देव शमशेर जङ्गबहादुर राणा

देव शमशेर जंगबहादुर राणा (शासनकाल १९५७ फल्गुण २३-१९५८ साउन १२) राणा शासनका चौथो श्री ३ महाराज तथा नेपालका १२ औँ प्रधानमन्त्री हुन्। यिनी आफ्ना दाजू वीर शमशेरको निधन पछि श्री ३ को पदमा विराजमान भएका थिए। देव शमशेर निकै सरल र शान्त स्वभावका प्राइममिनिस्टर तथा श्री ३ महाराज भएर निस्किए। यिनमा देश र जनताको हित तथा सुधारवादी दृष्टिकोण थियो। यसै अनुसार यिनले नेपाल अधिराज्यमा निकै सुधारका कार्यक्रम सञ्चालन गर्न थाले। यसका निम्ति यिनले आफ्ना भतिजा जनरल गेहेन्द्रशमशेर राणालाई (वीर शमशेर राणाका पुत्र) आफ्नो प्रमुख सल्लाहकारका रुपमा चयन गरेका थिए।[१]

देव शमशेर जङ्गबहादुर राणा
Dev Shamsher Jang Bahadur Rana.jpg
१२ औँ प्रधानमन्त्री (नेपाल)
कार्यकाल
वि.सं. १९५७ फाल्गुण २३ – वि.सं. १९५८ आषाढ १३[१]
पूर्वाधिकारीवीर शमशेर
उतराधिकारीचन्द्र शमशेर
व्यक्तिगत विवरण
जन्मवि.सं. १९१९ साउन ०३
मृत्युवि.सं. १९७० फाल्गुण ०९
पिताधीर शमशेर

सोझा र केही हदसम्म सुधारक देखिएका यिनको क्रियाकलाप मन नपरेपछि आफ्नै भाइ चन्द्र शमशेरले यिनी पदच्यूत गरी धनकुटा धपाइएका थिए। पछि यिनैको इच्छा अनुसार यिनलाई इलाम सारिएको थियो। घोडा चढ्ने निहुँमा इलामबाट गोर्खे बजारको बाटो हुँदै यिनी दार्जिलिङ पुगेर बेलायती सरकारको शरणमा गएका थिए।

बाल्यकालसम्पादन

श्री ३ देव शमशेरको जन्म १९१९ साउन ४ गते भयो र उनी कमाण्डर इन्चिफ धीर शमशेर राणाको पाँचौ पुत्र [२] र आफ्नी माता रानी नन्द कुमारी थापा (गोदार)का तृतीय पुत्र हुन् । उनका मावली हजुरबुवा काजी हेमदलसिंह थापा र मामा काजी कर्णेल केशरसिंह थापा हुन् । यिनलाई कृष्ण बहादुर कुँवरले धर्मपुत्र पालेका थिए । यिनको बाल्यकाल सुखसयलमा बितेको थियो । यिनी हदै सम्मको खर्चालु थिए । अरु शमशेर दाजु भाइको जस्तो अभाव यिनले झेल्नु परेन ।

प्रधानसेनापति रण शमशेर राणा मदिराले नुहाउने हुदाँ वि.सं. १९४४ वैशाखको अन्त्यतिर मरे र देवशमशेर त्यो पदमा पदोन्नती हुन् गए।[३]

कार्य तथा सुधारहरूसम्पादन

  • श्री ३ देवले प्रशासनिक सुधार गरी कर्मचारीलाई सुबिधा प्रदान गर्ने कार्यक्रम हरू बनाए । उनीहरूको सेवा, सुबिधा, समय र विभाग तोकिदिए ।[४] राजकीय कर्मचारीले हरेक दिन बिहानदेखि बेलुकीसम्म बाह्रै महिना काम गर्दै आइरहेकामा उनले कार्यालय समय बिहान १० बजे देखि बेलुकी पाँच बजेसम्म निर्धारण गरिदिनुका साथै पाक्षिक एकादशी बिदा तथा अन्य नियमित बिदाको व्यवस्था पनि मिलाइदिएका थिए।
  • मुलुकको विकास गर्न कृषि, पशुपालन र घरेलु उद्योगको क्षेत्रमा विकास गर्न जापानी प्रविधि अनुकरण गर्न लगाए। उनले आठ विद्यार्थीलाई जापानमा पढ्न पठाइएका पनि थिए।
  • मुलुकको विकासका लागि शिक्षा नै आधारभूत कुरा हो भन्ने बुझेर उनले ५० भन्दा बढ्ता नेपाली भाषा पाठशाला खोल्न लगाए। (बाबुराम आचार्यले एक सय भन्दा बढी भाषा पाठशाला खोलिएको कुरा लेखेका छन्।) ती पाठशालामा पठाइने पाठ्य पुस्तक लेख्ने जिम्मा बझाङी राजा जयपृथ्वी बहादुर सिंहलाई सुम्पे।
  • १९५८ जेठ मा साप्ताहिक गोरखापत्र प्रतिकाको स्थापना ।

