हफेज सिराजी
खाजे सम्सुद्दिन मोहम्मद हफेज ए- सिराजी (फारसी: خواجه شمسالدین محمد حافظ شیرازی), जो आफ्नो लेखकीय नाम हफेज (حافظ, Ḥāfeẓ, 'द मेमराइजर; द (सेफ) किपर'; १३२५–१३९०) वा हफिज बाट चिनिन्छन्,[१] एक फारसी कवि थिए।[२][३] हाफिज एक प्रसिद्ध फारसी कवि थिए। इरानका धेरै मानिसहरू उनको कवितालाई फारसी साहित्यको उत्कृष्ट कृतिमध्ये एक मान्दछन्। उनका कविताहरू यति महत्त्वपूर्ण छन् कि धेरै फारसी बोल्ने परिवारहरूले उनको रचनाहरू घरमा राख्छन्, कविताहरू कण्ठ पार्छन् र दैनिक कुराकानीमा उखानको रूपमा प्रयोग गर्छन्। उनको जीवन र कविताहरूबारे धेरै अध्ययन र चर्चा गरिएको छ र १४औँ शताब्दीदेखि यता फारसी साहित्यमा उनको लेखाइले अन्य लेखकहरू भन्दा बढी प्रभाव पारेको देखिन्छ।[४][५]
हफेज | |
---|---|
आध्यात्मिक कवि, रहस्यवादी | |
जन्म | अन्दाजी १३२५ सिराज, मुजफ्फरिद पर्सिया (वर्तमान इरान) |
निधन | १३९० (६५ वर्ष) सिराज, टिमुरिड एम्पायर (वर्तमान इरान) |
हफेज आफ्नो कृति दिवानका लागि प्रसिद्ध छन् जुन उनका कविताहरूको सङ्ग्रह हो र सम्भवतः उनको मृत्युपछि सङ्कलन गरिएको थियो। उनका कविताहरूलाई "धार्मिक वा सामाजिक नियमहरूलाई चुनौती दिने" (एन्टिनोमियन) तथा "१३औँ र १४औँ शताब्दीमा पवित्र पुस्तकहरूबाट प्रेरित भएर लेखिएको रहस्यमय लेखाइ" (थियोसोफिकल) भनेर वर्णन गरिएको छ। हफेजले मुख्य रूपमा गजलको शैलीमा लेख्ने गर्दथे जुन प्रेमको रहस्यमय दिव्य प्रेरणाको उल्लास व्यक्त गर्नको लागि उपयुक्त शैली हो। उनी एक सुफी थिए जसले ईश्वरसँगको व्यक्तिगत सम्बन्धमा ध्यान केन्द्रित गर्ने इस्लामको रहस्यमय शाखा अनुसरण गर्थे।
हफेजले आफ्ना गजलमा प्रेम, विश्वास र पाखण्डको पर्दाफास जस्ता विषयवस्तुहरू उल्लेख गरेका छन्। यी गजलहरूमा उनले माया, रक्सी, र पसलहरूबारे धेरै लेखेका छन् जसले धार्मिक उन्माद र बाधाहरूबाट मुक्ति (चाहे वास्तविक संसारमा होस् वा प्रेमीको आवाजमा)लाई प्रस्तुत गर्दछन्। उनका कविताहरू फारसी संस्कृतिमा प्रभावशाली छन् जसलाई फाल-ए-हफेज (पुरानो रोमन परम्परासँग मिल्दोजुल्दो) नामक उपचार गर्न प्रयोग गरिन्छ। उनका कविताहरू फारसी संगीत, दृश्यकला र हस्तलिपिमा पनि प्रयोग गरिन्छन्। हफेजको समाधि उनको जन्मस्थान सिराजमा छ। उनका कविताहरू धेरै प्रमुख भाषाहरूमा अनुकूलन, अनुकरण र अनुवाद गरिएका छन्।
जीवन
