अदुवा

मसला र औषधिको

परिभाषा :सम्पादन

झण्डै हलेदाको जस्तो बोट र पात भई भुईंमनि पिरा गाना फल्ने एक वनस्पतिलाई अथवा मसला वा औषधिमा प्रयोग हुने यसैको गानुलाई अदुवा भनिन्छ  । अदुवालाई अंग्रेजीमा Ginger, Fresh Ginger, Dry Ginger, Wet ginger root, Ginger, Zingibil वा Common ginger र ल्याटिन भाषामा Zingiber officinale, Zingiber officinale Roscoe वा Amomum zingiber Linn. भनिन्छ ।

जात :सम्पादन

बन अदुवा : डाँठबाटै पात निस्कने, कालो कन्द हुने एक जातको अदुवालाई बन अदुवा भनिन्छ ।

अदुवासँग सम्बन्धित केही नेपाली शब्दहरू :सम्पादन

  • अदुवा पाने : गोडाका सबै औँला बूढी औँलातिर र बूढी औँलाचाहिँ भित्रतिर फर्केको (खुट्टा, मान्छे आदि); अदुवाको पानाजस्तो ।
  • बुढी : अदुवाको बीउ वा पुरानो गानु ।
  • मालनेटा : नेपालमा अदुवाका लागि प्रसिद्ध सल्यान जिल्लाको एक प्रसिद्ध बजार ।
  • सुठो : चून आदि खनिज मिसाई तयार गरी सुकाएको अदुवा । सुकेको अदुवा ।
  • नेपाली उखान–अदुवा खाई सभा पस्नु, मूला खाई बन पस्नु ।
अदुवा

संस्कृत पर्यायवाची नामहरू :सम्पादन

अनूपज, अपाकशाक, आर्द्रक, आर्द्रशाक, आर्द्राख्य, आर्द्रिका, कटुभद्र, कन्दल, गुल्ममूल, महीज, महौषध, मूलज, राहुच्छत्र, वर, शार्ङ्ग, शृङ्गवेर, सच्शाक, सुशाकक र सैकतेष्ट ।

स्वाद :सम्पादन

यसको तिक्खर र पिरो स्वाद हुन्छ । पकाइएको अदुवामा भने मिठास हुन्छ ।

आयुर्वेदका ग्रन्थमा बताइएका अदुवाका गुण :सम्पादन

  1. दिसा खुकुलो पार्दछ,
  2. पेटको अग्नि (पाचनशक्ति) लाई बढाउँदछ,
  3. वात (वायु) र कफका कारण हुने रोगलाई नष्ट गर्दछ,
  4. अदुवाको अर्कले जरो र डाह नाश गर्दछ तथा रुचि र पाचकाग्नि समेत बढाउँदछ,
  5. अदुवा भेदनी (वात आदि दोषले पेटभित्र अड्किएका वा गोटा परेर बसेका मलमूत्रलाई टुक्राटुक्रा पारी मलद्वार वा मूत्रनली मार्फत बाहिर निकाल्ने गुण भएको) हुन्छ,
  6. यो दीपनी (खाएको कुरा पचेर बनेको रसलाई पचाउँदैन तर पाचकाग्निलाई बाल्दछ) हुन्छ,
  7. अदुवा वीर्यवर्धक हुन्छ,
  8. दम, खोकी, वाकवाकी, बाडुलीरोग, वातविकार, कफविकार र कब्जियत नाश गर्दछ,
  9. पकाएको अदुवा रुचिकर, वीर्यवर्धक, जठराग्नि (पाचनशक्ति) बाल्ने, वातविकार शान्त पार्ने, खाएको पचाउने र विशेषतः सुजन नाश गर्ने गुणको हुन्छ,
  10. खाना खानु अघि अदुवा खानु सधैँ पथ्य (शरीरलाई फाइदाजनक) हुन्छ,
  11. काँजी र नुनसँग अदुवा खानाले यो अति नै दीपनी र पाचक हुन्छ,
  12. नुनसँग अदुवा खानाले वातविकार शान्त पार्दछ र जिभ्रोलाई हर्षित (स्वाद थाहा पाउने) बनाउँदछ,
  13. अदुवा उष्णवीर्यको (शरीरमा गर्मी पैदा गराउने) हुन्छ,
  14. यो मुटुका लागि हितकर हुन्छ,
  15. यो पचाउन हलुका हुन्छ,
  16. घाँटीका रोग नाश गर्दछ,
  17. अदुवाको रसमा मह मिसाएर पिउने गरे अण्डकोशको वातरोग, दम, खोकी, अरुची र पिनास भगाउँदछ,
  18. पिरो भएपनि अदुवा दूधसँग खान हुन्छ,
  19. शरीरमा वातजन्य विकार भए तक्र (मोहीका विभिन्न प्रकार) मा अदुवा वा सुठो र सिधे नुन मिसाएर पिउनु पर्दछ,
  20. खाना खानुअघि सिधे नुनसँग अदुवा खाने गर्नाले यसले जिभ्रो र घाँटीलाई प्रशोधन गर्दछ तथा पेटको अग्निलाई बाली खाएको कुरा पचाउन मद्दत गरी भोक बढाउँदछ,
  21. कागतीपानीमा घोलिएको अदुवाले पाचनशक्ति बढाउँदछ, यो रुचिकर हुन्छ र यसले दिसापिसाब खुलाउँदछ ।

