माघी नेपालमा बसोबास गर्ने थारू समुदायले मनाउने प्रमुख चाड हो। माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ।

माघी
मितिमाघे सङ्क्रान्तिको दिन
माघीमा थारू समुदाय

खान पिनसम्पादन

माघे सङ्क्रान्तिको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन घर घरमा सुँगुर काट्ने चलन छ, जसलाई 'जिता मरना दिन' भनिन्छ। पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी (पिठोको एक परिकार), माछा लगायतको परिकार बनाएर जाँड-रक्सीको साथ खानपिन गरेर रातभर नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ। यतिबेला 'सखियै हो, माघीक पिली गुरी जाँर' भन्ने गीत सबैको मुखमा झुण्डिएको हुन्छ। माघीमा गाइने गीतलाई 'धमार' भनिन्छ। माघीमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि लोकप्रिय छ। माघे सङ्क्रान्तिको दिन बिहान सबै जना नजीकैको खोलानालामा नुहाउन जाने चलन छ। यसलाई 'माघ लहान' भन्ने गरिन्छ। नुहाइसकेपछि घरमा आई दाल, चामल, नून छोएर आफूभन्दा ठूलालाई ढोग गरी आशीर्वाद लिइन्छ। माघको दोस्रो दिन खिचडी बनाई खाने चलन रहेको छ। यो दिनलाई 'खिचरहवा' भनिन्छ। [१]

छोरीचेलीलाई उपहारसम्पादन

माघीमा आफ्नो चेलीबेटीहरूलाई उपहार दिने चलन छ। यसलाई थारू भाषामा 'निसराउ' भनिन्छ। माघीको दिन नुहाएर आइसकेपछि छोएको चामल, दाल, पैसा र यसमा केही थप गरेर निसराउस्वरूप चेलीबेटीहरूलाई उपहार दिइन्छ। माघी मनाउन माइती आएका छोरीचेलीहरू घर फर्किनेबेला निसराउ लिएर जान्छन्। [१]

धार्मिक विश्वाससम्पादन

माघीको दिन स्नान गरी तिलको आगो ताप्नाले वर्ष भरिको पाप पखालिन्छ भन्ने मान्यता थारू समुदायमा छ। दाङ-देउखुरीमा पर्ने धार्मिकस्थल रिहार थारू समुदायको परम्परागत देवथानको रूपमा रहेको छ, त्यहाँको तातो कुण्डमा स्नान गर्न माघीको दिन भक्तजनहरूको ठूलो घुइँचो लाग्दछ। त्यहाँ भारतबाट समेत ठूलो संख्यामा तीर्थालुहरू आउँछन्। त्यहाँ स्नान गरेमा मनोकामना पूरा हुने, निःसन्तानले सन्तान पाउने भन्ने धार्मिक विश्वास छ। यसैगरी दाङ-देउखुरीकै गोबरडिहाको जङ्गलवा कुट्टीमा पनि माघे सङ्क्रान्तिमा मानिसहरू रातभरि जाग्रम गरी पूजाआजा गर्छन्। यसलाई बाघनाथ बाबा कुट्टी भनिन्छ। त्यस्तै, दाङ-देउखुरीको कालापानीको कुण्डमा स्नान गरी पूजा गर्नाले लुतो लगायतका रोग निको हुन्छ भन्ने जनविश्वास छ। यो ठाउँ स्थानीय थारू भाषामा खौराबाबाको नामले प्रख्यात छ। खौराबाबालाई शिवजीको अर्को रूप मानिन्छ। [१]

सम्बन्ध प्रगाढ बनाउने दिनसम्पादन

माघीको दिन नुहाएर दाल, चामल छोइसकेपछि मान्यजनहरूसँग ढोगभेट गरी आशीर्वाद लिने प्रचलन छ । यसलाई सेवाढोग वा सेवा सलाम लग्ना भनिन्छ। यो प्रक्रिया घरबाट सुरू भई गाउँभरि नै गएर सेवा सलाम लिने दिने र खानपिन गर्ने प्रचलन छ । जति ठूलो गाउँ भए पनि सबै घरमा सेवासलामको लागि पस्नुपर्ने हुन्छ। मन मिल्नेहरू समूहमा आबद्ध भई सेवासलाम लाग्ने गर्दछन् । यसले समुदायमा एकता, मित्रता, आपसी सहयोग, सद्भाव आदान प्रदान गर्ने कार्यमा सहयोगी भूमिका खेल्छ। कसैसँग रिसइबी छ भने माघी नुहाएर, एकआपसमा अङ्कमाल गरी मेलमिलाप गरिन्छ । त्यसैले माघीलाई सम्बन्ध प्रगाढ बनाउने दिनको रूपमा पनि लिइन्छ । [१]

