भस्मासुर पौराणिक कालमा जन्मिएको एक असुर हो । उनको वास्तविक नाम बृकासुर (बृक + असुर) भए पनि शक्तिको दुरुपयोग गर्न खोज्दा आफैँबाट भस्म भएपछि मृत्योपरान्त उनको नाम भस्मासुर (भस्म + असुर) हुन गएको हो । बृकासुरका पिताको नाम शकुनी थियो । बृकासुरको कथा हिन्दू धर्मका धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको छ ।

राजा रवि वर्माले बनाएको भस्मासुर र मोहनीको चित्र । भस्मासुर टाउकोमा हात राखेर नाच्दै (बायाँ), मोहिनी (बीचमा), शिव (दायाँ) रुखको पछाडी पट्टीबाट लुकेर हेर्दै


शिवजीबाट बरदान

सम्पादन गर्नुहोस्

पौराणिक कथाअनुसार शकुनीका पुत्र बृकासुरलाई एक कपटी स्वभावका असुर थिए । बृकासुरले आफू अजय बनेर सिंगै विश्वमा राज गर्नको लागि भगवान महादेवको कठोर तपस्या गरेका थिए। उनको तपस्या देखेर खुसी भएका भगवान शिवले उनलाई वर माग्न आग्रह गरेपछि बृकासुरले कहिल्यै मर्नु नपर्ने वरदान दिन आग्रह गरे । यसबाट भगवान शिव अफ्ठेरोमा परे । भस्मासुरले मागेको सो वर सृष्टिको नियम विपरीत हुने भएपछि शिवले अर्को वर माग्न आग्रह गरे । अनि भस्मासुरले आफूले जसको शीरमा हात राख्यो, ऊ भस्म हुने शक्ति मागे । अन्ततः जसको शीरमा उनको नलीहाड पर्छ, त्यो व्यक्ति भस्म हुन्छ भन्ने वरदान भगवान शिवले दिए ।

शक्ति हातमा आएपछि उनको उन्माद चुलिँदै गयो । हुँदा–हुँदा उनले आफैँलाई वरदान दिने भगवान शिवलाई समेत चुनौति दिन थाले । शिवजीलाई भस्म गराएर माता पार्वतीलाई भोग गर्ने चाहना मनमा राखेर उनी शिवको पछि लाग्न थाले । भस्मासुर शिवजीको टाउकोमा हात राखेर उनलाई भस्म गर्ने मनले महादेवको पछि लाग्यो । आफैँले दिएको वरदानले आपतमा परेपछि शिवजीको भागाभाग भयो । एउटा किम्बदन्ती अनुसार शिवजी भाग्दैभाग्दै भगवान विष्णुसँग सहारा माग्न पुगे । भगवान विष्णुले बृकासुरलाई सिध्याउने उपाय रचेर एउटी सुन्दरीको भेषमा भस्मासुरको अघि प्रकट भए । आफ्नो अघि नृत्य गरिरहेकी सुन्दरीप्रति भस्मासुर मोहित भए । बिष्णु नाच्दै गए । बृकासुर पनि सुन्दरीको नक्कल गर्दै नाच्न थाल्यो । नाच्ने क्रममा एकपटक सुन्दरीरुपी विष्णुले आफ्नै टाउकोमा हात राखे । उनको नक्कल गरेर नाचिरहेको बृकासुरले पनि आफ्नै टाउकोमा हात राख्यो । उसलाई आफ्नो शक्तिको विषयमा त्यसबेला हेक्का भएन । शीरमा हात परेपछि बृकासुर भस्म भयो । अनि, बल्ल शिवले छुटकारा पाए । त्यहीकारण बृकासुर भस्मासुरका रूपमा प्रख्यात भएको हो ।

अर्को तर्फ नेपालको हलेसी महादेव गुफाबाट पातालमा छिरेर लुकेर बाँचेको भन्ने किम्बदन्ती पनि छ []। यसरी भगवान शिवजी पातालमा लुकेर बसेपछि भगवान विष्णुले भस्मासुरलाई आफ्नो मोहजालमा पारेर उसलाई आफ्नै टाउकोमा हात राख्न लगाएका थिए । शिवजीलाई खोजीरहेको बृकासुरका अगाडि भगवान विष्णु साधु ब्राह्मण को भेष धारण गरेर गए । भगवान विष्णुले बृकासुरलाई भेटेर तिमीले कसलाई खोजिरहेका छौ भनेर सोधे । भगवान विष्णुको कुरा सुनेर उनको मोहजालमा परेको बृकासुरले आफुले गर्न लागेको सबै कुरा साँचो भन्यो । यो सुनेर भगवान बिष्णुले बृकासुरलाई मोहजालमा पारेर त्यस्ता गाँजा, भाङ, धतुरो खाने र श्मसानमा बस्ने शिवमा विश्वास नगर तिनले दिएको नत श्राप लाग्छ नत बरदान सत्य हुन्छ भने । सुकसागरमा लेखिएको कथा अनुसार भगवान बिष्णुले शिवले दिएको बरदान सत्य हो कि होइन भनेर थाह पाउन बृकासुरलाई आफ्नै टाउकोमा हात राख्न भनेका थिए । विष्णुको मोहजालमा परेको बृकासुरले आफ्नै टाउकोमा हात राखेर भस्म भएको थियो ।[]

भस्मासुर प्रवृत्ति

सम्पादन गर्नुहोस्

अहिले राजनीतिक वृत्तमा भस्मासुर शब्दको प्रयोग धेरै हुने गर्छ । विपक्षीलाई गाली गर्दा वा अवमूल्यन गर्ने उद्देश्यले भस्मासुरको संज्ञा पनि दिने गरिन्छ । शक्तिको दुरुपयोग गर्ने नकारात्मक बिम्बका रूपमा भस्मासुरलाई प्रयोग गर्ने गरिएको छ। भस्मासुरलाई एउटा प्रवृत्तिकै रूपमा लिने गरिएको छ । शक्तिमा रहेर आफ्नो पदीय मर्यादालाई भुलेर कतै भौतारिनु भष्मासुरपन हो।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "भक्तजनको सुन्दर गन्तव्य खोटाङको हलेसी महादेव", काठमाण्डु टुडे, २०७३ वैशाख ३ गते।  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०४-२६ मिति
  2. सुब्बा होमनाथ केदारनाथ कृत सुक सागर नामक पूस्तक

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्