कवि पोखरेल सन् २०१० मा नयाँ दिल्लीमा भएको सार्क साहित्य सम्मेलनमा आफ्नो रचना वाचन गर्दै

सुमन पोखरेल (जन्म सन् १९६७, सेप्टेम्बर २१) नेपाली कवि, गीतकार, नाटककार, अनुवादक तथा कलाकार हुन् । उनका रचनाहरू विभिन्न भाषामा अनुवादित भई अन्तर्राष्ट्रिय स्तरमा प्रकाशित भएका छन् । सुमन पोखरेल एक महत्वपूर्ण दक्षिण एसियाली कविका रूपमा चिनिन्छन् । उनी सन् २०१३ तथा सन् २०१५ को सार्क साहित्य पुरस्कारद्वारा विभूषित भएका छन् । सो पुरस्कार दुई पटक प्राप्त गर्ने उनी एक मात्र कवि/लेखक हुन् । नेपालीका अतिरिक्त अङ्ग्रेजी, मैथिली, हिन्दी, उर्दू तथा बङ्गाली भाषाहरूमा पकड भएका पोखरेलले बहुभाषामा कलम चलाएका छन् । उनका नेपालीमा दुईवटा कवितासङ्ग्रह तथा एउटा गीतसङ्ग्रह प्रकाशित छन् । उनका गीतहरू विभिन्न गायकका एल्बममा समावेश भएका छन् । पोखरेलका अनुवाद तथा केही निबन्ध विविध सङ्कलनहरूमा समाविष्ट रहेका तथा विभिन्न पत्रिकाहरूमा प्रकाशित भएका छन् । पोखरेलद्वारा लिखित नाटक नेपालबाहिर प्रदर्शित भइसकेको छ । उनी चित्रकारमा रूपमा पनि सक्रिय रहेका छन् । (पूरा  पढ्नुहोस्...)