नेपालका बहुप्रशंसित नृवंश र समाज-मानवशास्त्री डोरबहादुर विष्ट द्वारा रचित र विक्रमीय २०३०को दशकमा छापिएको औपन्यासिक कृति

सोतालाको शाब्दिक अर्थ हुन्छ : तिब्बती मूलका स्त्रीहरूको नेपाली लोग्ने, जो व्यापारका सिलसिलामा ल्हासा पुगेको र त्यहाँका भोटेनीहरूसँग विवाह बन्धनमा बाँधिएको हुन्छ|विष्ट केही समय तिब्बतको राजधानी ल्हासामा नेपाल सरकारको महावाणिज्य दूतका हैसियतले कार्यरत थिए । त्यतिबेलाको आफ्नो अनुभव, अध्ययन र तिब्बती समाजप्रतिको अन्तरदृष्टिलाई समेटेर उनले रचना गरेका उपन्यासको कथावस्तु त्यस्तै नेपाली व्यापारी, तिनका भोटेनी पत्नीहरू र तिनका व्यापारकि क्रियाकलापबाट विकसित भएको छ| दुई पृथक् सांस्कृतिक पहिचानका बीच भएको सम्बन्धमा उत्पन्न हुने जटिलताहरू लाई छुने प्रयत्न विष्टले उपन्यासमा गरेका छन्| विषयवस्तुको मौलिकता र पृष्ठभूमिको आञ्चलिकताका दृष्टिले तिब्बतमा व्यापारको सिलसिलामा पुगेको र त्यहाँको जनजीवनको अभिन्न अङ्ग बनेको नेपाली वणिक समुदायमा केन्दि्रत सोताला सम्भवतः पहिलो र अहिलेसम्मको एक मात्र उपन्यास हो|

सोतालाको आकर्षण के हो भने यो आख्यान पूरै आञ्चलिक रंगमा सरोबर भएको छ । उपन्यासकारले काठमाडौँ उपत्यकाका नेवारहरूको सम्पन्न सांस्कृतिक जीवनको झाँकीका साथसाथै तिब्बतका भोटेहरूको जीवनशैलीलाई पनि जीवन्त रूपमा प्रस्तुत गर्ने प्रयत्न गरेका छन्| काठमाडौँ सहरको भित्री भाग जैसीदेवलमा हुर्केको नायक सानुमान, उसकी पे्रमिका नानीथँकु, उसको निमुखाजस्तो लाग्ने बाबु, सोझी आमा र साथीसंगाती सबै वास्तविक लाग्ने गरी उभारमा आएका छन्। यी पात्रहरू सबै जीवन्त छन् र तिनले काठमाडौँको तत्कालीन समाजको इच्छा र आकांक्षाको प्रतिनिधित्व गर्छन्। उपन्यासमा डोरबहादुर विष्टले कम्युनिस्ट चीनको अतिक्रमणभन्दा पहिलेको दलाई लामा राज अन्तर्गतको तिब्बती समाजको चित्रण गरेका छन्। त्यतिबेलाको तिब्बती समाजमा मौजुद रुढीवाद, अन्धविश्वास, लामाहरूप्रतिको अन्धभक्ति, सामन्ती संस्कार र समाजमा व्याप्त शोषणका विविध रूपको छनक पनि उपन्यासमा दिइएको छ। उपन्यासमा चीनले तिब्बतमाथि गर्नलागेको अतिक्रमणको भने कुनै संकेतसम्म छैन|

सोताला एउटा आञ्चलिक उपन्यास त हो नै, साथसाथै यो एउटा 'पिरयिड' आख्यान पनि हो । उपन्यासले नेपालको राणाकाल र तिब्बतको दलाई लामा राजको कथा भन्ने प्रयत्न गरेको छ । यसमा हिमालय पर्वत शृंखलाको उत्तर र दक्षिण दुवैतिरको त्यतिबेलाको राजनीतिक, सामाजिक र आर्थिक परिस्थतिहरूको चित्रण गर्ने प्रयत्न पनि भएको छ। जीविकोपार्जका लागि अग्ला-अग्ला हिमाली पहाड र चिसा भन्ज्याङ पार गरेर तिब्बतको अर्धमरूप्रदेशको लामो र कष्टप्रद यात्रा पूरा गरी सुनको सहर ल्हासा पुग्ने साहसी व्यापारीहरूको व्यथाकथा पनि हो यो। यस उपन्यासमा ल्हासाको चिसो हावासँग लाप्पा खेल्दाखेल्दै माटो बिसाउने अभागी नेपाली व्यापारीहरूको कथा पनि जोडिएको छ।सानुमानले तिब्बतमा व्यापार गरेर सम्पन्न बन्न खोज्ने काठमाडौँ उपत्यकाका नेवार वणिक समुदायको प्रतिनिधित्व गरेको छ भने प्रकाशले निश्चित पहिचान नभएको ठिमाहा भोटे-नेवार समुदायको कुण्ठाग्रस्त पुस्ताको । डोरबहादुर विष्टले तिब्बतमा व्यापार गर्ने नेपाली साहूका भोटेनी पत्नीहरूको अधिकार विमुखताको पनि बढो मार्मिक चित्रण गरेका छन्। नेपाली साहू वा सोतालाको तिब्बतमै मृत्यु भयो भने उसको सम्पत्तिबाट एकरत्ति पनि उसकी भोटेनी पत्नी र उसका केटाकेटीले नपाउने अमानवीय र अन्यायपूर्ण कानुनी व्यवस्थाको उल्लेख गरेर सोतालाका लेखकले यसमा सुधार हुनुपर्नेतर्फ सङ्केत गरेका छन्।

उपन्यासमा नायक सानुमानको छोरो प्रकाशका माध्यमबाट राणाशाहीविरुद्ध नेपाली जनताले भारतबाट सुरु गरेको विद्रोहको झलक पनि देखाउन खोजिएको छ । सोताला एउटा पे्रमकथा पनि हो। नायक सानुमान र ल्हासाको एउटा प्रभावशाली सामन्तकी रखौटी झम्पा रानीका बीच विकसित प्रेम एकदिन मिलनमा परिणत त हुन्छ तर त्यो फेर विछोडिन्छ पनि। सानुमान र झम्पा रानीको पहिलो भेट भएको प्रसँग पढ्दा नै पाठकलाई यी दुईका बीच प्रेम हुन्छ र एक न एकदिन यिनीहरूको मिलन हुन्छ भन्ने लाग्छ। उपन्यासमा नाटकीय र अविश्वसनीय प्रसंगहरू पनि धेरै छन् । सोताला सानुमानको व्यापारकि सफलता र उसलाई सहयोग गर्नेहरूको व्यवहारमा वस्तुपरकता पाइँदैन । कथावस्तुलाई अगाडि बढाउन लेखकले अति काल्पनिक र नाटकीय घटनाक्रमको सहारा लिएको देखिन्छ|