पाटन एयरपोर्ट महाकाली अञ्चल बैतडी पाटन नगरपालिका को पाटन बजार मा पर्छ । यो एयरपोर्ट हाल बन्द अवस्था मा रहेको छ । राजधानी काठमाडौंबाट झन्डै १ हजार किलोमिटरको दूरीमा रहेको बैतडी जिल्लाको पाटन विमानस्थल २० वर्षदेखि बन्द अवस्थामा छ । शान्ति प्रक्रियामा आएको १० वर्ष बितिसक्दासमेत विमान नचल्दा यहाँका बासिन्दा निराश र आक्रोशित छन् । राजधानी काठमाडौंबाट बैतडी पुग्न सडक यातायातमार्फत २ दिन लाग्छ । विमान सञ्चालन नहुँदा बिरामीलाई अस्पताल पुर्याउन यहाँका बासिन्दाले सबैभन्दा बढी खेप्नुपरको सास्ती र पीडा हो । आपत्कालीन अवस्थामा उपभोग गर्न पाउनुपर्ने अत्यावश्यक सुविधाबाट समेत वञ्चित भएका छन्, यहाँका बासिन्दा । पाटन विमानस्थल सञ्चालन नहुँदा हाल गौचरनमा परिणत भएको छ । विमान उडनुपर्ने धावनमार्गमा धुलो उडिरहेको छ । २०३४ सालमा सञ्चालनमा आएको बैतडीको पाटन विमानस्थल २०५२ सालदेखि पूर्णरूपमा बन्द भएको थियो । धावनमार्गको लम्बाइ ९ सय ५० मिटर रहेको विमानस्थल सुदूरपश्चिमको दोस्रो ठूलो विमानस्थल हो । सुदूरपश्चिममा कैलालीको गेटा विमानस्थल सबैभन्दा ठूलो विमानस्थलका रूपमा रहेको छ । पाटन विमानस्थलको संरक्षण समेत हुन नसक्दा अहिले गौचरणमा परिणत मात्र भएको छैन, भौतिक संरचनापनि तहसनहस भएको छ । प्रजातन्त्र स्थापना कालसँगै सञ्चालमा आएको विमानस्थल १० वर्षे द्वन्द्व शुरु हुनासाथ बन्द भएको थियो । हाल पाटन विमानस्थल गौचरन, खेलमैदान, सवारीसाधन सिक्ने मैदान र खच्चडहरूको बासस्थानको रूपमा परिणत भएको छ । बैतडी, दार्चुला, डडेल्धुरा र बझाङ जिल्लाको केन्द्र भागमा रहेको पाटन बैतडी जिल्लाको मिनी सदरमुकामको रूपमा पहिचान बनाएको छ । तत्कालीन एमाओवादीको सरकार रहेको बेला पर्यटनमन्त्री लोकेन्द्र विष्ट मगरले सुदूरपश्चिममा रहेका विमानस्थललाई तत्काल सुचारु गर्ने प्रतिबद्धता जनाए पनि यो पनि गफमै सीमित भएको छ । द्वन्द्वको क्रममा तत्कालीन माओवादीले बम हानेर विमानस्थलको कार्यालय र टावर पूर्णरूपमा ध्वस्त बनाएको थियो । शान्ति प्रक्रियामा आएको १० वर्ष बितिसक्दासमेत विमानस्थल कार्यालयको पुनर्निर्माण हुन सकेको छैन । विमानस्थलको धावनमार्ग र कार्यालय पुनर्निर्माणको पर्खाइमा रहेको छ । कार्यालय अलपत्र अवस्थामा छ । विमानस्थलको टावर पनि भग्नावशेषमा परिणत भएको छ । स्थानीयबासीले पटक–पटक सरकारसँग विमानस्थल सञ्चालनका लागि आग्रह गर्दासमेत कामले गति लिन नसकेको गुनासो गरेका छन् । विमानस्थल प्रयोगविहीन भए पनि संरक्षणतर्फ पनि सरकारको ध्यान जान सकेको छैन् ।


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाहिरी कडि सम्पादन गर्नुहोस्