ओल्के संक्रान्ति नेपालको सुदूर पश्चिम क्षेत्रमा मनाइने एक पर्व हो। यो पर्व भदौ महिनाको एक गते सम्मानित व्याक्तिहरूलाई उपहार दिएर मनाइन्छ।

ओल्के संक्रान्ति
मितिभाद्र संक्रान्ति

ओल्के सङ्क्रान्तीको अर्थ

सम्पादन गर्नुहोस्

डोटेली शब्दकोषका अनुसार ओल्को भन्नाले सम्मानित व्यक्तिलाई दिइने केही ‘उपहार’ वा ‘कोसेली’लाई जनाउँछ। यस्तो सम्मानोपहार दिने “विशेष दिन” नै ओल्के संक्रान्तिका नामले सुदूर-पश्चिममा धुमधामसंग मनाइन्छ। यो पर्व सिंह संक्रान्ति अर्थात् भाद्र १ गते पर्दछ। आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहिआएको छ।[] ठूलालाई सम्मान र सानालाई माया गर्नु हाम्रा पर्वहरूका त मुख्य विशेषता नै हुन्। यो सबैखाले समाजमा पाइन्छ। त्यसैगरी उपहार लिने दिने प्रचलन पनि प्राय: सबै समाजमा विद्यमान छ। तर हाम्रो ओल्कोलाई शाब्दिक अर्थले उपहार लिनु दिनुमा मात्रै सीमित गरिदिँदा समकालीन सामाजिक मनोभावको ठ्याक्कै अभिव्यक्ति नहुन सक्छ। ओल्को लिनु दिनु त्यहाँको संस्कृति, परम्परा र आस्थाको प्रतीक पनि हो। सुदूरको लोकजीवनमा वर्षाको यामलाई अतीव विपत्तिको एकांकी समय मानिन्छ। बाढी पहिरोले गाउँहरूको आपसी सम्पर्कमा बाधा पुग्दछ। प्रकृतिको रुप-रंग फेरिन्छ। खोला-नाला सुसाएका हुन्छन्। हरियालीले पाखा पर्वत ढाकेको हुन्छ। कामको चटारोले कसैलाई फुर्सत हुँदैन। “साउनकी काली रात” का डरलाग्दा किस्साहरू गाउँगर्खामा सुन्न पाइन्छन्। निसन्देह यो परिवेशले कर्मयोगी लोकजीवनलाई भावविह्वल बनाएको होला। शायद यसै पृष्ठभूमिमा यो पर्वको सुरुवात भएको हुनु पर्दछ। आफन्तहरूलाई सम्मान स्वरुप उपहारसहित ढोग भेट गर्न जाँने चलेको रहेको छ। यो शास्वत भावमा ओल्कोको परम्परा अहिले अझ सान्दर्भिक हुन गएको छ।

कसरी मनाइन्छ

सम्पादन गर्नुहोस्
 
ओल्के संक्रान्तिमा राखिएको बुढी पोलेको दृश्य

यो पर्व विशेषमा ओल्कोको रूपमा फलफुल, सागपात, अन्न, दूध, दही, घिउ, गूड र पक्वान्न आदि मान्यजन र आफन्तकहाँ पठाइन्छ।[] शिल्पकर्मीहरूले आ-आफ्ना सिर्जनासमेत पठाउन सक्दछन्। अचेल लुगा-कपडा, पैसा वा यस्तै अन्य उपहारसमेत दिने प्रचलन बढ्दो छ। यतिमात्रै होइन, गुठियारहरूले ईष्ट कुलदेवताको मन्दिरमा नयाँ अन्नबालीको ओल्को चढाउँछन्। विभिन्न जनजातिहरूमा कृषि युगदेखि नयाँ अन्नको न्वागि चढाउने चलन पनि देखिएको छ । यस्ता दिनमा मिठो मसिनो खानपिनको जोहो त हुने नै भयो । कुमाऊँ तिर यस पर्वलाई घिउ तिहार भनिँदो रहेछ । यसदिन घिउ खानै पर्ने हुन्छ रे । त्यहाँको लोकमान्यतामा ओल्केइसगरान्ति नमानेमा अर्को जुनीमा शंखेकिरो ( गड्याल ) भइन्छ रे। कतैकतै चतुर्मासको बेला कैलाशतिर गएका देउताहरूलाई सम्झदै देवस्थलमा बत्ती बाली नयाँ अन्नको कोसेली चढाइएको हो भन्ने मान्यता पनि छ। ओल्के संक्रान्तिका दिन गाउँ नजिकका अलिक उच्चो टाकुरामा सबैजना मिलेर रूखका हांगाविंगा, झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । यो थुप्रोलाई स्थानीय भाषामा ”बुढी हालेको” भन्दछन् । यो बूढीलाई असोज संक्रान्तिका साँझ प्रत्येक घर-घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर बूढी पोल्ने पर्व मनाउने परम्परा छ । यस अनुष्ठानलाई द्वापरकालीन मथुराकी पुतनाको कथासङ्ग पनि जोडिएको छ । सुदूरपश्चिमका पहाडी जिल्लामा मात्रै यो ‘बूढी पोल्ने’ पर्व मनाइने गरिन्छ । घरबाट आगोको राँको निकाल्दा पूरै घरलाई घुमाएर निकाल्ने गरिन्छ । घरबाट चिरेको काँक्रो लगेर पोलेको बूढीमा थुक्ने गरिन्छ । यसरी बूढी पोलेमा वर्षभरि लुतो लगायतका रोग-व्याधिबाट परिवारजन मुक्त हुने मान्यता छ । कालक्रममा केही वर्ष अघिसम्म ठूलाबडालाई साना जातकाले चिनो वस्तु चढाउने दिनका रूपमासमेत ओल्कोको व्याख्या गरिएको देखिन्छ । कथित ठूलाठालुहरूले ओल्को ल्याउनेलाई वक्सिस दिन्थे रे । तर यो मनोदसा अब समाप्तिको क्रममा छ । अब नयाँ अर्थमा यो पर्वलाई परिभाषित गर्नु पर्दछ । ठूलो सानोको त्यो संस्तरणमा अन्यायपूर्ण श्रम सम्बन्ध वा जाय जन्मको आधार लिने पुरानो व्याख्याको समय भिट्की सकेको छ । इतिहासबाट कुँडिदा सांस्कृतिक विच्छिन्नताको भय रहन्छ, समभावको वास्तविक पहिचानमा गौरव र आनन्दको अनुभूति हुन्।

