सहिद नेत्रलाल पौडेल 'अभागी' एक नेपाली प्रगतिवादी कवि थिए। उनी नेपाली वामपन्थी आन्दोलनका एक महत्त्वपूर्ण व्यक्ति थिए। उनको सतिसाल मात्र ठिङ्ग उभिन सक्छ नामक कविता सङ्ग्रह लगायत विभिन्न साहित्यिक कृतिहरू प्रख्यात छन्। उनको निधन २०४१ साल जेठ ६ गते भएको थियो।[१]

नेत्रलाल पौडेल
सहिद नेत्रलाल पौडेल 'अभागी'
जन्म२००१ पुस २७
धर्ना, दङ
मृत्यु२०४१ जेठ ६
चौलाही, दाङ
राष्ट्रियतानेपाली
पेशाकवि, राजनीतिज्ञ

जीवनी सम्पादन गर्नुहोस्

नेत्रलाल पौडेलको 'अभागी' जन्म वि.सं. २००१ पुस २७ गते दाङ जिल्लाको धर्ना गाविसको वडा नं. २ सिसैपुर गाउँमा भएको थियो। उनको राजनीतिक जीवनको लम्बाइ जम्मा १९ वर्षको थियो। त्यसमा पनि ११ वर्ष उनले पूर्ण भूमिगत कठोर राजनीतिक यात्रा उनको राजनीतिक जीवनको उत्कर्ष समयको रूपमा लिन सकिन्छ।

सहिद नेत्रलाल पौडेल 'अभागी' ले वि.सं २०२२ सालमा बिए अनर्सको अध्ययन पूरा गरेका थिए। वि.सं. २०२३ बाट नेत्रलालले राजनीति र शिक्षण पेसालाई एकैसाथ अँगालेका थिए। वि.सं. २०२३ मा केन्द्रको पुष्पलाल समूह निकट रहेर अर्घाखाँची र गुल्मीको संयुक्त प्र.ने.क.पा. जिल्ला कमिटीमा रही काम गर्ने क्रममा उनले वि.सं. २०२३ मा नै कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए। उनी पार्टी सदस्य बनेपछि त्यहाँ सङ्गठित भएर काम गर्न थालेका थिए। यस क्रममा उनले शिक्षण, राजनीति र साहित्य तीनै क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेका थिए।[२]

वि.संं २०३१ मा भएको चौथो महाधिवेशन पश्चात् नेत्रलाल सुदूरपश्चिमको क्षेत्रीय ब्युरोको सदस्य बनेका थिए। नेत्रलाल यसरी राजनीतिमा आउने क्रममा वि.सं. २०३० श्रावण २५ गतेदेखि पूर्णरूपमा राजनीतिक गतिविधिमा समर्पित हुन भूमिगत जीवनको यात्रा सुरु गरेका थिए। उनी वि.सं. २०३६ साउनमा नेकपा (माले) को केन्द्रीय सदस्य बनेका थिए।[३]

नेत्रलालले बिए अनर्ससम्मको नेपाली विषय अध्ययनका क्रममा साहित्यको आवश्यक ज्ञान प्राप्त गरेकाले उनको साहित्य लेखन खारिँदै गएको थियो। उनले भूपि शेरचन, गोपालप्रसाद रिमाल, युद्धप्रसाद मिश्र आदिका कविता पढेर त्यसै प्रकारका कविता रचनातर्फ आफूलाई उन्मुख गराएका थिए। राजनीतिक गतिविधिमा सहभागी भएपछि विश्वक्रान्तिका रचना पढ्ने र रचना गर्ने, विश्वचर्चित साहित्यकारहरूको कृति अनुवाद गर्ने कामसमेत उनले गरेका थिए। उनले साहित्यका मुक्तक, गीत, कविता, कथा, नाटक, समालोचना, अनुवाद आदि क्षेत्रमा कलम चलाएका थिए। उनको साहित्य लेखन वि.सं. २०१५ देखि मृत्युपर्यन्तसम्म निरन्तर सक्रिय रहेको थियो। उनलाई २०७४ सालमा सहिद घोषणा गरिएको थियो। नेपाल सरकारले २०८० फागुन ४ गते नेत्रलाल अभागीको तस्विर अङ्कित टिकट प्रकाशन गरेको थियो।[४]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "शहीद नेत्रलाल स्मृति", नयाँ पेज (नेपालीमा), अन्तिम पहुँच २५ माघ २०८० 
  2. "नेत्रलाल पौडेलको स्मृति दिवस आज", तुलसीपुर खबर (नेपालीमा), अन्तिम पहुँच २५ माघ २०८० 
  3. "को हुन् सहीद घोषणा भएका दाङका नेत्रलाल अभागी ? (संक्षिप्त जीवनीसहित)", जागरण अनलाइन (नेपालीमा), अन्तिम पहुँच २५ माघ २०८० 
  4. "शहीद नेत्रलाल अभागीको तस्विर अंकित टिकट प्रकाशन", मेचीकाली अनलाइन (नेपालीमा), अन्तिम पहुँच २५ माघ २०८०