु नै रामेछापको दुर्भाग्य बनेको छ। रामेछाप खनिज पदार्थको भण्डार हो तर उपयोग हुन नसक्दा रामेछापबासी गरीबीमा पिल्सनु परेको छ। ठोसे, चुचुरे, रस्नालु, बेताली, गुप्तेश्वर, पि्रति र कुभुकाँस्थली गाविसका अधिकांश स्थानमा फलामखानी रहेका छन्। ठोसेमा १९२१ देखि फलाखानी सञ्चालनसमेत भएको थियो। तर, उन्नत प्रविधि र लगानी अभावमा अहिले त्यो बन्द छ। यो नेपालकै दोस्रो ठूलो फलाम खानी हो। यहाँबाट उत्पादन गरिएका फलामबाट बनेका विभिन्न स्थानमा झोलुङ्गे पल र अन्य संरचना भने अझै जीवितै छन्। विगतमा स्वाभिमानी पुर्खाहरूले सञ्चालन गरेका खानीहरूले अहिले खानीविनाका खानीगाउँहरू बनिर साधारण नेपालीलाई धिक्कारी रहेको छ। विगतमा खानी सञ्चालन हुँदा प्रयोग भएका औजारहरूले अहिले पनि नयाँ प्रविधि र लगानीको माग गरिरहेको छ। तर सम्बद्ध पक्षले ध्यान दिन सकेको छैन। बरु कमिसनको खेलमा विदेशबाट आयात गरिएको फलामे फालीले ठोसेबासी आफ्नो बारी जोत्न बाध्य छन्। अझ तामालाई ईश्वरको प्रतिक धातु मानेर खुट्टाले छोएमा पनि विष्णु १ विष्णु ११ भन्ने संस्कारमै रहेका रामेछापबासी तामाखानीमाथि घर बनाएर विदेशी तामाको पाताबाट निर्मित ताम्रापत्रमा छोरीको विवाहमा गोडा धुन बाध्य छन्। रामेछापमा भदौरेमा तामाखानी, भूजी तथा दूरागाउँमा मार्वल र म्याग्नेसाइट खानीयुक्त मानिन्छ। खाँडादेवी, गुप्तेश्वर, तथा भूजीमा उच्च कोटीका स्लेट खानी छ। तर, मात्र छैन, उपयुक्त नीति, प्रविधि, सीप र इच्छाशक्ति। यहाँका खानी र पानी उपयोग गर्ने हो भने रामेछापकौ कायाँपलट मात्र होइन देशकै मुहार फेर्न सकिने अवस्था छ।

जनसङ्ख्या, जातजाति, भाषाभाषी र धर्म

सम्पादन गर्नुहोस्

राष्ट्रिय जनगणना २०५८ अनुसार रामेछाप जसङ्ख्या २,१२,४०८ रहेको छ। जसमा महिला १,११,५५५ र पुरुष १,००,८५३ यसमा ५ वर्षमुनीको जनसङ्ख्या २६,४०९ भने ७५ वर्ष र सो भन्दा माथिको जनसङ्ख्या ४,०३६ रहेको छ। यस जिल्लामा घरपरिवार सङ्ख्या ४०,३८६, औसत परिवार सदस्य सङ्ख्या : ५.२६ , जनघनत्व -प्रति वर्ग कि.मि.) १३७ जना, बाषिर्क जनसङ्ख्या बृद्धिदर १.२२ प्रतिशत, शहरी जनसङ्ख्या -प्रतिशत), पुरुष माहिला अनुपात ९०.४१ छ। नेपालको जनसङ्ख्यामा जिल्लाको अंश ०.९२ प्रतिशत छ भने आश्रति जनसङ्ख्या जम्मा १०२.३४ प्रतिशत रहेको छ। बालबालिका -उमेर ० -१४ वर्ष) : ८५.१६ र बृद्धबृद्धा -उमेर ६० वर्ष भन्दा माथि) १७.१८ रहेको छ। राष्ट्रिय जनगणना २०५८ अनुसार रामेछापमा प्रमुख पाँच जातजातिको जनसङ्ख्या क्षेत्री २६.४४, तामाङ, २०.५६, नेवार १४.०९ , मगर १०.९२, ब्राह्ममण ५.६३, र सुनुवार ३.७३ रहेका छन्। भाषागत रूपमा हेर्दा यहाँ ५६.६० प्रतिशतले नेपाली बोल्छन् भने १९.७४ प्रतिशतले तामाङ, ७.०१ प्रतिशतले नेवारी, ६.९८ प्रतिशतले मगर र ३.७३ प्रतिशतले सुनुवार भाषा बोल्ने गर्दछन्। यो जिल्लामा ६८.०६ प्रतिशतले हिन्दु धर्म मान्ने गरेको पाइएको छ भने २८.२९ प्रतिशतले बौद्ध, १.९५ प्रतिशतले किराँत, ०.४३ प्रतिशतले क्रिश्चियन, ०.०२ प्रतिशतले मुस्लिम र १.२४ प्रतिशतले अन्य धर्म मान्ने गरेका छन्।

