मारूनी नाचको दृष्य

मारूनी नाच नेपालको परम्परागत नृत्य हो । भर्खरका कलिला केटा मान्छेलाई केटीका परम्परागत लुगाहरू लगाएर मारूनी बनाई मादलको तालमा पुराना पौराणिक कथाहरूमा आधारीत गीतहरू गाएर नाचिने यो नाच नेपालका मगर, कुमाल, गुरुङ, तामाङ, लिम्बू जातीहरूको मुख्य संस्कृति रहेता पनि यो नाच प्राय सबै ठाउँमा सबै जातीले अपनाएको देखिन्छ। परम्परागत रुपमा नाचिने यो नाच प्रायः दशैं, तिहारमा नाच्ने नाच हो । धान काटेर थन्काइ सके पछि मारूनी नाच फुकाउने परम्परागत प्रचलन रहेको छ । कुनै ठाउँमा मारूनी नाच तीजको दिनमा सुरु गरिन्छ भने कुनै ठाउँमा दशैंको कालरात्रीको दिन सुरु गरिन्छ । मारूनी नाच सुरु गर्नुलाई नाच बाँध्ने भनिन्छ । नाच बन्द गर्नुलाई नाच फुकाउने भनिन्छ । वर्षमा करिब तीन महिनाको अवधी भित्र मात्र कुनै कुनै दिन नाचिने यस परम्परागत नृत्यमा रामायण, महाभारत आदी धार्मिक ग्रन्थहरूका कथालाई लोक गाथामा मिलाएर गाउने गरिन्छ । मादलको तालमा मारूनी र मादले नाच्ने यस नाचमा ताल पनि परम्परागत नै हुन्छ । (पूरा  पढ्नुहोस्...)