सत्य सन्देश लेखनाथ पौड्याल (वि.सं. १९४१ पौष - २०२२ फाल्गुण ७ तदनुसार सन् 1885 – 1966) द्वारा लेखिएको कविता हो। परिष्कारवादी धारका प्रमुख कवि लेखनाथ पौड्यालको यस कवितामा स्रग्धरा छन्द, अन्त्यानुप्रास अलङ्कार र शान्त रसको प्रयोग पाइन्छ ।

कविताको भावार्थ "व्यक्ति राम्रो भए संसार राम्रो लाग्ने तर व्यक्ति स्वयं नराम्रो भए संसार नराम्रो देखिन्छ" भन्ने रहेको छ।

यस सत्य सन्देश कविताले प्रसिद्ध कवि दुर्गालाल श्रेष्ठका शब्दमा न्ह्यू बज्राचार्यको सङ्गीतमा गायिका आनी छोइङ डोल्माले गाएका "फूलको आखाँमा फुलै संसार, काँडाको आखाँमा काँडा संसार" को अर्थ दिन्छ।[१]

कविताको पूर्ण पाठ सम्पादन गर्नुहोस्

कालो मन्दाकिनीको जल, जलनिधिका मोतिको ज्योति कालो

कालो सौदामिनीको चहक सब शरच्चन्द्रको कान्ति कालो ।

कैलाश श्रेणि कालो झलमल गर्ने सूर्यको बिम्ब कालो

यो सारा सृष्टि कालो मनबिच छ भने दम्भ दुर्भाब कालो ।।

दोषी माता पिताका बचन गुरुजनादेश नि:शेष दोषी

सत्यात्मा मित्र दोषी गृह परिजनको चाल देखिन्छ दोषी ।

पत्नीको प्रेम दोषी अमृतमय मीठा वेदका वाक्य दोषी

यो सारा सृष्टि दोषी विधिवश छ भने आफ्नो दृष्टि दोषी ।।

थोत्रो पाटी उज्यालो, मलिन तृणकुटी, कन्दरा झन् उज्यालो

भिक्षा भारी उज्यालो, अझ वन वनको साग सिस्नु उज्यालो ।

फयाङ्लो गुन्द्री उज्यालो, वर पर घुम्दा जीर्ण कन्था उज्यालो

तृष्णाको तृच्छ जालो मनबीच नभए जो मिल्यो सो उज्यालो ।।

भर्दाभर्दै हजारौँ बिषय-सुख-घडा देह लम्तन्न पर्दा

झर्दा सम्पुर्ण सेखी, तुजुक पवनले निस्कने जोड गर्दा

सर्दा आपस्त डर्दै पर पर धमिलो नाचको अन्त्य पर्दा

गिरदामा साथ जाने कुन-कुन चीज हुन्? सम्झ ती काम गर्दा ।।

जस्तो मानी धनीका नगिच हर घडी तृपत जोडेर हात

छाती खोलेर गर्छौ हृदय बुझि सदा नम्रता साथ बात ।

दु:खीका साथ उस्तै बिनयसित सदा मर्म सम्झेर बोल

गर्नै पर्दैन फेरि व्रत, जप, तपले स्वर्गको मोल तोल ।।

मत्ता हात्ती हलुङ्गो, बितत जलधिका ह्वेल माछो हलुङ्गो

जङ्गी बेडा हलुङ्गो, विकट कटकटे रेलगाडी हलुङ्गो ।

शैलश्रेणी हलुङ्गो, पृथुतम पृथिवी गोल सारा हलुङ्गो

यो व्रह्माणडै हलुङ्गो, जब सब मनको तिर्सना लाग्छ टुङ्गो ।।

अन्य सम्पादन गर्नुहोस्

यस कविता विद्यालयीय माध्यमिक तहको हाम्रो नेपाली किताबमा समावेश गरिएको छ । र मारतको cbseको कक्षा 10 नेपाली पाठय पुस्तक मा पनि समायेस गरिएको छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. श्रेष्ठ, दुर्गालाल । (२०६१ [2004]) । फूलको आँखामा फूलै संसार [आनी छोयङ डोल्माद्वारा स्वरबद्ध] । मोमेन्ट्स अफ ब्लिस [Moments of Bliss] । काठमाडौँ : म्युजिक नेपाल [Music Nepal]। https://www.youtube.com/watch?v=uOYJF3uNGqI मा २ जुन २०१८ २१ः०१ मा हेरिएको ।

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्