अतृप्ति (उपन्यास) मन्जु विमलीद्वारा लेखिएको र पैरबि बुक हाउस प्रा.लि.ले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो । साहित्कार मन्जु विमलीको यो तेस्रो कृति हो । उपन्यास नारी मनोविज्ञानमा आधारित रहेको छ भने मानिस कमजोरी सहितको विषयवस्तु उपन्यासमा प्रस्तुत गरिएको छ ।

अतृप्ति (उपन्यास)
अतृप्ति (उपन्यास) को अधिल्लो आवरण पृष्ठ
लेखकमन्जु विमली
देश नेपाल
भाषानेपाली
संस्करणपहिलो
विषयउपन्यास
प्रकारनारी मनोविज्ञान
प्रकाशकपैरबि बुक हाउस प्रा.लि.
प्रकाशित मिति
विसं २०७८ भदौ १५ गते[]
पृष्ठ१७६ पृष्ठ

यो उपन्यास किशोरकालीन प्रेमभावबाट प्रारम्भ भएर युवा उमेरसम्म पुग्दा भइरहने फरक फरक आकर्षणका अनुभूतिहरूमा केन्द्रित छ । आफूले चाहेको र मनले मागेको माया नपाउँदा मानिस आँफै भित्र कसरी कुण्ठित हुन्छ भन्ने मनोदशालाई समेट्न खोजिएको छ । शरीरको विकास हुँदै जाँदा हुने विपरीत लिङ्गी आकर्षण र त्यसलाई व्यक्त गर्न नसक्दा उत्पन्न हुने मनोदशालाई समेट्न खोजिएको छ ।

उपन्यास ३ ओटा अध्याय र १३ ओटा उपअध्यायसहित १७३ पृष्ठसम्मको आयाममा विस्तारित छ । लेखकीयसम्मको पृष्ठलाई नगन्ने हो भने उपन्यासको कथावस्तुले १६४ पृष्ठ ओगटेको छ ।

पहिलो अध्याय

उपन्यासको कथावस्तु माध्यमिक तहमा भर्खरै प्रवेश गरेकी इन्दिराको पढाइजन्य स्वभावबाट आरम्भ भएको छ । ऊ पढाइमा अब्बल नभए पनि रुचि भएकी केटी हो । केही समयपछि उसको कक्षामा किरण नामक नयाँ विद्यार्थीको प्रवेश हुन्छ । निकट भए पनि समकक्षी रीताको जातीय सङ्कीर्णता इन्दिरालाई मन पर्दैन । उसको त्यो सङ्कीर्णताले इन्दिरालाई बाल्यकालमा छिमेकीकहाँ ठूलो खसीको मासु खाएकोमा दिदीले पिटेको सम्झना हुन्छ । सहपाठी हुँदै जाँदा किरणको बहुमुखी प्रतिभाबाट इन्दिरा र रीता दुबै प्रभावित हुन्छन् । आफ्नो सदनमा नपरेको किरणले एकदिन रीतालाई नराम्री र आफूलाई राम्री भनेपछि इन्दिरामा खुसीजन्य लज्जा बढ्छ । इन्दिराको मनभरि प्रणयका पुष्पहरू कोपिलाउन थाले पनि किरणले बाटामा पर्खिने गरेको हल्ला रीताले नै चलाएको कुरा दिदीबाट सुनेपछि इन्दिराभित्र जलन पैदा हुन्छ । किरणले कुनै गोप्य विद्यार्थी सङ्गठनको टिकट दिन खोज्दा नमानेकी इन्दिरालाई उसको गरिबीमाथि साथीहरूले खिसीटिउरी गरेको भने मन पर्दैन । यत्तिकैमा ललिताको बिहेको प्रसङ्ग आउँछ[]

