विवाह संस्कार

परिभाषासम्पादन

स्त्री र पुरुषका बीचमा पतिपत्नीको सम्बन्ध कायम गराउने धार्मिक वा सामाजिक कर्मलाई विवाह वा बिहे भनिन्छ । आजभोली त समलिङ्गी, उभयलिङ्गी आदि अनेक थरी विवाहले पनि विवाहको मान्यता पाउन थालेका छन् ।

प्रचलनसम्पादन

विवाहको प्रचलन कहिलेदेखि शुरु भयो यकीन छैन । पुराणहरुका अनुसार मैथुन–सृष्टिको आरम्भ दक्षप्रजापतिका पालादेखि शुरु भएको हो । यसैले दक्षप्रजापति र विरणीका बीच भएको विवाह नै मैथुन मार्फत सन्तान जन्माउनका लागि गरिएको पहिलो विवाह थियो भनिएको छ ।

उद्देश्यसम्पादन

पूर्वीय दर्शनले विवाहलाई सृष्टिक्रम अघि बढाउन स्त्री र पुरुषका बीचमा हुने आत्मनियन्त्रित र मर्यादित सम्झौता मान्दछ । आधुनिक समाजले यसलाई जीवन बिताउने सम्झौता मात्र मान्न थालेको छ । यसैले गर्दा विश्वभरका वैवाहिक जीवनहरू अत्यन्त विवादास्पद हुन थालेका छन् । विश्वभरका मानव पचास प्रतिशत आफ्नो पन त्याग गर्दै पचास प्रतिशत विपरीत लिङ्गीको पन अङ्गिकार गरी गाँसिएको नयाँ वैधानिक सम्बन्धलाई विवाह भन्ने गर्दछन् । यसको अंग्रेजी नाम Marriage हो । अरु धर्मका बेग्लै विचार भएपनि प्राचीन वैदिक सनातन धर्मले भने विवाहलाई एउटा संस्कारका रूपमा लिने गरेको छ । प्राचीन कालमा अठचालीस वटा संस्कार भित्र र आधुनिक कालमा सोह्र वटा संस्कार भित्र विवाह संस्कारलाई लिने गरिन्छ । संस्कारको अर्थ परिष्कार गर्नु हो । वैदिक मन्त्रको प्रयोग गरी शुद्ध, संयमित र शक्तिशाली बनाइने हुनाले विवाहलाई पनि संस्कार भनिएको हो । अध्ययन सकेपछि आफूभन्दा अघिल्लो पुस्ता र आफूभन्दा पछिल्लो पुस्ताको पुलको भूमिका कसरी निर्वाह गर्ने भन्ने कुरा विवाह संस्कारले सिकाउँदछ ।

विधिहरूसम्पादन

आआफ्ना धर्म, जात र भूगोल अनुसार विवाहका विधि फरक फरक हुन्छन् । पूर्वीय वैदिक दर्शनमा विवाहका आठ वटा विधिहरू बताइएका छन् र विश्वभर प्रचलनमा रहेका विवाहका विधिहरू प्रायः यिनै आठ वटा विधि भित्रका विधि हुने गर्दछन् । संक्षेपमा यी आठ वटा विवाहका विधिहरू यस्ता रहेका छन् :–