सामाजिक मान्यता

सम्पादन गर्नुहोस्

भनिन्छ, ओल्के संक्रान्तिताका सतरति ( सातरातको झरि) पर्दछ। यो समयमा आकासमा तारा देखिएमा वा वन चर्न गएका भैसीका सिङ ओभानो भएमा समेत अनिकाल पर्ने सम्भावना रहन्छ। यसैताका ऋतुमति धर्तिले नवीन सिर्जना गर्न थाल्छिन्। प्रकृतिमा नयाँ-नयाँ किसिमका वनस्पति र किरा फट्याङ्ग्राहरु देखिन थाल्छन् । धुलो धुँवा र फोहोर पखालिन्छ। पाखा पखेरामा नवधार (पानीका नयाँ मुहान) फुट्न थाल्छन् । पृथ्वी पुन: शस्यश्यामला र कञ्चन बन्छिन् । सुदूर पश्चिममा के विश्वास छ भने यो बेला पहाडका खोलानालासमेत समुद्रलाई ओल्को पुर्याउँछन् । शुष्कप्राय: खोलानाला यति हौसिएका हुन्छन् कि महाकालीलाई समेत हल्लाउन भ्याउछन् । एउटा स्थानीय लोकगीतमा भनिएको छ- ‘काली गङ्ङा हचको दिनछै धन्न बुका खोला (अर्थात काली नदीलाई समेत हचको दिने बुको खोलालाइ धन्यबाद छ)।’ यसरी साउनको रात वा पुषको परभात वा जेठको दोफरीजस्तो अप्ठ्यारो समय सकिएपछि एउटा नयाँ समय आउँछ । हाम्रा पर्वहरू यस्तै समयमा नयाँ लय दिन्छन् । ओल्के संक्रान्ति पछि नै सुरु हुन्छ गौराको पावन पर्व । देवराग ( अर्थात् डेउडा देउडा गित देउरा ) गायनको महान् अवसर । यस्ता अवसरहरूलाई समयानुकूल समावेशी बनाई लोक परम्परालाई जीवित राख्नु सबैको कर्तब्य हुन आउँछ । यसै सन्दर्भमा त्यहाँको एउटा लोकआख्यान पनि भनिहालौं । भनिन्छ, पहाडका ससाना खोलानालाबाट पनि ओल्को आउन थालेपछि मैदानका महानदीले यिनलाई निक्कै फुरुङ्ग्याउँछन् । कुरैकुरामा आफ्नी छोरीको विवाह यी फुर्तिला शैल-सरिताका छोरासंग गरिदिने वचन पनि दिन्छन् । तर बिहे भने हिउँदमा मात्र हुने निधो हुन्छ। विचरा सोझा पहाडी खोलाहरु रातदिन विवाहको जोरजाममा खटिन्छन्। विडम्बना, हिउँद आउँदा नआउँदै पानीको मूल शुष्क प्राय: हुन्छ र ठूला घरसंग साइनो जोड्ने यिनको मनसुवा कहिले पनि पुरा हुँदैन । यो प्रतीकात्मक उपकथामा वर्णित पहाडको प्रकृति र सुदूरको वर्तमान नियतिमा गजवको साम्यता छ। [] यस पर्वलाई विभिन्न किसिमले मनाए पनि यसको मुल सन्देश भनेको आपसी मित्रताको गाँठो बलियो पार्नु हो । आजका दिनमा गाउँगाउँका युवायुवती जम्मा भएर पिङ खेल्ने, डेउडा खेल्ने, दिउसोभरी रमाईलो गर्ने र बेलुका बुढीहाल्ने गर्दछन् । आज बुढी हाल्ने र असोज १ गतेका दिन पोल्ने चलन रहेको बुढापाकाको भनाई छ । विजय उत्सवका रूपमा मनाइने बुढी हाल्ने र पोल्ने यो पर्वमा बुढी अर्थात राक्षसी पुतनालाई पोल्ने गरिन्छ । परम्परागत किंबदन्ती अनुसार भगवान श्रीकृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला) ले पुतनाको शव दहन गरेको कथन रहे अनुसार यो पर्व मनाइन्छ ।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्