उसको गम्भीरता र दुलहाको सम्पन्नताबाट प्रभावित भएकी इन्दिराको बिहेबाट फर्किँदा पछि लागेको किरणको कुरालाई लिएर दिदी र आमाबाट उठेको नकारात्मक कुराले मन पोल्छ । तैपनि त्यसपछि नोटकापीरू साटासाट हुनु र आमाको आडमा दुधदहीहरूसमेत किरणको कोठामा पुर्याउन पाउनु इन्दिराको सौभाग्य जस्तै हुन थाल्छ । दाजु रमेशसँग घरमा आइजाइ गरिरहने किरणको निलो सर्ट र कालो पाइन्टमा मन बस्न थाले पनि पार्टी गतिविधिका कारण इन्दिरालाई किरण रहस्यमयी लाग्छ । दस कक्षाको पढाइ सकिएको समयमा एकदिन इन्दिराले किरणसामु प्रणयको गाँठो फुकाउँछे । उसका भावनाहरूको कदर गर्दै किरणले आफूहरूका कर्तव्य पनि सम्झाउँछ ।

आमासँगै मन दुःखाइरहेकी दिदी करुणालाई शिक्षण अभ्यास र एसएलसी परीक्षाका बेला हुने गरेको इन्दिरा र किरणको हेलमेल मन पर्दैन । अन्ततः एसएलसीको नतिजा पनि राम्रो आउँदैन । तर पास भएको किरण भने एकदिन इन्दिरालाई भेट्न घरमै आउँछ । उसले बिदा मागेर नफर्की गएपछि इन्दिराका आँखा सजल हुन्छन् । जति नै चोखो मायाको कल्पनामा डुबेको भए पनि त्यसपछि ऊसँगको भेट पातलिन्छ । गणितको ट्युसन पढी पुनः उत्तीर्ण भएपछि इन्दिराहरू पनि गाउँलेहरूको लाममा तीन दिन लगाएर पाथीभरा माताकहाँ भाकल बुझाउन जान्छन् । फर्किँदा ओलाङचुङगोलातिर शिक्षक भएको किरणसँग इन्दिराको अनायासै भेट हुन्छ । तर त्यो भेट इन्दिराको जीवनमा अकल्पनीय हुन्छ । उसले माया मारे झैँ लागेपछि इन्दिरा निराश हुन्छे । घरमा बिहेको कुरा चले पनि बुबासँग आमाले गरेको सङ्घर्षका कारण इन्दिरा र करुणा काठमाडौँ पढ्न जान पाउँछन् । नयाँ ठाउँमा जान पाउँदा खुसी लागे पनि गाउँघरबाट टाढिनुपर्दा उनीहरूलाई असाध्यै दुःख लाग्छ । यहीँ आएर उपन्यासको पहिलो अध्याय टुङ्गिन्छ ।

दोस्रो अध्यय

पद्मकन्याको बिहानी सत्रमा भर्ना भएकी इन्दिरा र कानुन कलेजमा भर्ना भएकी करुणाको दिनचर्या दाजु रमेशको फराकिलो सोचका कारण राम्रोसँग बित्दै जान्छ । पुस्तक पसलमा काम गर्दा कसैले मोबाइलमा कुराकानी गरेको देखेर छक्क परेकी इन्दिराको कलेजकी साथी शशी निकै गफी र चतुर हुन्छे । सधैँ शृङ्गारमा सहयोग गर्ने शशीलाई पाएर इन्दिरालाई उसका केही कमजोरीबाहेक खुसी नै लाग्न थाल्छ । उमेर मिल्दो कुनै पुरुषलाई देख्दा किरणको याद भने उसलाई आइरहन्छ । चार हजार छात्राहरू पढ्ने उक्त कलेज विद्यार्थी सङ्गठनहरूको कार्यक्रमले प्रभावित भइरहेको देख्दा इन्दिरा छक्क परेकी हुन्छे । समय बित्दै जाँदा दसैँतिहारको बिदा हुन्छ । घर हिँड्नुको अघिल्लो दिन इन्दिरालाई शशीले आफ्नो घरमा लिएर बलात्कार गरे झैँ गर्छे । यो घटनाले आश्चर्य मिश्रित डर बढ्दा आठ वर्षकी छँदा एकपल्ट मितिनीबाट पनि त्यस्तै भएको सम्झिँदै इन्दिराले किरणलाई सम्झेरसमेत अचम्म मान्छे । विस्तारै समयले इन्दिरालाई पनि अरूको कोठामा गएर बिहीबार आउने महाभारतको सिरियल हेर्ने बनाउँछ । सोही क्रममा निशान नाम गरेको किरण जस्तै व्यक्तिसँग उसको हेलमेल हुन थाल्छ । उसको निलो सर्ट र कालो पाइन्टले मनमा जति नै हलचल मच्चिए पनि इन्दिराले उसको प्रेमको आग्रहलाई सजिलै स्वीकार्दिन । ऊसँगको सम्बन्ध करुणालाई पटक्कै मन पर्दैन । रमेशले डेरा अन्तै सारिदिएपछि इन्दिरालाई भित्र कतै पछुतो भने लागिरहन्छ ।

