वीणा हाङ्खिम (सुब्बा) सन् १९५२ फेब्रुअरी १४मा सिङ्गला, दार्जीलिङमा जन्मिएकी नेपाली कवयित्री हुन्।

नर्थ बङ्गाल युनिभर्सिटीबाट एम.ए. उत्तीर्ण सुब्बा दार्जीलिङस्थित सन्त तेरेजा उच्चतर कन्या विद्यालयमा नेपाली विषय पढाउँछिन्। नेपाली साहित्य सम्मेलन, दार्जीलिङकी उपाध्यक्षसमेत रहेकी सुब्बा उच्च माध्यमिक तहको पाठ्यक्रम निर्माण समितिकी सदस्य हुन्। यसका अतिरिक्त उनी भारतीय नेपाली नारी साहित्यिक मञ्च 'वसुधा' तथा गोर्खा दुःख निवारक सम्मेलनकी सदस्य पनि हुन्। पेसाले शिक्षिका भए पनि साहित्य साधनामा लागेकी सुब्बालाई नेपालको काभ्रेको जनमत प्रकाशनले 'केवलपुरे' जनमत सम्मान'बाट सम्मानित गरेको छ।

उनले सन् १९८६ देखि लेख्न थालेकी हुन्। सन् १९७१मा 'शिशिर' शीर्षकको पहिलो कविता पत्रिका प्रकाशित भयो। गुरुआमा लख्खीदेवी सुन्दासबाट प्रेरित सुब्बाका सयौं लेख-रचना प्रकाशित छन्। कृतिका रूपमा 'भावानुभाव' र 'अन्तर समयान्तर' गरी दुई कविता सङ्ग्रह प्रकाशित छन्।