  1. विद्वान र सदाचारी युवकलाई आदरपूर्वक निमन्त्रणा गरी आफ्नी कन्याको वरको रुपमा स्वीकार्दै वस्त्र र आभूषणले सिँगारिएकी कन्या ससम्मान समर्पित गर्नु ब्राह्म विवाह हो । मागी विवाह भनिने नेपालीको विवाह विधि यसैविधि अन्तर्गत पर्दछ ।
  2. यज्ञ गर्दा उपस्थित भएमध्येका असल ऋत्विज्लाई वस्त्र-आभूषणले सिँगारेर आफ्नी कन्या दिने विधिलाई दैव विवाह भनिन्छ ।
  3. वरपक्षसँग एउटा वा दुईटा गाई वा गोरु लिएर विधि अनुसार आफ्नी कन्या प्रदान गर्नुलाई आर्ष विवाह भनिन्छ ।
  4. कन्यादान गर्दा “‘तिमीहरु दुवैले सँगै रही मिलेर धर्म अनुसार आचरण गर्नु” भनी सत्कारपूर्वक कन्यादान गर्ने विधिलाई प्राजापत्य विवाह भनिन्छ ।
  5. कन्याले वा कन्यापक्षले वरसँग तिनको गच्छे अनुसार धन लिई कन्याप्रदान गरी गरिने विवाह आसुर विवाह हो ।
  6. केटाकेटीले एक-आपसमा स्वेच्छाले कामाशक्ति र वासनाप्रधान प्रेम सम्बन्ध गाँसी गर्ने विवाह गान्धर्व विवाह हो । यसलाई आधुनिक भाषामा लभ म्यारिज भनिन्छ र विश्वभर अहिले चलेको वैवाहिक विधि यही नै हो । नेपालमा भने ब्राह्म र गान्धर्व विवाह विधिको सम्मिश्रण गरी विवाह हुने चलन चलेको छ । भन्ने बेलामा लभ म्यारिज भनिन्छ तर विवाह गर्दा मागी विवाहका विधि अपनाइने गर्दछन् ।
  7. संरक्षकलाई मारेर, हातगोडामा चोट पुर्‍याएर, वासस्थान आदि नष्ट गरेर रुँदै गाली गरिरहेकी कन्यालाई हरण गरी आफ्नो अधिकारमा लिनु राक्षस विधि हो ।
  8. निदाइरहेकी, अर्धमूर्छित वा अर्धनिद्रामा परेकी कन्यालाई जवर्जस्ती गरी वाध्यताले विवाह गर्नु अत्यन्त अधम पैशाच विधि हो ।

यीमध्ये शुरुका चार विधिलाई उत्तम र पछिल्ला चार विधिलाई निन्दनीय बताइएको छ ।


नेपाली समाजमा प्रचलनमा रहेका विवाह विधि :

  • कानुनी विधि : विवाहको कानुनी विधिलाई विवाह दर्ता–विधि भनिन्छ ।
  • सगोत्र विवाह : समान गोत्रका वरवधुका बीचमा हुने विवाह ।
  • अनमेल विवाह : उमेरमा बढी फरक पारेर गरिएको विवाहलाई प्रायः अनमेल विवाह भनिन्छ ।
  • अन्तर्जातीय विवाह : फरक जातका बीचमा हुने बिहे ।
  • अवैध विवाह : उमेर नपुगी वा कानुन मिचेर गरिएको विवाह ।
  • टामटुमे विवाह : परिचितहरूदेखि टाढा गएर वा थोरै खर्चमा गरिने विवाह, टामेटुमे विवाह ।
  • दुईचम्के विवाह : सट्टापट्टा गरेर गरिने विवाह; छोरीबेटी साटासाट गरेर गरिने विवाह ।
  • पुनर्विवाह : एक पटक विवाह भइसकेका स्त्री वा पुरुषको फेरि विवाह गर्ने काम; एक पटक विवाह भइसकेका स्त्री वा पुरुषको अर्कोपल्ट गरिने विवाह ।
  • बहुविवाह : एक पुरुषले दुई वा दुसईभन्दा बढी स्त्री वा एक स्त्रीले दुई वा दुईभन्दा बढी पुरुषसँग बिहे गरी सवै जीवित रहेको अवस्था ।
  • बाल विवाह : केटा र केटीको उमेर नपुग्दै गरिने गैरकानुनी बिहे ।
  • बेल विवाह : कुण्डली आदिमा भएको वैधव्य दोषको निवारण आदिका निम्ति नेवारजातिका स्त्रीहरूको कमै उमेरमा बेलका साथ गरिने परम्परागत विवाह ।

यस बाहेक कर्म विशेषका आधारमा गरिने भागी बिहे, मागी बिहे, चोरी बिहे, जारी बिहे जस्ता शब्द पनि प्रचलनमा रहेका छन् ।