सम्पादन गर्नुहोस्हफेजको जन्म पर्सियाको सिराजमा भएको थियो तर उनको जीवनका अधिकतर विवरणहरू तथ्यपूर्ण छैनन्। धेरैजसो विवरणहरू परम्परागत कथाहरूमा आधारित रहेका छन् जसलाई खासै विश्वासिलो सुत्रका रूपमा लिइँदैन। उनले सानै उमेरमा कुरान कण्ठ गरेका थिए जसको कारण उनलाई हफेज (स्मरण गर्ने व्यक्ति) उपाधि दिइयो जसलाई उनले आफ्नो लेखकीय नामको रूपमा प्रयोग गरे। उनका कविताहरूको सङ्ग्रह दिवान को प्रस्तावनामा उनको प्रारम्भिक जीवनको चर्चा गरिएको छ तर उक्त पुस्तक एक अज्ञात व्यक्ति(जसको नाम सायद मोहम्मद गोलन्दाम हुन सक्छ)ले लेखेका थिए। हफेजको दिवानका दुई प्रसिद्ध आधुनिक संस्करणहरू अल्लामे मोहम्मद काज्विनी र परविज नातेल-खानलारी द्वारा संकलन गरिएको हो।
आधुनिक विद्वानहरूका अनुसार, हफेजको जन्म सन् १३१५ वा १३१७ मा भएको थियो। कवि जामीका अनुसार उनको मृत्यु सन् १३९० मा भएको हो। आफ्नो जीवनभर हफेजले विभिन्न स्थानीय शासकहरूबाट संरक्षण पाए जसमध्ये शाह अबु इसहाक, शाह शुजा र अन्त्यतिर तिमुर पनि थिए। शाह शुजाको शासनकालमा हफेजका कविताहरूले निकै चर्चा कमाए पनि उनलाई अरू कमजोर कविहरूको व्यङ्ग्य गर्दा अल्पकालिन असन्तुष्टिको सामना गर्नुपरेको थियो। त्यसकै कारण उनले सिराजबाट इस्फाहान र यज्द भन्ने ठाउँमा भाग्नुपरेको थियो भन्ने अपुष्ट जानकारी पाइन्छ। हफेजले बङ्गालका सुल्तान घियासुद्दिन आजम शाहसँग पनि पत्र र कविता आदानप्रदान गरेका थिए जसले उनलाई सोनारगाउँ बोलाएका थिए तर हफेज राजालाई भेट्न जान सकेनन्।
मृत्युको २० वर्षपछि, सिराजको मुसल्ला बगैंचामा हफेजको सम्मानमा एक समाधि निर्माण गरिएको थियो। हालको समाधि सन् १९३० को दशकमा फ्रान्सेली वास्तुकार आन्द्रे गोडार्डद्वारा डिजाइन गरिएको हो। यो समाधि गुलाबका बगैँचा, पानीका नहरहरू र सुन्तलाका रूखहरूको बीचमा अवस्थित छ र हफेजको अलाबास्टर समाधिस्थलमा उनका दुईवटा कविताहरूको शिलालेख पनि छ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Ḥāfeẓ | Persian author", Encyclopedia Britannica, अन्तिम पहुँच २०१८-०८-०६।
- ↑ Encyclopaedia Iranica, "HAFEZ", www.iranicaonline.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०८-०६, "HAFEZ (Ḥāfeẓ), Šams-al-Din Moḥammad, of Shiraz (ca. 715-792/1315-1390), celebrated Persian lyric poet."
- ↑ de Fouchécour, Charles-Henri (२०१८-०७-०१), "Ḥāfiẓ", Encyclopaedia of Islam, THREE, "Shams al-Dīn Muḥammad Ḥāfiẓ was a Persian lyric poet who lived in Shiraz from about 715/1315 to 792/1390."
- ↑ Yarshater. Accessed 25 July 2010.
- ↑ Aga Khan III, "Hafiz and the Place of Iranian Culture in the World", November 9, 1936 London.