राधिका राया
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
राधिका राया (वि.सं. १९८८ - वि.सं. २०६९) नेपाली साहित्यकार हुन्। उनी झापाको भद्रपुरमा रहेर साहित्य-सेवा गर्थीन्।
जीवनी
सम्पादन गर्नुहोस्राधिकाको जन्म वि.सं. १९८८ पुस १४ गते मंगलबार झापाको अनारमनीमा भएको थियो। उनका बुबा नन्दलालसिंह रायमाझी भारतको दार्जीलिङ र भारतको बिहार राज्यको कटियारस्थित रेलसेवाको काममा थिए भने आमा लक्ष्मी रायमाझी गृहिणी थिइन्। यी दम्पतीले छोरी राधिकालाई उनको रुचिअनुसार बाल्यकालमा नाचगानमा लगाएका थिए। यिनको बाल्यकाल खरसाङ र दार्जीलिङमा बितेको थियो। साथै शैक्षिक योग्यताका हकमा राधिकाले दार्जिलिङको सेन्ट जोसेफ कलेजबाट आई. ए. पास गरेकी थिइन्।
राधिका वि.सं. २०२३ सालमा कोलकाता पुगिन्। त्यहाँ ब्रिटिस ट्रान्जिट क्याम्पमा नै उनी बस्थिन्। उनी त्यहाँ शिक्षिका भएताका त्यहीँका क्याप्टेनसँग उनले प्रेम गरेकी थिइन्। त्यही प्रेम झाङ्गिएपछि उनले वि.सं. २०२५ सालमा विवाह गरेकी थिइन्। कप्तान बुद्धिमान लेप्चाले राधिकासँग वैवाहिक जीवन गाँसेका थिए। बिहे गरेपछि यी दम्पतीबाट एउटी छोरी जन्मिन्। त्यसपछि यी दम्पती एक-अर्कामा प्राय: टाढाटाढा हुन थाले। वि.सं. २०५८ चैत २९ गते बुद्धिमानको निधन भयो।
राधिकाको अधिकांश जीवन शिक्षणपेसामा नै समाप्त भयो। उनले चालीस वर्ष स्कुलमा पढाइन्। जसअनुसार उनले धनकुटाको गोकुण्डेश्वर माध्यमिक विद्यालयमा ३ वर्ष पढाइन्, कोलकाताको ब्यारेकपुरमा ५ वर्ष पढाइन्। अनि उनले मलेसिया र हङकङमा पनि १२ वर्ष पढाइन्। त्यसपछि उनले भद्रपुर माध्यमिक विद्यालयमा २० वर्ष पढाइन्। जीवनको अधिकांश समय निरन्तर शिक्षण पेसा समालेर उनले वि.सं. २०५० सालदेखि यस पेसाबाट आफूलाई अलग्याइन्।
राधिका डुल्न-घुम्न भनेपछि मरिमेट्ने गर्थिन्। उनको विशेष सोख नै भ्रमण थियो। त्यसैले उनले नेपाल अधिराज्यका विभिन्न भूभाग घुमिन्, भारतका विभिन्न ठाउँ डुलिन् र त्यसपछि उनी हङकङ, मलेसिया, सिङ्गापुर र बेलायतसम्म पुगिन्। यिनले जति ठाउँ देखे पनि यिनलाई मनपर्ने ठाउँचाहिँ दार्जीलिङको घुमपहाड नै हो। विवशताका कारण उत्तरार्धमा उनले झापाको गर्मी खाएर जीवन भुक्तान गरिन्।
कृतिहरू
सम्पादन गर्नुहोस्उनी स्कुले जीवनदेखि नै लेख्ने गर्थिन्। आफू सात कक्षा पढिरहेका बेलादेखि नै उनको अच्छा राई रसिक र अगमसिंह गिरीसँग गहिरो हेलमेल थियो। त्यति बेला ती दुई भाइसँगको संसर्गले राधिकालाई पनि साहित्यसृजना गर्ने रहर, इच्छा र आकाङ्क्षा जाग्यो।
उनका लेख हस्तलिखित सयपत्री पत्रिकामा छापिन्थे। पछि सोही हस्तलिखित पत्रिका तुलसी अपतनद्वारा सम्पादित हुँदा पनि राधिकाका लेख आइरहे। राधिकाले अघिल्लो समयमा नै धेरै फुटकर रचनाहरूको निर्माण गरे तापनि त्यस ताका पुस्तकाकार रूपमा उनको एउटा कथासङ्ग्रह ‘तिमी नभएकी भए’ (सन् १९६६) मात्र छापियो। त्यसअघि र त्यसपछि फुटकर रूपमा एकाङ्की, दुईवटा लघुकथाहरू र समालोचना प्रकाशित भए।
राधिका रायाका फुटकर लेखरचनाहरू नेपाल तथा भारत, मलेसिया र सिङ्गापुरबाट प्रकाशित हुने नेपाली साहित्यिक मासिक उषा, भारती, साहित्य सङ्गम, दियालो, सुमन, विश्वदीप, भानु, लालीगुराँस, प्रतिभा, नानी, जुही, पाँचौँ किरण, यथार्थ कुरा, सुखानी, झापाली कविता, महानन्द स्मारिका, पर्वते आदि पत्रपत्रिका वा स्मारिकामा छापिए। साथै मलेसिया बसेताका उनकै सम्पादनमा उषा नामक साहित्यिक पत्रिका प्रकाशन भएको थियो।
उनका प्रकाशित कृतिहरू यी हुन्ः
१. तिमी नगएकी भए (कथासङ्ग्रह, सन् १९६६)
२. उनी गएको गोरेटो (एकाङ्की, वि.सं. २०६०)
३. आत्मकथ्य : विविध (वि.सं. २०६०)
४. जीवनको इच्छा (निबन्धसङ्ग्रह, वि.सं. २०५९)
सम्मान
सम्पादन गर्नुहोस्अध्ययनकालमा उनी दार्जीलिङको डम्बरसिंह गुरुङले अगुवाइ गरेको गोर्खा लिगमा लागिन्। त्यसपछि उनी नेपाल पसिन् र २००६ सालदेखि राणा शासनको विरोध गर्दै तत्सम्बन्धी सक्रिय मोर्चामा बाँधिइन्। जसले गर्दा पछि मातृकाप्रसाद कोइरालाले उनलाई एउटा विशेष समारोहमा सम्मान पनि गरेका थिए।
भद्रपुरस्थित देवकोटा स्मृति भवनका अध्यक्षसमेत रहेकी उनी विभिन्न संस्थाबाट पटकपटक सम्मानित भएकी थिइन्।
निधन
सम्पादन गर्नुहोस्भद्रपुरको भानुनगर निवासी रायाको वि.सं. २०६९ चैत १२ गते भारतको सिलगुडीस्थित अस्पतालमा निधन भयो। दम रोगबाट पीडित भई उनलाई अस्पताल भर्ना गरिएको थियो। उनी ८१ वर्षकी थिइन्। उनकी एक छोरी छन्।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्