सामाजिक र आर्थिक अवस्था

सम्पादन गर्नुहोस्

रामेछापमा विविध जाति, संस्कृति र भाषाभाषीको बसोबास रहेको र भौगोलिक अवस्थितिसमेत विविधतायुक्त रहेकाले यहाँको सामाजिक तथा आर्थिक अवस्था पनि विविधतायुक्त रहेको छ। रामेछापमा करिब दश प्रतिशत आर्थिक रूपमा उच्च वर्गमा पर्ने समूह रहेको छ। यो समूह रामेछाप स्थायी निवासी भए पनि अहिले राजधानीमा बसोबास गर्ने समूह हो। जिल्लाको अधिकांश जमिनको हिस्सा ओगट्ने यो वर्गले जिल्लाको राजनीति तथा अन्य क्रियाकलापमा समेत प्रभाव पार्ने गरेको देखिन्छ। तर, यो वर्गले जिल्लाको विकासमा भने खासै चासो राखेको पाइँदैन। त्यस्तै अर्को वर्ग हो, मध्यम वर्ग। रामेछापमा यो वर्ग १५ प्रतिशत मात्र रहेको मानिन्छ। जिल्लाभित्र र तराईमा समेत जग्गा जमित जोडिसकेको यो समूह स्थायी रूपमा राजधानीमा बसोबास गर्दछन्। जिल्लाको राजनीति र अन्य प्रक्रियामा चासो राख्ने यो समूह जिल्लाले प्राप्त गरेको उपयुक्त अवसर हात पार्ने मौकामा रहेको देखिन्छ। जिल्लाको विकासमा यो वर्गले खासै महत्त्व नदिएको भन्ने कुरा रामेछापको विकास गतिले पनि स्पष्ट पार्दछ। अर्को र साँच्चैको वर्ग भनेको रामेछापको निम्न वर्गको हो। रामेछापलाई अहिलेको स्थानसम्म ल्याउन उनीहरूको रगत, पसिना, श्रम, सीप र लगानीले नै काम गरेको छ भन्न सकिन्छ। सामाजिक रूपमा अपहेलित र आर्थिक रूपमा ज्यादै विपन्न यो वर्ग न त जिल्ला छोडेर कतै जान सकेको छ नत जिल्लामै केही गर्न सकेको छ। रामेछापका नाममा राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण पहुँच पञ्चालयकाल, बहुदलकाल र अहिलेसम्म कायमै छ। राष्ट्रिय तहको उच्च तहसम्म रामेछापेलीहरू पुगेका छन्। तर, जिल्लाका लागि उनीहरूबाट खासै योगदान भएको पाइँदैन। यहाँका विपन्न वर्गलाई जहिले पनि भोट बैङ्ककै रूपमा मात्र प्रयोग गर्ने उनीहरू भने राजधानीबासी भन्न रुचाउँछन्। सरकारको २०५८को तथ्याङ्कअनुसार रामेछापमा ७०.४४ प्रतिशत जनता आर्थिक दृष्टिले सक्षम मानिन्छन्। जसमा महिला ६९.८६ प्रतिशत र पुरुष ७१.१२ प्रतिशत रहेको छ। यहाँका जनताको मुख्य पेसा कृषि नै हो। यहाँका ८६.९१ प्रतिशत जनता कृषिमा निर्भर छन्। यसरी हेर्दा गैर कृषिमा १३.०९ प्रतिशत मात्र देखिन्छ। तर, केषिमा नयाँ प्रविधिको विकास र प्रयोग यहाँ भएको पाइँदैन। यो पनि गरीबीको कारण हो भन्न सकिन्छ। रामेछापमा तराईमा फलेका काउली र गोलभेंडा विक्री हुन्छन् तर त्यहीं उत्पादित जुनारले बजार पाएको छैन भने व्यवसायिक तरकारी खेती, जडीबुटी र फलफूल खेती हुन सकेको छैन।