(अन्य ओखतीसँग मिसाएर गरिने अदुवाको प्रयोग धेरै थरी भएकोले यहाँ समावेश गर्न सकिएन)

अदुवाका बेफाइदा :सम्पादन

  1. यो पचाउन कठिन हुन्छ ।
  2. यसले गर्मी गर्दछ ।

अदुवा खान नहुने अवस्था :सम्पादन

कुष्ठरोग, कमलपित्त, पिसाब नखुल्ने रोग, मुख–नाक–योनी आदिबाट अनायाश रगत बहने रोग (रक्तपित्त) भएका तथा खटिरा र जरो आएकाले अदुवा खान हुन्न । सुठोको काँचो अवस्था नै अदुवा हो । अदुवा र सुठोको गुण समान हो । ग्रीष्म (जेठ र असार) र शरद (असौज र कात्तिक) ऋतुमा पनि अदुवा खान हुन्न । गर्मी जीउ हुनेले अदुवा नखानू, खाएर कुनै बेफाइदा गरे मह खानू ।

लामो समय अदुवा ताजा राख्ने तरिका :सम्पादन

अदुवालाई बालुवामा पुरेर राख्ने र माथिबाट दिनहुँ थोरै पानी छम्कने गरे लामो समयसम्म सुक्दैन, सधैँ ताजा भइरहन्छ ।

खान नहुने खालको अदुवा :सम्पादन

राम्ररी नछिप्पिएको (कलिलो), बेमौसमको, धेरै सुकेको वा पुरानो वा मक्किएको, किरा परेको र राम्ररी नउम्रेको अदुवाले घाँटीलाई खराब गर्दछ ।

उपर्युक्त जानकारीको श्रोत ग्रन्थहरू :सम्पादन

अदुवाको बोट र गानो

(अदुवाको विशेष प्रयोग :सम्पादन

  • राई जातिमा यसको बेग्लै र विशेष जन्म, जीवन प्रक्रिया र मरनसागको सम्बन्ध रहेको पाइन्छ। यो सम्बन्ध आफ्नो सृष्टिकर्ता पारुहाङ र सुम्निमाबाट सुरु भएको विश्वास गरिन्छ।

राई जातिमा अदुवाको कछुर नकाटी जातीय पूजा हुन सक्दैन। यी जाति आफ्ना हरेक देवता पुज्दा अदुवा काट्दछन् जसलाई यारी वेङमा अर्थात् नेपालीमा काट्नु भनिन्छ। यसरी यारी वेङमामार्फत हेरिने जोखानालाई यारी खाङमा भनिन्छ। यारीमार्फत नै घरको देवता पुज्दै सब्बेफाब्बे, बालीनाली सपि्रयोस, अन्नको सह होस्, वस्तुभाउ सपि्रयोस्, फैलियोस्, आम्दानी होस् र परिवारमा सुख शान्ति छाओस् भनी माङ (देवता) साग आछापिछा लिइन्छ। यसरी नै गाउ र समाजको राम्रो नराम्रो के हुने हो ? त्यो पनि केलाईन्छ। यसैको सहयोगले आफू, आफ्नो परिवार गाउ समाजको रक्षा कसरी गर्ने हो ? उपाय पनि खुट्याइन्छ। वास्तवमै यो एक अनौठो संस्कृति हो।

आफ्नो भाषामा राई जातिले अदुवालाई बेछुक भन्दछन्। राई जातिका अनुसार वेछुक दुई प्रकारको हुन्छ, सुवि र होम्लोङ बेछुक। बढी पिरो र रेसादार हुने अदुवा सुवि अदुवा हो भने अर्को कम रेसादार र केही गुलियो स्वादको होम्लोङ अदुवा हो। अझ जङ्गलमा पाइने अदुवाजस्तै हुने सालुवीलाई पनि अदुवाको जातभित्र नै मानिन्छ तर प्रयोगमा भने सालुवी आउँदैन, आए पनि माङमा (देवता)मा चलाउन मिल्दैन। चुलोमा नजाने मृतात्माहरूलाई बाटो देखाउँदा मात्र प्रयोग हुन्छ। अघिल्ला सुवि र हाम्लोङ अदुवा भने सबै पूजामा प्रयोग गर्न सकिन्छ। थारु जातिमा अदुवा लाई विशेष पर्वसँग जोडेर हेरिन्छ।