त्यसपछि शशीसित उसको भेट हुँदैन । दोस्रो वर्षको दसैँमा घर फर्किँदा उनीहरूलाई ग्रामीण सुन्दरता, आफूहरूको अध्ययन र मातापिताको स्नेहको गर्व लाग्छ । घरमा पुगेपछि आमाले राखिदिएको चिठी करुणा हुँदै इन्दिराको हातमा आइपुग्छ । चिठीमा किरणले विवाहका लागि अन्तिम निर्णय पर्खिबसेको कुरा उल्लेख गरेको हुन्छ । यसबाट मर्माहत बनेकी इन्दिरालाई करुणाले गाली गरेपछि दुबै बहिनी अँगालोमा बेरिएर रुन्छन् । त्यही दसैँमा पिताजीको स्नेह सदाका लागि गुमाएका उनीहरू भावुक हुँदै काठमाडौँ फर्किन्छन् । डेरा र कलेजको दुरवस्थाका बिचबाटै बी.ए.प्रथम वर्षको जाँच दिएकी इन्दिराले होजियारी कम्पनीमा कामसमेत थाल्छे । त्यसपछि ऊ अर्को काममा लाग्छे । गार्मेन्ट कम्पनीको उक्त जागिरमा धेरैजसो हिन्दीभाषी हुन्छन् । जागिर र पढाइको व्यस्तताबिच झन् कम्पनी सरेपछि नगएकी इन्दिरालाई मालिकले नै आफ्नो गाडीमा लगिदिन थाल्छ । उसलाई गीता दिदीको मान्छे भनेर कसैले पनि केही भन्न सक्दैनन् । तैपनि मोनिका चाहिँ अलि बढी कुरा गर्छे । मालिकको निलो सर्टले आउने निशानको सम्झना, मालिकले दिएको सुविधा र नमिता सुनिता हत्याकाण्ड मनमा आए पनि उसको व्यवहारले ढुक्क भएकी इन्दिराले करुणालाई पनि त्यहीँ जागिर लगाइदिन्छे । फेरि पुरानैै ठाउँमा डेरा सर्दा, निलो सर्टवाला प्रेमले मोनिकालाई माया गरेको देख्दा र सार्वजनिक यातायातमा पुरुषहरूको दुव्र्यवहार भोग्दासमेत इन्दिराले निशानलाई सम्झिरहन्छे । यसै बेला बेवारिसे छोरी पाएर पनि कहिल्यै नभनेकी साथी सुनिता र रमेशको साथी हङकङे लाहुरेबिच आश्चर्यजनक ढङ्गले विवाह हुन्छ । छिट्टै आपसी विश्वासमा बाँधिएका उनीहरूको जीवन दुर्घटनामा नपरोस् भनेर करुणाले धेरै कुरा ओकलेपछि आफ्नो अतीत कोट्याउँदै आँखाभरि आँसु बनाएर सुनिताकी छोरीलाई समेत आफूले स्वीकार्ने कुरा गर्ने लाहुरेप्रति उनीहरूमा श्रध्दाभाव जाग्छ । आफूहरू (किराँतीहरू) सङ्कुचित हुँदैनौँ भन्ने त्यो लाहुरे र सुनिताको व्यवहारले इन्दिराको मनमा किरण र निशान आइरहन्छन् । यी सबै कुरा उनीहरूले दाइ र अर्को लाहुरे मिटिङबाट आएपछि सुनाउँछन् । त्यत्तिकैमा मालिकले नयाँ मेसिन ल्याउँछ । त्यसपछि केही थाई केटी र भारतीय मूलका केटाहरूसँग काम गर्दागर्दै इन्दिराको अङ्ग्रेजी पनि राम्रो हुन्छ । जागिरमा विश्वास कमाएकी उसले एकदिन मालिकसँग कुरा गरेर दिदीलाई पनि आफूकहाँ काम गर्ने बनाउँछे ।

