सन् १९५५ मा जन्मिएकी विन्द्या सुब्बा नेपाली कथाकार हुन् । दर्पण पत्रिका (वि.सं.२०२७)मा प्रकाशित जलन कथाका माध्यमबाट कथा यात्रा प्रारम्भ गरेकी विन्द्या सुब्बाका कथाक्रम (सन् १९८४) र हस्पिस (सन् २००३) जस्ता कथा सङ्ग्रह प्रकाशित छन् । कथाकार विन्द्या सुब्बाका आरम्भतिरका कथाहरूमा स्वच्छन्दतावादी प्रवृत्तिको बाहुल्य पाइन्छ भने पछिल्ला समयका कथाहरूमा मनोविश्लेषणवादी प्रवृत्ति बढी मात्रामा पाइन्छ । उनी युवा सुलभ प्रणय वेदना, मानवता आदिलाई आत्मसात् गरेर कारुणिक कथा लेखनमा रुचि राख्छिन् । [१] जीवनका उज्यालाभन्दा अँध्यारा पक्ष र हाँसोभन्दा रुवाइको चित्रण बढी मात्रामा गर्ने कथाकार सुब्बाका प्रायः सबै कथाहरू अत्यन्त कारुणिक र संवेदनशील देखिन्छन् । नारीका पीडा, विरह, छटपटी आदिको विविध पक्षको चित्रण पाइने यिनका कथाहरू करुण रसमा मुछिएका छन् ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. लुइटेल, लीला (मधुपर्क २०६६ चैत्), महिला लेखन र नारीवादी नेपाली उपन्यास, काठमाडौं : गोरखापत्र संस्थान ।

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

असमेली नेपाली महिला साहित्यकाहरू