नेपाल देश कृषिप्रधान देश हो। गोरु कर्मयोगी किसानहरूका लागि अत्यन्त आवश्यक जनावर हो। गोरु भगवान् शिवको वाहन पनि हो। गोपाल शब्दले गाई पाल्ने व्यक्ति, गाईको धनी, ग्लावा, गोठाला आदिको पनि बोध हुन्छ। गोपाल भगवान् श्रीकृष्णको पर्यायवाची नाम पनि हो। द्वापरयुगमा नै इन्द्रले पानी नपारिदिएकाले कृषि पेसामा संलग्न कर्मयोगी गोपालहरू अत्यन्त चिन्तित थिए। यो अवस्थामा भगवान् श्रीकृष्णले गोबर्धन पर्वतको पूजा गर्ने सल्लाह दिए। गोपालहरूले त्यसै गरे, फलस्वरूप वर्षा भयो। सबै अन्न र ऐश्वर्यबाट समृद्ध भए। गाई र गोरुको संख्यामा पनि वृद्धि हुन पुग्यो। यसरी गोरुतिहार पर्व गोवर्धन पर्वतसँग गाँसिन पुगेको छ। यस दिन गोरुतिहारका रूपमा गोरुको पूजा गर्ने, गाईको गोबरबाट पहाड निर्माण गरी गोवर्धनको कामना गर्दै गोबर्धन पर्वतको पूजा गर्ने प्रचलन रहिआएको छ।