६ महिनापछि स्वदेश फर्किन लागेका थाई केटीहरूसँग विमानस्थलसम्म पुगेर इन्दिराहरूले मायाको चिनो साटासाट गर्छन् । त्यसपछि बी.ए. प्रथम वर्षको परीक्षा आउँछ । इन्दिराले शशी र किरणभन्दा बेसी निशानलाई सम्झिन्छे । संसदीय निर्वाचन हेर्न जाँदा भेटिएर कोठासम्म आएको निशानप्रति करुणामा आक्रोश उत्पन्न भए पनि इन्दिरामा प्रेमभाव जाग्छ । फलस्वरूप कसैको नाममा मतदान गर्न निस्किएकी इन्दिरा र निशान बाटैमा तनमनले पग्लिएर एकाकार हुन्छन् । आफ्नो उमेद पूरा भएपछि नफर्किएरै बाटो लागेको निशानलाई सम्झिएर इन्दिरा सजल हुन्छे । उता आफूहरूसँग केही नभनी अहोरात्र पार्टीको काम गर्ने दाजु रमेशलाई पनि चुनाव लागेर गाउँ गएको हुन्छ । विगतलाई बिर्सँदै काममा लागेकी इन्दिराको रिजल्टमा नाम नदेखिएपछि रन्थनिदै बाटामा हिँड्दा अचानक निशानसँग भेट हुन्छ । ऊसँग त्यस दिन आफ्नै भावनात्मक सहमतिमा भोगिएकी इन्दिरालाई निशानले एकदिन अपमान गरेर जान्छ । कम्पनी बन्द भएपछि त्यत्तिकै बसिरहेकी इन्दिरा जीवनमा आएका निरर्थक र भ्रामक प्रेम अनि त्यसका कुपात्रहरूबाट गहन पाठ सिकी अघि बढ्ने सोचमा पर्छे । तर सोचेर मात्र के गर्नु ! ट्युसन जाँदा निलो सर्टमा देखिएको सुदिपसँग फेरि पनि इन्दिराको मन बस्छ । ऊसँग एकदिन आँगन रेस्टुराँमा बसेर मन साटासाट गरेपछि सुदिपले बिहेको कुरा गर्छ । तत्कालै प्रतिक्रिया नदिए पनि सुदिपको कुरा इन्दिराको मनभरि सल्बलाइरहन्छ । यही बिन्दुमा पुगेर दोस्रो अध्याय सकिन्छ ।