विवाहमा जुराउने कामसम्पादन

वैदिक सनातन धर्ममा गरिने मागी विवाहमा वर वधुका अनेक कुरा जुराएर विवाह गर्ने विधान छ । आजकल जुराउने काम र विधिलाई त्यति मतलव गरिन्न । वेद र उपनिषदमा विवाहका बारेमा विस्तृत विवरण पाइँदैन तर स्मृति र पुराणहरूमा विवाहका बारेमा अत्यन्त सूक्ष्म, गहन र विस्तृत कुरा उल्लेख भएका छन् । त्यसमध्ये विवाह गराउँदा अभिभावकले ध्यान दिनुपर्ने केही शास्त्रीय कुराहरू यस्ता छन् :-

  • विशेष परिस्थितिमा बाहेक दाजुभन्दा पहिले भाईको र दीदिभन्दा पहिले बहिनीको बिहे नगर्नू ।
  • छोराको विवाह गरेको ६ महिना (२ ऋतु) सम्म कन्याको विवाह नगर्नू ।
  • छोराछोरीको विहेपछि ६ महिनासम्म विशेष व्रत आदि मङ्गल कार्य पनि नगर्नू ।
  • ६ महिनाका बीचमा दुई वटी एउटै गर्भबाट जन्मेका केटीको विवाह कुनै पनि हालतमा नगर्नू ।
  • एउटा विवाहका साथ अर्को विवाह नगर्नू ।
  • एउटै वरका लागि एकैपटक दुई वटी कन्या नदिनु ।
  • सहोदर दाजुभाईको विवाह सहोदरा दीदिबहिनीसँग नगर्नु ।
  • एकै पटक दुई विवाह तथा मुण्डन कर्म नगर्नु ।
  • आफ्नो कुलमा ३ पुस्ता भित्र छोराको विवाह गरेपछि ६ महिनासम्म छोरी वा सहोदर भाईको विवाह नगर्नु ।
  • दुई सहोदर दाजुभाईको वा दिदीबहिनीको विवाह ६ महिना भित्र नगर्नु । जुम्ल्याहा भए दुवैको समान संस्कार एकै दिन वा एउटै मण्डपमा हुन सक्दछ ।
  • बुहारी भित्र्याएको ६ महिनासम्म कन्या (छोरी)लाई पतिको घर पनि नपठाउनु । तर वर्ष फेरिएमा भने ६ महिना भित्र उपरोक्त कार्य गर्दा पनि उत्तम हुन्छ । आदि ।

विवाहको उमेरसम्पादन

प्राचीन कालमा विवाह गर्ने उमेर स्त्रीको हकमा रजस्वला हुनुपूर्व र पुरुषको हकमा वीर्यशाली हुँदासम्म हुने गर्दथे । तर विवाह चाँडै भएपनि आयुर्वेदका ग्रन्थमा सन्तान जन्माउन अठार वर्षपछि मात्र योग्य हुन्छ भनिएको पाइन्छ । व्रतबन्ध गर्ने पहिलो उमेर र त्यसपछि वेद अध्ययन गर्न लाग्ने तोकिएको समय हेर्दा प्राचीन कालमा पनि पुरुषको विवाह गर्ने उमेर न्यूनतम बीस वर्ष हुने गरेको देखिन्छ ।

विवाह र आधुनिक समाजसम्पादन

सम्भव भएसम्मका उपायले प्राचीनकालमा दाम्पत्य जीवनलाई आमरण सौहार्द्रपूर्ण बनाइएका थिए । आधुनिक कालमा वासनालाई प्रेम ठानी मानिसहरु झुक्किने क्रम बढेको छ । एक अर्कालाई बुझ्ने क्रममा स्त्री र पुरुष आवश्यकता भन्दाबढी अघि बढेर समस्या थपिएका पनि छन् । विश्वभर सबै कुरा बुझी भएका प्रेम विवाहमा पनि सन्तानको चाहना नगर्ने जस्ता विकृति देखिएका छन् । अहिले जेजस्ता वैवाहिक अवस्था देखिएका छन् त्यो अवस्था पहिले पहिले पनि हुने गरेको प्रसंग पुराणहरुमा छ । अत्यधिक स्वतन्त्रताले मानव अस्तित्व संकटमा पर्दछ भनेर बेलाबेलामा कठोरता अपनाइएका दृष्टान्त छन् ।

