फेरेन्स पुस्कास
फेरेन्स पुस्काज (२ अप्रिल १९२७ – १७ नोभेम्बर २००६) हङ्गेरीयन फुटबलर र प्रबन्धक थिए जसलाई विश्वकै उत्कृष्ट फुटबलरको रूपमा चिनिन्छ । उनको गगनचुम्बी लोकप्रियता उनको सुन्दर खेलको परिणाम हो । उनले अन्तराष्ट्रिय खेलहरूमा हङ्गेरीको प्रतिनिधित्व गर्दै ८५ खेलमा ८४ गोल ठोकेका थिए भने क्लब स्तरमा कुल ५२९ खेलमा ५१४ गोल । उमेरमा ७९ वसन्त पार गरेर उनको निधन भयो । उनी १९५२ मा ओलम्पिक फुटबल विजेता बने भने राष्ट्रिय टोलीलाई १९५४ फिफा विश्वकपको फाइनलसम्म डोहोर्याएका थिए जहाँ उनी प्रतियोगिताकै सर्वश्रेष्ठ खेलाडी बनेका थिए । उनले तीन यूरोपियन कप (१९५९, १९६०, १९६६), १० राष्ट्रिय च्याम्पियनशीप (५ हङ्गेरीयन र ५ स्पेनी प्रिमेरा डिभिजन) र ८ उच्च गोलकर्ता सम्मान जितेका थिए । पुस्काजले हङ्गेरीमा किस्पेस्ट र बुडापेस्ट हन्भेडबाट खेल जीवन सुरू गरेका थिए । हङ्गेरीयन लिगमा विभिन्न चार अवसरमा उच्च गोलकर्ता बनेका पुस्काज वर्ष १९४८ मा यूरोपकै उच्च गोलकर्ता बनेका थिए । १९५० को दशकमा उनी राष्ट्रिय टोलीका कप्तान थिए भने उनले प्रतिनिधित्व गरेको टोलीलाई माइटी मग्यार्स भनिन्थ्यो ।
व्यक्तिगत जानकारी | |||
---|---|---|---|
उचाइ | १.७२ मी (५ फिट ८ इन्च) | ||
खेल्ने स्थान(हरू) | स्ट्राइकर | ||
वरिष्ठ करियर* | |||
वर्ष | टोली | उपस्थिति | (गोल) |
१९४३–१९५५ | बुडापेस्ट हन्भेड[१] | ३४१ | (३५२) |
१९५८–१९६२ | रियल म्याड्रिड | १८० | (१५६) |
जम्मा | ५१२ | (५१५) | |
अन्तर्राष्ट्रिय करियर | |||
१९४५–१९५६ | हङ्गेरी | ८५ | (८४) |
१९६१–१९६२ | स्पेन | ४ | (०) |
प्रबन्धक करियर | |||
१९६७ | सन फ्रान्सिस्को गोल्डेन गेट गेल्स | ||
१९६८ | भेनकुभर रोयल्स | ||
१९६८–१९६९ | डेपोर्टिभो अलाभे | ||
१९७९–१९७४ | पेनेथनाइकोस एफसी | ||
१९७५ | रियल मुर्सिया | ||
१९७५–१९७६ | कोलो-कोलो | ||
१९७६–१९७७ | साउदी अरब राष्ट्रिय फुटबल टिम | ||
१९७८–१९७९ | ए.इ.के एथेन्स एफसी | ||
१९७९–१९८२ | एल-मास्री | ||
१९८५–१९८६ | क्लब सोल डे अमेरिका | ||
१९८६–१९८९ | सेर्रो पोर्तेनो | ||
१९८९–१९९२ | साउथ मेलबर्न हेलास | ||
१९९३ | हङ्गेरी राष्ट्रिय फुटबल टिम | ||
*क्लब घरेलु लिग उपस्थिति र गोल |
हङ्गेरीयन क्रान्तिको दुई वर्षपछि सन् १९५८ मा उनी स्वदेशत्याग गरी स्पेन बसाईँ सरे, जहाँ उनले रियल म्याड्रिडका लागि खेले । रियलमा रहँदा दुई यूरोपियन च्याम्पियन्स कप फाइनलमा सात गोल गरेका पुस्काजले चार पिचिचिस ट्रफि जितेका थिए । १९९५ मा, उनलाई आइ.एफ.एफ.एच.एस. ले बिसौँ सताब्दीको उच्च गोलकर्ता घोषणा गर्यो । खेल जीवनबाट अस्ताएपछि उनले प्रबन्धकीय जीवनलाई अगाडि बढाए । १९७१ मा उनले प्रबन्धकीय क्षेत्रमा पानाथिनाइकसलाई यूरोपियन कपको फाइनलमा पुर्याएर एउटा किर्तिमानी कोसेढुङ्गा पार गरेका थिए तर फाइनलमा डच क्लब एज्याक्सको हातबाट भएको पराजयले उनलाई इतिहास कोर्नबाट पाखा लगायो । यद्यपी उनी प्रबन्धकको रूपमा यूरोप मै जाज्वल्यमान बने । १९५६ मा उनले राष्ट्रका लागि गरेको कर्तव्यच्युतिका वावजुत हङ्गेरी सरकारले उनलाई १९९३ मा स्वदेश फर्कने पुर्ण इजाजत दिँदै राष्ट्रिय फुटबल टोलीको प्रबन्धक पदभार सम्हाल्ने अवसर समेत प्रदान गर्यो । १९९८ मा उनी प्रथम फिफा/एसओएस च्यारिटी एम्बासेडर बने । २००२ मा बुडापेस्टमा रहेको रङ्गशाला (जसको नाम नेप्सटाडियन थियो) को नाम परिवर्तन गरेर पुस्काज फेरेन्स स्टेडियन राखियो जुन उनीप्रतिको सम्मान थियो । उनलाई हङ्गेरियन फुटबल संघले नोभेम्बर २००३ मा यूइएफए जुबिलि अवार्डको अवसरमा पछिल्ला ५० वर्षकै उत्कृष्ट हङ्गेरियन फुटबलर घोषणा गर्यो । उनको मरणोपरान्त २००९ मा फिफाले उनको सम्मानमा फिफा पुस्काज पुरस्कारको सुरूवात गर्यो जुन पुरस्कार क्यालेन्डर वर्षको सुन्दर गोल गर्ने एक खेलाडीलाई दिइन्छ ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ before 1950 the club was Kispesti A.C.