कीर्तिस्तम्भमा पर्न गएको घामपानी र तातोचिसोको असर

कीर्तिखम्बा (अन्य नाम: किर्तिस्तम्भ, पृथ्वी मल्लको स्तम्भ, कीर्तिखम्ब) शाके सम्वत १२७९ तत्कालिन खस राजा पृथ्वी मल्लले निर्माण गर्न लगाएको स्तम्भ हो । त्यसैले यसलाई पृथ्वी मल्लको स्तम्भ पनि भनिन्छ भने स्थानीय भाषामा यसलाई किर्तिखम्ब वा कीर्तिखम्म भनिन्छ । खस राजाहरूको वंशावलीका साथै अन्य महत्वपूर्ण कुराहरू लेखिएको यो शिलालेख दैलेख जिल्लाको दुल्लुमा अवस्थित छ ।

यस कीर्तिस्तम्भको उचाइ २ मिटर ७६ सेमी., चौडाइ ५० सेमी. र मोटाइ ८ सेमी. रहेको छ । पृथ्वीमा चन्द्रसूर्य रहुन्जेलसम्मको लागि धर्मप्रचारक, सुत्रधारहरू र शिल्पिहरूको सबै कर मिनाहा गर्दा ठूलो धन राशी मिनाहा हुन गएकोले यस स्तम्भलाइ कोटीस्तम्भ पनि भन्ने गरिन्छ । स्तम्भको दुबै पाटोमा क्रमश: पद्मदल, मणिमाला, चैत्य र "ॐ मणिपद्मे हुँ" खोपिएको छ । सम्पूर्ण स्तम्भको तलदेखि माथिसम्म किनारमा दुईवटा रेखा बनाइएका छन् । अभिलेखमा लेख्न सुरु गर्नुअघि बुद्ध, गणेशशिवको बन्दना गरिएको छ । स्तम्भको दायाँ पाटोबाट अभिलेख लेख्न प्रारम्भ गरिएको छ । यो स्तम्भमा गोठालाहरूले हँसिया, बन्चरो आदी औजारहरूको धार लगाउनको लागि घोट्ने गर्नाले स्तम्भको चारैतिर घोटिएको छ । स्तम्भमा लेखिएका अक्षरहरू अस्पष्ट हुँदै गइरहेका छन् । स्तम्भमा कुँदिएको भाषा र लिपीहरू सामान्यतया बुझ्न र पढ्न सकिँदैन ।