जतिसुकै लामा तर्क गरेपनि विवाह सन्तान जन्माउनकै लागि गरिन्छ । यसैले विकसित देशहरुमा पनि दम्पत्तिलाई सन्तान जन्माउन वा बढी सन्तान जन्माउन उत्प्रेरित गर्न थालिएको छ । प्रकृतिप्रदत्त स्त्रीको गुणलाई पुरुषले र पुरुषको गुणलाई स्त्रीले स्वतन्त्र र मर्यादित बनाउनु नै सबैका हीतमा हुन्छ । अधिकार सृष्टिको बाधक हुनु हुँदैन ।

विवाह सम्पन्न हुँदै

विकसित परम्परासम्पादन

जङ्गली अवस्थाबाट घर व्यवहारमा आएपछि मान्छेले आफ्ना पासविक व्यवहारमा परिमार्जन गर्दै लगेको हो। एउटै केटीमा धेरैजना केटाको तानातान वा एउटै केटामा धेरैजना केटीको आशक्ति रहनुले समाज विकृत बन्छ। त्यसैले समाजलाई अराजक हुनबाट जोगाउन निश्चित पुरुष र स्त्रीका लागि निश्चित पुरुष र स्त्री तोक्नुपर्ने आवश्यकता पर्‍यो। यसरी तोक्ने कार्य नै पछि गएर एउटा संस्कारमा परिणत भयो र त्यसैलाई नै 'विवाह' भनियो। यसरी विकसित बन्न पुगेको विवाह संस्कारले निजी लोग्ने र निजी स्वास्नीको अवधारणा ल्यायो र समाजलाई विकृत हुनबाट जोगायो। सिद्धान्ततः विवाह यही रूपमा विकसित भयो। विवाहको प्राकृति यही हो, जसले यौनको अत्यावश्यकतालाई स्वीकारेको पाइन्छ। यसलाई व्यवस्थित गर्नका लागि भने अनेक प्रचनल र परम्पराहरू विकसित बन्न पुगे। यस्ता परम्पराहरू जाति, धर्म, क्षेत्र, स्थानअनुसार पनि फरकफरक ढङ्गले विकसित बन्न पुगेका छन्।

धर्मशास्त्रले सामान्यतया धर्म प्राप्ति पुत्र प्राप्ति र रतिसुखलाई विवाहको उद्देश्य बनाएको पाइन्छ। ब्रहृमचर्याश्रमको समाप्तिपछि गृहस्थानमा प्रवेश गर्ने द्वारका रूपमा विवाहलाई लिइन्छ। जीवनमा रतिसुख अति आवश्यक कुरा हुँदा त्यसलाई विधिवत गर्न विवाह आवश्यक परेको हो भनेर सन्तान प्राप्ति विवाहको अर्को महìवपूर्ण उद्देश्य हो। कसैले विवाह नगर्ने र सन्तानोत्पादन नगर्ने हो भने यो संसार क्रमशः मानवरहित बन्न जाला भनेर अग्रजहरूले सन्तान प्राप्तिलाई धार्मिक उपलब्धि मानेका हुन्।

यिनै उद्देश्य परिपूर्तिका परम्परा फरकफरक रूपमा विकसित भए। नेपाली पहाडी हिन्दूधर्म मान्ने समाजमा केटी माग्न जाने चलन चल्यो। पहिले पहिले साटो प्रथा र फाँचो प्रथा पूर्वी पहाडी समाजमा निकै चलेका चलन हुन्। साटो प्रथा भन्नाले आफ्नी चेली दिने र आ्फ्ना केटाका लागि उनीहरूकी चेली साट्ने चलन हो। यो चलनले गर्दा एकै घरका दाजुभाइ, दिदीबहिनीमध्ये पनि फरकफरक नाता सम्बोधन गर्नुपर्ने अप्ठ्यारो अहिलेसम्म पनि विद्यमान छँदैछ। फाँचो प्रथा भनेको चाहिँ छोरा मात्र हुनेले आफ्ना छोराका लागि पैसा दिएर केटी लिने चलन हो। यी दुवै चलन अहिले हटिसकेका छन्। नयाँ मुलुकी ऐन, २०२० सालदेखि लागू भए पनि गाउँघरमा बालविवाहको प्रचलन पछिसम्म पनि विद्यमान रहृयो। सानी केटीलाई अन्माएर पठाइने हुँदा १६ दिन घरमा राखी दुलन फर्काउने र विवाह भएको एक वर्षसम्म माइतमै बस्ने अनि एक वर्षपछि भाँडाकुडा, चामल, चिउरा, रोटी, कुराउनी, सन्दुस आदिसहित भरिया लगाएर मैतालु पठाउने गरिन्थ्यो।