पदच्युतसम्पादन

देव शमशेरका यस किसिमका सुधार कार्यले गर्दा नेपाल अधिराज्यका सर्वसाधारण नागरिकमा चेतनाको जागरण भैई आफ्नो तथा आफ्ना भाइभतिजाहरूको स्वार्थमा आघात पर्ने अनुभव गरि यिनका उत्तराधिकारी कमान्डर इनचिफ जनरल चन्द्र शमशेर यिनले आरम्भ गराएका यस्ता सुधार कार्यदेखि सतर्क भए। यिनका यस्ता कदम शमशेर परिवारका राणाका निम्ति रूचिकार थिएन। नेपाल अधिराज्यको राज्य प्रशासन श्री ३ महाराज देवशमशेरको नियन्त्रणमा रहिरहेमा अधिराज्यका सर्वसाधारण नागरिकमा चेतनाको जागरण भई आफ्नो तथा आफ्ना भाइभतिजाहारूका निम्ति ठूलो खतरा आइलाग्ने निश्चय गरि चन्द्रशमशेरले पहिले "खड्गशमशेर पर्व"मा जसले आफूलाई स्नेहपूर्वक जोगाइदिएका थिए, सरल र शान्त स्वभावका तिनै दाजु प्राइममिनिस्टर देवशमशेर राणालाई पदच्युत गराई स्वयम् नै प्राइममिनिस्टर तथा श्री ३ महारज पनि बन्ने योजनाका तानाबाना बुन्न अग्रसर भए।

सोझा र केही हदसम्म सुधारक देखिएका यिनको क्रियाकलाप मन नपरेपछि आफ्नै भाइ चन्द्र शमशेरले यिनी पदच्यूत गरी धनकुटा धपाइएका थिए।

वि.सं. १९५८ आषाढ १३ मा दरबार स्कुलका विद्यार्थीलाई पुरस्कार दिन गएका देव शमशेरलाई कार्यक्रमपछि वीर शमशेरका छोराहरू बीच भएको अंशबण्डा सम्बन्धी विवाद मिलाइदिनका लागि भन्दै षड्यन्त्रमा अनुसार सेतो दरबार लगियो। झगडा मिलाउन गएका देव शमशेरलाई आफ्नै बन्धुले उनलाई बन्दुक ठड्याए। उनलाई उनकै कम्मरको पटुकाले बाँधियो। बाँधछाँद गर्छन्। उनका अंगरक्षकले चन्द्र शमशेरलाई पेस्तोल ताकेका थिए तर भीम शमशेरले उक्त पेस्तोल खोसेपछी उनी हेरेका हेरै भए। एक्ला देव शमशेरले आत्मसमर्पण गर्नुको अर्को विकल्प भए।

चन्द्र शमशेरले उनको कन्चटमा पेस्तोल ताकेर राजिनामा लेख्न लगाएका थिए।

वि.सं. १९५८ आषाढ १३ गते बुधबार प्राइममिनिस्टर तथा श्री ३ महाराज देवशमशेर जङ्गबहादुर कुँवर राणाको एक सय चौध दिनको छोटो कार्यकाल एकाएक अन्त्य भयो।

निर्वासनसम्पादन

बन्दी बनाई सत्ताच्युत गराइएका प्राइम मिनिस्टर तथा श्री ३ देवशमशेरलाई म्यानामा सवार गराई यसै दिन धुलिखेलको बाटो गरि धनकुटा निर्वासित गरियो। यिनी त्यहाँ लगभग साढे दुई महिना जति मात्र बसे। त्यहाँ बाट पनि पछि पलायन भई भारत दार्जिलिङ हुँदै उत्तरी भारतको पानीझरी (हालको मसुरी) मा पुगी त्यहीँ बस्न थाले। यिनले आफ्नो बाँकी जीवन त्यहीँ बिताए।[५]

मृत्युसम्पादन

निर्वासित भएको लगभग १३ वर्षपछि झरीपानी मै वि.सं १९७० माघ ७ मा यिनको देहान्त भयो।

सन्दर्भ सूचीसम्पादन

  1. १.० १.१ बाबुराम आचार्य (फागुन २०६१), अब यस्तो कहिल्यै नहोस्, फाइनप्रिन्ट बुक्स, पृ: २९३, आइएसबिएन 978-9937-665-40-7 
  2. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २४८, आइएसबिएन 99933-2-406-X 
  3. नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ २४७
  4. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २४९, आइएसबिएन 99933-2-406-X 
  5. बाबुराम आचार्य (फागुन २०६१), अब यस्तो कहिल्यै नहोस्, फाइनप्रिन्ट बुक्स, पृ: ३००, आइएसबिएन 978-9937-665-40-7 

बाह्य कडीहरूसम्पादन