रोप्ने तरिकासम्पादन

 
अदुवा

अदुवा खासगरी चैत्र/बैशाख महिनामा रोपिन्छ। यो खेती गर्नका लागि सामान्यतया पानी नजम्ने दुमट किसिमको माटो उपयुक्त हुन्छ। बारी जोतेर राम्रोसँग डल्ला फोरी माटोलाई बुर्बुर किसिमको बनाउनु पर्दछ। त्यसपछि ड्याङ खनेर त्यसमा कम्पोष्ट मल अथवा पचेको गोबरमल हाल्नु पर्दछ। त्यसको माथि अदुवाको पानालाई स-सानो टुक्रामा भाँचेर रोप्नु पर्दछ। यसरी टुक्रा भाँच्दा प्रत्येक टुक्रामा कम्तीमा एउटा टुसो पर्ने गरी सावधानीपूर्वक भाँच्नुपर्दछ। कम्पोष्ट मलमाथि अदुवाको बीउ राखिसकेपछि धुलो माटोले पुर्नु पर्दछ।झार आदिबाट जोगाउनका लागि सुकेको पतकर आदि ड्याङमा राख्न सकिन्छ। अदुवा रोपेको ठाउँमा उम्रेको झारलाई बराबर उखेलीरहनु पर्दछ। अदुवाको बिरूवा राम्रोसँग उम्रेपछि अघि रोपेको बीऊ झिक्नु पर्दछ। यसरी झिकिएको बीऊको टुक्रालाई माऊ र कतै बुढी पनि भन्दछन्। माऊ अदुवा सामान्य अदुवा सरह मसलाको रूपमा प्रयोग गर्न सकिने भएको हुँदा यो लोकप्रिय नगदेवाली हुन पुगेको हो। बजारमा पनि माऊ अदुवा राम्रो मूल्यमा बिक्री हुन्छ। माऊ झिकिसकेपछि अदुवालाई उकेरा अर्थात् माटो दिनु पर्दछ। चैत्र बैशाखमा रोपेको अदुवा कार्तिक/मंसीरमा खन्न सकिन्छ।

अदुवा खेतीको गोडमेल र सिँचाइ व्यवस्थापनसम्पादन

अदुवा बालीको उत्पादन राम्रोसँग लिन गोडमेल तथा सिँचाइको उपयुक्त व्यवस्थापन गर्नु पर्दछ । अदुवा कम्तीमा ३ पटक गोडाई कार्य गर्नु पर्दछ । पहिलो गोडाई कार्य रोपेको ३० देखि ३५ दिन पछि, दोस्रो गोडाई रोपेको ६० देखि ६५ दिनपछि र तेस्रो गोडाई अदुवा रोपेको ९० देखि ९५ दिन पछि गर्नु उपयुक्त हुन्छ । अदुवाको गानो ठूलो भएमा श्रावणदेखि भाद्र महिनामा पुरानो गानोको एक भाग निकालिन्छ, जसलाई ब्रुनी निकाल्ने भनिन्छ । अदुवालाई सुख्खा मौसममा रोपिने भएकोले गर्मी मौसममा सिँचाइको आवश्यकता पर्दछ । माटो सुख्खा देखिएमा पानी नजम्ने गरी आवश्कतानुसार सिँचाइ गर्नु पर्दछ । यदि सिँचाइको उपलब्धता छ भने गोडमेल गरी थप मल दिइसके पछि हल्का सिँचाइ दिनु पर्दछ । यसो गर्नाले माटोमा भएको खाद्यतत्व प्राप्त गर्न योग्य अवस्थामा पुयाउन सहयोग गर्दछ ।

अदुवा खेतीमा लाग्ने रोग कीरा र तिनको व्यवस्थापनसम्पादन

अदुवालाई माटो मुनी बस्ने मुख्य गरी खुमे्र कीरा र रातो कमिला, धमिरा आदिले नोक्सान गर्दछन् । यी कीराहरु देखिनासाथ गाई,भैंसी वा अन्य जनावरहरूको पिसाब सङ्कलन गरी ७ दिनसम्म कुहाएर १ भाग मूत्रमा ३ देखि ४ भाग पानीमा मिसाएर बोटको फेद वरिपरि माटो भिज्नेगरी छर्नु पर्दछ । माटोमुनी हानिकारक कीराहरु देखिने बित्तिकै डर्सवान वा मालाथियान धुलो नामका रासायनिक विषादीको झोल २ एम.एल. प्रतिलिटर पानी वा १ के.जि. प्रतिरोपनीका दरले बिरुवाको फेद वरिपरि माटोमा छर्नु पर्दछ ।)

यी पनि हेर्नुहोस्सम्पादन