तेस्रो अध्ययअध्यय

समयक्रममा इन्दिरा एउटा निजी विद्यालयमा पढाउन थाल्छे । शशीलगायत आफ्ना पुराना प्रेमीहरूलाई सम्झिन्छे । शिक्षक अरुणको व्यक्तित्वबाट प्रभावित भइरहेकी इन्दिरालाई एकदिन सन्चो नहुँदा उसैले कोठासम्म पु¥याइदिन्छ । कोठामा सुदिपको चिठी आएको हुन्छ । दिदी रिसाएकी हुन्छे । चिठीमा उसले विवाहका लागि कुरेको कुरा व्यक्त गरेको देख्दा आफू त्यो हदसम्म नपुगेकाले इन्दिराले तनाव महसुस गर्छे । विस्तारै अरुणसँग आकर्षित भइरहेकी इन्दिरालाई एकदिन प्रिन्सिपलका दुई जनाले घरमै बोलाएर अरुणसँग विवाहको प्रस्ताव राख्छन् । मन परेकै भए पनि अभिभावकहरूको थाप्लामा हालेर त्यस दिन उम्किएकी उसलाई हप्ता दिन बितिसक्दा पनि अरुणहरूले कुरा ननिकाल्दा पीडाको महसुस हुन्छ । अरुणमा सबै कुरा आफैँ मिलाएर आफूलाई लिने हुती नभएकोमा इन्दिरालाई दुःख लाग्छ । प्रिन्सिपल र दाजु लागेर बिहेको कुरा टुङ्ग्याएपछि त्यसपालिको दसैँ उनीहरूका लागि ज्यादै कारुणिक हुन्छ । बिहेको अघिल्लो दिन आएको सुदिपले उपहार दिएर जाँदा स्थिति थप भावुक भइदिन्छ । करुणाले पनि इन्दिरालाई आफूसँग कहिल्यै मन नखोलेको गुनासो गरेबाट उसको भित्री मन जहिल्यै कोमल भएको थाहा हुन्छ । जन्मघर छोडेर पराइघर जानुपर्दा इन्दिरा ज्यादै भावुक हुन्छे । उसलाई बिहेका लागि चितवन लगिन्छ । हिन्दु संस्कारअनुसार अरुणको घरमा भित्रिएकी इन्दिरालाई अरुणको व्यवहारले भने दुखी तुल्याउन थाल्छ ।

जानीनजानी बुहारीको कर्तव्य पूरा गरे पनि लोग्नेलाई लोग्नेकै रूपमा भोग्न नपाएकी इन्दिरालाई काठमाडौँमा प्रिन्सिपलका दुई जनाले स्वागत गर्छन् । तर त्यस रात पनि लोग्नेकोे अँगालो नपाएपछि इन्दिरा झन् तनावमा पर्न थाल्छे । आमाकहाँ जानका लागि सामान किन्न जाँदा देखिएका ठाउँहरूले इन्दिराको मनमा सुदिप र निशानको सम्झना आउँछ । लोग्नेप्रति जति नै धेरै आशङ्का र पिर भए पनि आमा र दिदीसँग उसले केही भन्दिन । आफ्ना पूर्व सम्बन्धहरू थाहा पाएर त लोग्नेले यस्तो गरिरहेको छैन भन्ने इन्दिराको मनमा आशङ्कासमेत जाग्छ । तर माइतबाट फर्किएको रात एकाएक अरुणमा पुरुष स्वभाव देखेपछि इन्दिराको मन हर्षले ढलीमली हुन्छ । परीक्षापछिको बिदामा केही समय चितवनमा बिताएर काठमाडौँ फर्किएको दुई महिनापछि आफू गर्भवती भएको आनन्द इन्दिराले महसुस गर्छे । सुत्केरी हुँदा खप्नु परेको पीडा र अस्पतालको अवस्था छिचोलेर नवजात शिशुसहित फर्किँदै गर्दा उसको शशीसित भेट हुन्छ । एकदिन बच्चालाई हेरेर भावुक हुँदै आफ्नो पूर्व पत्नी बबिताले ५ वर्षअघि छोरो जन्माएर दुबैको निधन भएको कुरा अरुणले सुनाएपछि धेरै रहस्यहरू इन्दिरालाई थाहा हुन्छ । आफूलाई पहिलोपल्ट माइत पुर्याएर फर्की सारा ठाउँ पुगेर रोइरहेकोमा साँझपख ‘खुब मन पखाल्यौ अब जाऊ’ भन्ने आवाज कतैबाट आएको र सपनामा पनि इन्दिरा मै हुँ भनेपछि माया गर्न थालेको कुरा इन्दिाले अरुणबाट सुनेपछि आश्चर्य मान्छे । त्यत्तिकैमा अधिकृत भइसकेकी शशी एकदिन आपैm कार चलाएर भेट्न आउँछे । गर्भवती शशीसँग त्यसै दिन मन खोलेर कुरा हुँदा ऊ शरीरले महिला भए पनि मनले पुरुष भएकै कारणले अतीतमा आपूmमाथि ज्यादती गरेकी रहिछ भन्ने कुरा इन्दिरालाई थाहा हुन्छ । त्यसपछि छुट्टिएर गएकी शशीलाई छोरी जन्माएपछि ऊ भेट्न जान्छे । एकदिन झन्डै वर्ष दिनको छोरो बोकेर माइत हिँडेकी इन्दिराको अचानक सुदिपसँग भेट हुन्छ । निलो सर्ट र ज्याकेटमा भेटिएको ऊसँग पुनः आँगन रेस्टुराँमा भलाकुसारी हुन्छ । उसले आँखाभरि आँसु पारी आफू अविवाहित नै रहेको कुरा सुनाउँदा इन्दिराको मन पग्लिन्छ । समय बित्दै जाँदा अधिकृत भइसकेको अरुण र पढाउँदै गरेकी इन्दिरासँग एकदिन अचानक भेट हुँदा निशानले निकै असभ्य शैलीमा अरुणको अगाडि शङ्का उब्जाउन खोजेर जान्छ । तर पनि अरुणले कुनै कुभावना लिँदैन । निःसन्तान मोनिकासँग भेट हुँदा छक्क परेकी इन्दिरालाई जनयुध्द समाप्तिको घोषणापछि दाजु ठुलो नेता भएको र करुणा पनि महिला सङ्गठनमा काम गर्न थालेको खुसी भए पनि घर देखाउन नपाउँदै आमाको निधन भएको कुराले दुःख लाग्छ । केही समयपछि बिरामी सासू काठमाडौँमा निको नभएपछि उनीहरूले पुनः चितवन नै लान्छन् ।