सूचना प्रविधि र सञ्चार माध्यम

सम्पादन गर्नुहोस्

रामेछापमा पहिलो रेडियो हजुरको रेडियो १०२ थोप्लो १ हो भने पछिल्लो समयमा रेडियो तीनलाल एफएम, रेडियो तिफदी, रेडयो रामेछाप, रेडियो तामाकोशी, रेडियो कैरन र लिखु गरी ७ आेटा रेडियोहरू यस जिल्लामा प्रसारणा भइरहेका छन्।

रामेछाप जिल्लाका प्रायः सबैजसो प्रमुख बजारमा कच्ची सडक पुगेको छ। रामेछापमा हालसम्म ३४ किलोमिटर सडक बनेको तथ्याङक छ। रामेछापको सदरमुकाम मन्थली, रामेछाप डाँडा, साँघुटार, ठोसे, बाम्ती, बेताली, तिल्पुङ, सालु, र कोसी वारिका पनि सबैजसो भाग फुलासी, डडुवा, दोरम्बा, चौरी, गाल्बामा कच्ची नै सही सडक पुगेको छ। तर, यि सडकहरू तराईको चामल बेसाउने बाटोका रूपमा मात्र प्रयोग भइरहेका छन्। सडकलाई सही तरिकाले प्रयोग गर्दा रामेछापले आम्दानीका स्रोतहरू पनि पहिल्याउनुपर्ने हो तर राजधानीबाट सामान ओसार्ने तर राजधानीतिर केही नपठाउदा गाउँको अवस्था कष्टकर नै छ।

पर्यटन रामेछापका लागि राम्रो अवसर हो। तर, साधन र स्रोतको उचित परिचालन हुन नसक्दा पर्यटन रामेछापका लागि परिचित हुन सकेको छैन। विश्वको सर्वोच्च शिखर सगरमाथा प्रवेश रामेछाप क्रस गरेपछि मात्र हुन्छ। नाम्चे, लुक्ला गए पछि्यटकहरूको एक रातको बसाई रामेछापकै शिवालय हो। लिखु, सुनकोसी, खिम्ती, तामाकोसीजस्ता नदीहरूमा र्‍याफि्टङ्ग सञ्चालन, ६९५८ मिटर अग्लो नुम्बुर हिमशृङ्खला, ३१०६ मिटर अग्लो तामेजस्ता क्षेत्रलाई पर्यटन क्षेत्रका रूपमा विकास गर्न सकिए रामेछापमा पर्यटन व्यवसाय बन्न सक्ने पक्का छन्। अझ पाँचपोखरी, जटापोखरीजस्ता क्षेत्रलाई पर्यटन रुटमा राख्न सक्ने हो भने राजधानीबाट ६ घण्टाको दूरीमा रहेको ऐतिहासिक बजार ठोसे जस्ता क्षेत्र पर्यटनका लागि उपयुक्त हुन सक्दछ। रामेछापमा प्राकृतिक, जल, हिमाली र धार्मिक पर्यटन प्रवर्द्धनका लागि धेरै काम गर्न सकिने अवस्था विद्यमान छ। यसका लागि रामेछापका केही युवाको पहलमा ठोसे-पाँचपोखरी पर्यटन विकास समिति गठन गरी केही प्रचारात्मक क्रियाकलापको सुरूवात भने भएको छ। यसमा सम्बद्ध निकायले उचित ध्यान पुर्‍याउने हो भने रामेछापको आर्थिक विकासमा महत्त्वपूर्ण सावित हुने पक्का छ।

