सल्यानकाेट देवी मन्दिर

नेपालको मध्यपहाडी जिल्ला धादिङ जिल्लाको सल्यानकोट गाउँमा सल्यानकोट देवी मन्दिर रहेको छ । यो मन्दिर करीब साढे चारसय वर्षअघि स्थापना भएको तथ्य प्राचीन गोरखाको इतिहास नामक पुस्तकका विभिन्न पृष्ठमा संकलित सन्दर्भहरूबाट प्रस्ट हुन्छ ।[]

मन्दिरको स्थाफना

सम्पादन गर्नुहोस्

गोरखाका राजा राम शाह युवराज हुँदैमा धादिङको सल्यान भन्ने ठाउँमा मावली आएका थिए भन्ने कुरा इतिहासमा उल्लेख छ । उनकी आमा गोरखाका तत्कालीन राजा पुरेन्द्र शाहकी कान्छी रानी थिइन् र यिनलाई राजपरिवारमा हेला भएकाले यिनी माइती हिँडेकी थिइन् भनी अनुमान गरिएको छ । पुरन्दर शाहको देहावसानपछि उनका जेठा छोरा र राम शाहका दाइ छत्र शाह गोरखाका राजा भए । तर उनी राजा भएको छ महिनामै उनको निधन भएकाले राम शाहलाई गोरखा बोलाएर राजा बनाइयो भनी इतिहासमा उल्लिखित पुस्तकमा लेखिएको छ । आफू राजा भएपछि राजा राम शाहले गोरखालाई पूर्वतर्फ विस्तार गर्दै जाने क्रममा मावली रहेको राज्य सल्लानमाथि आक्रमण गर्न सल्यान डाँडामा कोत ( हतियार जम्मा गर्ने किल्ला ) खडा गरेको र त्यहीँ सेनालाई तालिम गराएको भनिन्छ । पछि घले राज्यमाथि विजय गरेपछि राम शाहले सल्यान डाँडामा मन्दिर बनाई देवीको स्थापना गरेको इतिहासमा उल्लेख छ । कोत खडा गरेको सल्यान क्षेत्रलाई सल्यानकोट भनियो र त्यहाँ राम शाहले स्थापना गरेकी देवीको नाम सल्यानकोट देवी नामकरण भयो भनिन्छ ।[]

पौराणिक तथ्य

सम्पादन गर्नुहोस्

पौराणिक तथ्यअनुसार सल्यानकोट देवीलाई श्री त्रिपुरासुन्दरी भगवती मानिन्छ । परापूर्वकालमा सतिदेवीको मृतशरीर बोकेर महादेवले विश्वभ्रमण गर्ने क्रममा उद्यानमा पुग्दा क‌ड्याउलो पतन भई त्रिपुरासुन्दरी देवी उत्पत्ति भएकी हुन् भनिन्छ । स्कन्द पुराणको स्वस्थानी व्रतकथामा उल्लेख भएका सबै स्थान र सन्दर्भहरू सल्यानकोट वरपरका स्थानसित मेल खान्छन् । राष्ट्रनिर्माता बडामहाराजाधिराज पृथ्वीनारायण शाहले नुवाकोट आक्रमण गर्ने क्रममा यात्रा गर्दा नियमित सल्यानकोट देवीको दर्शन र आराधना गर्ने गरेको सन्दर्भ उनीबाटै सिर्जित दिव्योपदेशमा उल्लेख छ । []

सल्यानकोट देवीका तीन मन्दिरहरू छन् । वर्षभरिका विभिन्न अवसरमा देवीलाई फरकफरक मन्दिरमा विराजमान गराई दैनिक पूजाआरती र विशेष पर्वमा विशेष कर्म गरिन्छ । रानामगर पुजारी छन् । तिमल्सिना र सापकोटाहरू मूल पुरोहित छन् । देवीको मन्दिरमा पुजारी र मूल पुरोहितबाहेक अरुले प्रवेश गर्न पाउँदैनन् । देवीको स्वरुपको दर्शन गर्न पाइँदैन । देवीलाई पुजारीले पीठमा बोकेर एक मन्दिरबाट अर्को मन्दिरमा विशेष सवारी चलाउँदा भने सर्वसाधारणले देवीको दर्शन पाउँछन् ।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. १.० १.१ १.२ १.३ शिशिर शर्माबाट लिखित वि सं २०६२ सालमा काठमाडौँबाट प्रकाशित सल्यानकोट देवीको संक्षिप्त परिचय नामक पुस्तक

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्