भरतपुर क्यान्सर हस्पिटलमा सासूआमालाई कुर्दा अनेक उमेर अवस्थाका क्यान्सर रोगी र तिनका आफन्तहरूको मनोवैज्ञानिक पीडा इन्दिराले देख्छे । त्यसै बिचमा आआफ्ना बिरामीलाई छोडेर कुनै नारीपुरुषले बिहे गरी भागेको उसले सुन्छे । उसलाई त्यति बेला किरण, सुदिप र निशानका सम्झनाहरू पनि आइरहन्छन् । अचानक एकदिन अस्पतालको गेटनिर घाँटीको क्यान्सरले अशक्त भएको किरणसँग इन्दिराको भेट हुन्छ । भावुक भएकी इन्दिरालाई त्यस रात निद्रा लाग्दैन । उसलाई कसरी सहयोग गर्न सकिन्छ भनी ऊ सोचमग्न हुन्छे । भोलिपल्ट आफूलाई जीवनभरि झल्को लगाउने निलो रङको कपडाको पोको हातमा थमाएर इन्दिरा फर्किएपछि किरण निकै बेर कोठामा पसी रोइरहन्छ । त्यहाँको बसाइले जीवनको अनित्यताबारे बोध गरेकी इन्दिरालाई सासूको उपचारमा लोभ लाग्न छोड्छ । बरु आफ्नो लोग्नेलाई अबदेखि निलो सर्ट कहिल्यै नलगाउनू भन्दै उसको सर्ट धरधरी च्यातिदिन्छे । त्यो देखेर अरुण अलमल्ल पर्छ । यत्तिकैमा उपन्यासको कथावस्तु सकिन्छ ।

यस उपन्यासमा बिमलीले भाषिक उपकरणहरूको प्रयोग विशिष्ट ढङ्गले गरेकी छन् । वृत्ताकारीय नभएर रैखिक ढाँचामा अघि बढेको कथावस्तुमा वाक्यहरू पनि अत्यन्त सरल र प्राञ्जल छन् । सुबोध्य तद्भव शब्दको बाहुल्य, छरिता वाक्य र पात्रानुकूल कथ्य भाषाको प्रयोगले उपन्यासको भाषाशैली निकै आकर्षक बनेको छ । नवीनता र प्रखयॅगका नाममा वर्तमानमा भाषालाई भाँचभुँच पार्ने जुन शैली यदाकदा देखिन्छ, त्यो यो उपन्यासमा पाइँदैन । किराँतहरूले बोल्ने नेपाली र हिन्दी भाषी समुदायले बोल्ने नेपाली भाषाको रोचक प्रयोग उपन्यासमा पाउन सकिन्छ । त्यति मात्र नभएर सन्दर्भवश हिन्दी र अङ्ग्रेजी वाक्यहरूको प्रयोग पनि उपन्यासमा पाइन्छ । तैपनि तिनले रसास्वादनमा अवरोध नभई सहयोगीको काम नै गरेका छन् ।