वैवाहिक प्रथा र कर्महरूसम्पादन

विधिवत विवाहमा मगनी पछि टीकोटालो गरिन्छ। यसलाई पहिलेपहिले 'अठोट लाउने' भनिन्थ्यो। टुङ्गोटाङ्गी गरेपछि केटाका पक्षबाट केटीका घरमा पत्र लाने काम गरिन्छ। यसमा लग्न समयको उल्लेख हुन्छ। वरियाती केटीका घरमा पुग्न लाग्दा जन्तको सङ्ख्या आदिको पूर्व सूचना गर्न जन्तीका तर्फबाट भतखराउ पठाइन्छ। केटी पक्षका घरगाउँलेहरूले भतखराउलाई जिस्क्याउने अनेक तरिका अपनाउने पुरानो चलनमा आजकाल विधि पुर्‍याउने कार्यका रूपमा यसमा सुधार आएको छ। कसारभित्र पैसा राख्ने, दहीमा नून, अचारमा चिनी हालेर खान दिने, ओछ्याउन दिएको राडी-गलैँचामुनी तोरीका दाना, मकैका खोया, अमला आदि राख्ने, केराका गानाको हुक्का बनाएर राखिदिने गरिन्थ्यो। यस्ता कार्यलाई हाँस्ने-हसाउने मनोरञ्जक कार्यका रूपमा लिइन्थ्यो। यदाकदा यस्ता कार्यले अपि्रय रूप पनि लिन्थ्यो।

विवाहमा सिलोकबाट सवाल-जवाफ गर्ने कार्य गाउँघरमा यदाकदा अझै विद्यमान छन्। जन्ती र घरगाउँले पक्षबीच रातभरि नै सवाल-जवाफ गरी छर्लङ्ग रात काट्न सक्छन् यस्ता शिलोकेहरू। केटाका घरबाट बेहुलो अन्माएपछि त्यो रात केटाका घरमा गाउँले आइमाईहरू जम्मा भएर रत्यौली खेल्ने गर्छन्। रातमा खेलिने र रतिरागात्मक गीत गाइने हुँदा यस्तो राम रमाइलोलाई रत्यौली भन्ने गरिएको हो। रत्यौलीको छुट्टै भोज खाने र खसी काट्ने पनि गरिने हुँदा रत्यौली विवाहको एउटा पक्षका रूपमा रहेको पाइन्छ। नारी जातिको मात्र उपस्थिति हुनेहुँदा रत्यौलीका गीतमा केही अश्लीलताको समाविष्ट पाइन्छ तर आजकाल त्यस्ता गीत र नृत्यमा सुधार आएको छ। नारी-पुरुष दुवै मिलेर नाचगान गरी रत्यौली मनाउने चलन पनि आजकाल बढेको छ। केराका दाम्चाको घोडामा परालको पुच्छर गाँसेर नारीहरू माथिमाथि सारी सारेर अभिनय गरी रत्यौली मनाउँदा पुरुषलाई प्रवेश निषेध गर्थे र पुरुषको भेषमा पनि महिला नै हुन्थे।

रत्यौली गीतसम्पादन

रत्यौलीको बोको छ, खाउँला भन्ने धोको छ।

दिदी पनि आऊ यता, बैनी पनि आऊ यता

दुलाहाकी आमालाई तानेर ल्याऊ यता

यसैगरी विवाहमा गाइने सिलोकका केही नमुना यस्ता छन्-सम्पादन

सवाल- कहाँबाट आयौ तिमी जन्ती कहाँ बस्यौ बास ?

जन्तीका मुखमा फुरौला अड्के कहाँबाट फेर्छौ सास ?

जवाफ- घरबाट आयौँ हामी जन्ती यहीँ बस्यौँ बास

जन्तीका मुखमा फुरौला अड्के नाकबाट फेर्छौं सास।

सवाल- कति बाट्यौ दाम्लानाम्ला कति बाट्यौ कुचा ?