शिक्षा र स्वास्थ्य

सम्पादन गर्नुहोस्

तथ्याङ्कहरूलाई हेर्ने हो भने रामेछापमा ३९.४ प्रतिशत जनता साक्षर छन्। यसमा ६ वर्ष मुनिका बालबालिका समेटिएको छैन। यसमा २६.६ प्रतिशत महिला र ५३.८ प्रतिशत पुरुष साक्षर रहेको तथ्याङक छ। चार वर्षअघि अर्थात २०६० सालमा रामेछापमा विद्यालय सङ्ख्या ४०८ थियो भने विद्यार्थी सङ्ख्या ५८,४४० र शिक्षक सङ्ख्या १,१८५ जना रहेको छ। यसमा अहिले खासै परिवर्तन आइसकेको छैन। त्यसो त पछिल्लो समयमा उच्च मावि र क्याम्पसहरू खुल्ने क्रम तीब्र छ। त्यसैले शैक्षिक रूपमा रामेछापमा राम्रै विकास भएको मान्न सकिन्छ। स्वास्थ्य क्षेत्रमा रामेछापमा स्वास्थ्य संस्थाहरूको सङ्ख्या ५५ वटा रहेको छ। अर्थात एक गाविस एक स्वास्थ्य केन्द्र रहेको देखिन्छ। यस हिसावमा ३,८६२ जना बराबर एउटा स्वास्थ्य संस्था रामेछापेली जनताले पाएका छन्। रामेछापमा परिवार नियोजनको साथ प्रयोग गर्नेको सङ्ख्या २२.४५ प्रतिशत रहेको छ। रामेछापमा पहिलो विवाह गर्दाको औषत उमेर महिलाको १९.७५ र पुरुषको २२.०९ वर्ष रहेको पाइन्छ। बालबिवाह रामेछापमा अझै ०.९२ प्रतिशत रहेको देखिन्छ। यसमा १० देखि १४ वर्षका बालकालिका रहेका छन्। रामेछाप मध्यमाञ्चलकै सबभन्दा कम वाषिर्क जनसङ्ख्या वृद्धिदर भएको जिल्ला पनि हो। यहाँ जनसङ्ख्या वृद्धिदर १.२२ मात्र रहेको छ। रामेछापका ३४.९ प्रतिशतले शौचालय प्रयो गर्ने गरेको पुरानो तथ्याङ्क छ। यो प्रतिशत अहिले झण्डै ६५ माथि पुगेको अनुमान गरिएको छ। र, अन्त्यमा माथि तथ्याङ्कहरू मात्र विश्लेषण गरियो। तथ्याङ्कहरू विकासका आधार होइनन् किनभने नेपालमा विकासका नाममा प्रस्ताव लेख्ने र प्रतिवेदन मात्र लेख्ने चलन छ। त्यसैले कागजी तथ्याङ्कहरू विकास नभए पनि तयार गरिन्छ र गरिएको छ। त्यही तथ्याङ्कहरू हुन माथि उल्लेख गरिएका। तर, विकासका लागि साँच्चै इमान्दार भएर लाग्ने हो भने रामेछाप यति सम्पन्न छ कि देशलाई नै धनी बनाउन सकिने अवस्था छ। हिजो हाम्रा पुर्खाले ठोसेबाट फलाम र तामा निकालेर तिब्बतसम्म व्यापार गरेका थिए। तर, अहिले हामी सिलाङको फलाम प्रयोग गरिरहेका छौं। उब्जनीयुक्त हजारौ रोपनी जमिन बाँझो छ, हामी भारतबाट आयातित चामल र तरकारी उपभोग गरिरहेका छौं। यसलाई त्याग्न सक्नु पहिलो अवश्यकता हो। तरकारी र फलफूल उत्पादन गरेर हामी राजधानीलाई बेच्न सक्ने भौगोलिक दूरीमा छौ। दर्जनौ नदीनाला छन्। विद्युत हामीले केन्द्रीय प्रसारण लाईनबाट बालिरहेका र्छौ। यसका लागि स्थानीय नदी र खोला प्रयोग गर्ने हो भने हामी विद्युत बेच्न सक्छौ हामीलाई केन्द्रीय प्रसारणबाट विद्युत लिनुपर्ने आवश्यकता रहन्न। नदीहरू वा नदी किनारमा माछा पालेरै भए पनि आर्थिक उपार्जन गर्न सक्छौ। महत्त्वपूर्ण औषधीय गुणयुक्त जडीबुटी रामेछापमा वनजङ्गलमा खेर गइरहेका छन्। यहाँसम्मकी पाँचपोखरी क्षेत्रमा यार्सागुम्बासमेत पाइने गरेको छ। यसलाई हामीले उपयोग गर्न सकिने प्रवल सम्भावनाहरू छन्। सूचना प्रविधिको प्रयोग गरेर हामीले हाम्रा उत्पादनहरूको बजार खोज्न सक्ने सम्भावना विकास भइसकेको अवस्थामा अब सधैं परनिर्भर भएर बस्नु हुन्न। आर्थिक विपन्नताका कारण खाडीको बालुवामा बगिरहेको रामेछापेलीको पसिना आफ्नै माटोमा बगाउने हो भने हामी सधैंका लागि सम्पन्न हुने निश्चित छ। तर, खाडीमा पसिना बगाएर जम्मा गरेको रकम भारतीय चामल र तरकारी किन्नमा प्रयोग हुने अहिलेको अवस्था कायम रहे न त हामी सम्पन्न नै हुनेछौ त न हाम्रो विकासक्रमले गति नै लिनेछ। त्यसैले सिर्जनशील भएर आफ्नै माटोमा पसिना बगाउन सकिने वातावरणतिर हामी जहाँ जुन अवस्थामा रहेपनि आजैबाट सोच्नु जरुरी भइसकेको छ।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्