शिवराज पन्त सम्पादन गर्नुहोस्

शिवराज पन्त बामदेव पन्त र पूर्णादेवीका छोरा हुन् । पन्तको जन्म डोटी जिल्लाको दानकोट गर्खाको, जैनोलीमा भएको थियो । शिवराज पन्तका बुवा बामदेव पन्त राणाकालमा इलाम जिल्लामा खरिदार थिए । भारतको मुरादावादमा उच्च शिक्षा हासिल गरेका शिवराज पन्त नेपाल प्रहरीको इन्सपेक्टरबाट राजीनामा दिएर नेपाली काँग्रेसबाट राजनीति शुरु गरेका थिए । २००७ सालको क्रान्ति पछि शिवराज पन्त डोटी गौडाको गभर्नर बनेका थिए ।

२०१५ को पहिलो आम निर्वाचनमा शिवराज पन्त नेपाली काँग्रेसको तर्फबाट डोटी दक्षिण क्षेत्र नं. ७१ र अहिले बझांगमा पर्ने थलारा डोटी उत्तर क्षेत्र नं. ७०बाट विजयी भएका थिए । २०१६ जेठ १३ गते बनेको प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको सरकारमा शिवराज पन्त खाद्य, कृषि तथा वन मन्त्री बनेका थिए । नेपालकी पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानी शिवराज पन्तकी दिदी हुन् । द्वारिकादेवी र शिवराज पन्त दुवै दिदी भाइ वीपी कोइरालाको सरकारमा सँगै मन्त्री थिए । डोटी, सिलगढीको पद्म हाइस्कूल र उच्चाकोटको सीताराम हाइस्कूल स्थापनामा शिवराज पन्तको विशेष योगदान रहेको छ ।

२०१७ पुस १ को कू पछि पक्राउ परेका पन्त २०१९ सालमा छुटेका थिए । पन्त पछि पंचायत प्रवेश गरेका थिए । शिवराज पन्त २०४४ सालमा राष्ट्रिय पंचायतको सदस्य बनेका थिए । कैलालीको अत्तरियामा बसोबास रहेका पन्तले २०५७ सालमा आफ्नो घरमा रहेका कमैया मुक्त गरेर कमैया मुक्ति आन्दोलनलाई सघाएका थिए ।