कति आयौ बूढापाका कति आयौ फुचा ?

जवाफ- चाहिँदो बाट्यौँ दाम्लानाम्ला चाहिँदो बाट्यौँ कुचा चाहिँदो आयौँ बूढापाका चाहिँदो आयौँ फुचा।

सवाल- कसकी छोरी श्रीसीता रानी कसका छोरा राम ?

कसका छोरा वीर हनुमान कसका छोरा जूनघाम ?

जवाफ -जनककी छोरी श्रीसीता रानी दशरथका छोरा राम पवन -वायु) का छोरा वीर हनुमान कश्यपका छोरा जूनघाम।

सवाल- कहाँ पलायो कर्कलो निगुरो कहाँ पलायो तामा कसका हौ तिमी नातिपनातिको हुन् तिम्रा मामा ?

जवाफ- खोलाखाली पलायो कर्कलो निगुरो बाँसमा पलायो तामा जिजुबाजेका हौँ नातिपनाति आमाका दाजुभाइ हुन मामा।

सवाल- तुलसीको लिङ्गो नौठाउँ बाङ्गो नवौँ ठाउँ लायो चरीले गुँड

ईन ईन चरीका के के नाम लाउँछौ अर्थ कि छोड्छौ ठाम ?

जवाफ- तुलसीको लिङ्गो नौठाउँ बाङ्गो नवौँ ठाउँ लायो चरीले गुँड ईन ईन चरीका हीरामोती नाम लायौँ अर्थ छोड्दैनौ ठाम।

विवाहमा दमाई गीत र नाच अर्को रमाइलो पक्ष हो।सम्पादन

दमाई गीत र नाच विवाहको जुन समयमा पनि समावेश हुनसक्छ तर दुलही भित्र्याएपछिको बिदाई समारोहमा भने सम्पन्न परिवारमा नाचगान गराई दमाईको पारिश्रमिक सहित बिदा गर्ने गरिन्छ। मद्यपान गर्ने समाजमा मद्यपान गरी नाचगान बजान गरेर दुलाहादुलही राखी देउसीभैलाको आशीषजस्तै आशीष लिने दिने पनि गरिन्छ।दमाई गीतहरूको एउटा भाका-

'वारि साल नि पारि साल' बीचैमा सती साल नि हजुर

'जेठी नाच नि माइली गीत गाऊ' कान्छीले बत्ती बाल नि हजुर

'पानी पर्‍यो नि रिम्मझिम्म' गैरखेतको सिम्मा नि हजुर

'बालकैमा बिहे भयो' थैली रुमाल जिम्मा नि हजुर

'वल्ला खोलो नि पल्लो खोलो' कमिलाको गोलो नि हजुर

'चट्टै पारी सिदेऊ दमाई' कान्छी ल्याउने चोलो नि हजुर

'गाई त चरो नि रनवन' भैँसीलाई वन छैन नि हजुर

'उडिजाऊँ भने नि म पङ्खी होइन' बस्नलाई मन छैन नि हजुर।

विवाह संस्कारमा पछि जोडिएको अर्को प्रथा 'खाँडो जगाउने' प्रथा हो ।सम्पादन

खड्ग पूजन प्रथा विवाह विधिभित्रै पर्छ। यही प्रथा पछि 'खाँडो जगाउने प्रथा' का रूपमा विकसित बनेको हो। 'खड्ग' शब्दबाटै 'खाँडो' बनेको हो। खाँडोमा जङ्गबहादुरको प्रशस्ति गाइन्छ र कुहिरेलाई गाली गरिन्छ। जसबाट नेपाल-अङ्ग्रेज युद्ध र जङ्गबहादुर शासक भएपछि यो खड्ग पुजन प्रथाले खाँडोको रूपमा लिएको हो भनेर अनुमान गर्न सकिन्छ। विवाहमा बेहुली बनेकी केटीलाई अपहरण गर्न आउने सम्भावनाबाट सचेत भई हतियार तयार पारेर बस्ने कार्य हो।

सन्दर्भ सामग्रीसम्पादन

बाह्य कडीसम्पादन