भाषाशैलीको कुरा गर्दा यति कुरा नभन्दा अन्याय हुन्छ कि प्रसङ्गअनुकूल उपन्यासमा उखान टुक्का, बिम्बप्रतीक आदिको बडो कलात्मक प्रयोग भएको छ ।

उपन्यासमा प्रयोग भएको उखान टुक्काहरु
  • “…दिदी त अघि नै ‘जसले आगो खान्छ उसैले कालो हग्छ’ भन्दैै बौलाएर बाहिर निस्किसकेकी थिई ।” (बिमली, २०७८ : ६६)
  • “…किरणलाई देखेर उसको मुख चुक घोप्ट्याएको जस्तो भो ।”

(बिमली, २०७८ : ३४


  • “इन्दिरालाई भित्र मनको सपनाको कुनै घुर्मैलो जून स्वाट्टै अस्ताए जस्तो, लट्टाईबाट चङ्गा चुँडिएर बादलमा बिलाए जस्तो, इन्द्रेणीको एउटा रङ हेर्दाहेर्दै हराए जस्तो के के जस्तो लागिरह्यो । आँखालाई दुइटा हत्केलाभित्र निकै बेर थुनेर राखी ।”

(बिमली, २०७८ : १३९)

  • “मान्छेको मन र अमिबा उस्तै उस्तै हुन् । छिन छिन रूप फेरिरहने ।”

(बिमली, २०७८ : ६२)

यसरी केही चर्चा र सन्दर्भहरूका आधारमा ‘अतृप्ति’ उपन्यासको भाषाशैली अत्यन्त सरल, कलात्मक, सान्दर्भिक, सटीक, उखानटुक्का तथा बिम्बप्रतीक युक्त र आवश्यकताअनुकूल कथ्य र मिश्रित खालको समेत रहेको स्पष्ट हुन्छ ।

पुस्तक विमोचन

सम्पादन गर्नुहोस्

साहित्कार मन्जु विमलीको तेस्रो कृतिका रुपमा उपन्यास ‘अतृप्ति’ विसं २०७८ भदौ १५ गते विमोचन भएको थियो । कपन आकाशेधारास्थित आफ्नै घरम ९१ वर्षीय आमा राममाया विमलीको हातबाट अतृप्ति लोकार्पण गरिएको थियो । कार्यक्रममा कृतिका प्रकाशक पैरवी बुक हाउस प्रालिका अध्यक्ष, परिवारका सदस्यहरू र साहित्यकार कृष्ण धराबासीको उपस्थिति रहेको थियो ।

यस झरेको पात (उपन्यास) उज्यालो रेडियो एफएममा समेत वाचन भएको थियो। उज्यालो एफएममा हरेक हप्ताको मंगलबार र शुक्रबार प्रसारण हुने श्रुति संवेग नामक कार्यक्रममा कृति वाचन कार्यक्रमममा अच्युत घिमिरेद्वारा यस उपन्यास वाचन भएको थियोे । उक्त कार्यक्रममा यस उपन्यसका कुल १४ पूर्ण श्रृङ्खलाहरूमा वाचन भएको थियो ।

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. "विमलीको अतृप्तिको विमोचन", khulamancha, अन्तिम पहुँच विसं २०७८ भदौ १५ गते ७:१०  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०७-०२ मिति
  2. "औपन्यासिक तत्त्वहरूका आँखामा ‘अतृप्ति’", harekpalnews, अन्तिम पहुँच विसं २०७८ भदौ १५ गते ७:१०  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०७-०२ मिति

बाह्य कडीहरु

सम्पादन गर्नुहोस्