राजारानी पोखरी
राजारानी पोखरी नेपालको पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चल, मोरङ जिल्लामा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको पर्यटकीय स्थल हो। भोगटेनी गाविस वडा नम्बर ८ मा अवस्थित यो पोखरी सदरमुकाम विराटनगर देखिको करिब ५० किमि उत्तरपूर्वमा रहेको छ। राजमार्ग देखि करिब १३ किमि उत्तरमा रहेको राजारानी क्षेत्रको क्षेत्रफल करिब २० हेक्टर रहेको छ। प्राकृतिक सौन्दर्य, ताल, विभिन्न किसिमका जल प्राणी तथा वनस्पति यस क्षेत्रका मुख्य आर्कषणहरू हुन।
युवा धिमालहरूबीच धिमालहरूको पहाड भनेर चिनिने राजारानी धिमाल पोखरीको आफ्नै धार्मिक तथा साँस्कृतिक महत्त्व रहेको छ। वरिपरि डाँडैडाँडाले छेकिएको उपत्यका झै देखिने राजारानी क्षेत्रमा तीन वटा पोखरी र धिमाल तथा मगर समुदायले पूजा गर्ने गरेका दुईवटा मन्दिरहरू छन्। यसबाहेक यहाँको विशेषताका रूपमा पोखरीमा रहेका विभिन्न जातका सुनाखरी फूलहरू हुन्। यस स्थानलाई स्थानीय मानिसहरू विभिन्न प्रकारका पुतलीहरू पाइने प्रख्यात स्थानका रूपमा पनि लिने गर्दछन्। पूर्व नेपालको झापा र मोरङका आदिबासी धिमालहरूले अढाई महिनासम्म लगाउने ढङढङे (असारे) मेला हरेक वर्षको बैसाख २ गते यही धिमाल पोखरीबाट सुरु हुने गर्दछ। धिमालपोखरी छेउको धिमाल ग्रामथानमा पूजाआजा गरेपछि यो मेला सुरु हुने गर्दछ। त्यसपछि भने तराईमा बसोबास गर्ने सबै धिमालहरूले यो मेला आआफ्नो ठाउँमा पालो गरेर दैनिक रूपमा लगाउने गर्दछन। धिमालहरूको भनाइ अनुसार परापूर्वकालमा राजारानी पोखरी छेउछाउ क्षेत्रमा धिमालहरूको बसोबास रहेको थियो। कालान्तरमा उनीहरू कुनै अज्ञात कारणले उक्त स्थान छाडेर अन्यत्र जान बाध्य भए र त्यस स्थानलाई भुल्दै गए। तर उनीहरूका पुराना परम्पराका केही अवशेषहरू लोकोक्ति, परम्परा या किम्वदन्तीका रूपमा त्यताका अन्य समुहका मानिसहरूले जिवित राखिदिएका थिए। यसैगरी वि.सं. २०५८ सालदेखि भने यस क्षेत्रमा धिमालहरूले पूजाआजा गर्न लागे। उक्त थानमा आआफ्नो गच्छे अनुसार बोका, कुखुरा, हाँस र परेवाको बलि दिएर धिमालहरूले पूजाआजा गर्ने गर्दछन्। मोरङ तराईमा औलोको प्रकोपका कारणले मध्यकालताका धिमालहरू तराईको उत्तरी फाँट तथा ससाना ढिस्काहरूमा बसोबास गर्दथे। त्यसैताका राजारानी क्षेत्रमा उनीहरूको दरबार रहेको हुन सक्ने अनुमान गरिएको छ।[१]
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "राजारानी पोखरी", birattourism.org.np।[स्थायी मृत कडी]