नयाँ आर्थिक वर्षसम्पादन

माघी पर्वलाई नयाँ वर्षको रूपमा पनि लिने गरिन्छ । पुस मसान्तमा आ-आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघ १ गतेदेखि नयाँ हिसाबकिताब सुरू गर्ने प्रचलन छ । माघीमा नै घरपरिवारभित्र होस् या गाउँ समुदायमा आगामी वर्षको लागि खेतीपातीलगायत यावत् अन्य व्यवहारहरूको नवीकरण गरिन्छ । [१]

घरसल्लाह गर्ने पर्वसम्पादन

माघीमा नै थारू समुदायका मानिसहरू आफ्नो घर सल्लाह गर्ने प्रचलन रहेको छ। माघीमा भाइभाइ एक ठाउँमा बसेर खानपिन गर्दै घर सल्लाह गर्ने गरिन्छ। घर सल्लाहमा कसलाई के जिम्मेवारी दिने, घरको मूलीको बन्ने जस्ता कुराको छलफल हुन्छ। घरपरिवार भित्र जिम्मेवारी पाएका सदस्यले माघीमा स्वतन्त्र भएर हेरफेर गर्न सक्दछन्। जस्तै गरढु्रै (घरमुली बन्ने) गर्ने, 'बहरिया' (घर बाहिरको कामको जिम्मेवारी) आदि कामको जिम्मेवारी परिवर्तन माघीमा नै गर्ने गरिन्छ। यही बेला घरमा मिलेर बस्ने या छुट्टनिे कुराको समेत सल्लाह हुन्छ। भाइभाइमा मन नमिले माघीमा नै अशंबण्डा गरिन्छ । यसलाई घर फुटाइ पनि भनिन्छ। अंशबण्डामा कुनै भाइलाई मर्का नपरोस् भन्ने उद्देश्यले गाउँका पञ्च भलाद्मी, महटाँवा, बरघरहरूलाई मध्यस्थकर्ताको रूपमा बोलाईएको हुन्छ। [१]

अगुवा चुन्ने कामसम्पादन

गाउँको विकास कसरी गर्ने भन्ने सवालमा माघको पहिलो हप्ताभित्रै बैठक बसेर सामूहिकरूपमा गत वर्षको कामकारबाहीबारे छलफल गरिन्छ । वर्षको एकपटक बस्ने गाउँको सो भेलालाई 'भुरा खेल-ख्याला)' भनिन्छ । बैठक गाउँको अगुवाको घरमा बस्छ । अगुवालाई ठाउँ विशेष अनुसार बरघर, ककनदार, भल्मन्सा, महटाँवा पनि भनिन्छ । बैठकमा गत वर्षमा भए गरिएका कुलापानी, धार्मिक पूजापाठ लगायत विकासको कामको समीक्षा हुन्छ । आगामी वर्षको लागि उही बरघरलाई निरन्तरता दिने या नयाँ चुन्ने विषयमा छलफल हुन्छ । सोही बैठकले सहायक बरघर, अघारी, सघारी, कुलापानी चौधरी, गाउँको चौकीदारदेखि फलामको काम गर्ने व्यक्तिसम्मको छनोट गर्छ । यही बैठकले गाउँलाई अनुशासित बनाउन नयाँ नियम कानुन पनि बनाउँछ । नियम उल्लङ्घन गर्नेलाई बरघरको अध्यक्षतामा बसेको बैठकले जरिवाना तोक्छ । बरघरको महादेवलाई दृष्टिगत गर्दै विगत केही वर्षयता जिल्ला बरघर समिति पनि गठन हुन थालेको छ । यसरी लोकतान्त्रिक ढङ्गले थारू समुदायमा अगुवा चुन्ने काम माघीमा नै गरिन्छ । [१]

अभिशाप जस्तै विगतसम्पादन

विगतमा माघी थारूका लागि अभिशाप नै सावित हुन्थ्यो। जमीन्दारको घरमा कमैया र कम्लहरी राख्ने प्रचलन माघीबाटै शुरू गरिन्थ्यो। एउटा कमैयालाई छारागर्ने र अर्कोलाई पशु किने जस्तै उनीहरूलाई खरीद गरी दास जीवन जिउन बाध्य पारिन्थ्यो। वि.सं. २०५७ साल साउन २ गते तत्कालिन सरकारले कमैयालाई मुक्त घोषणा गरेपछि कमैया प्रथाको अन्त्य भए पनि कमलहरी प्रथा अझै कायमै छ। कमलहरी प्रथा हटाउन थारू बडघरहरू स्वयम् र विभिन्न संघसंस्थाहरू पहल गरे पनि सरकारले हालसम्म कम्लहरी मुक्तीको घोषणा गर्न सकेको छैन। अरूको घरमा सानैदेखि निकै कम ज्यालामा काम गर्ने प्र केटीलाई कम्लहरी भनिन्छ। यिनीहरूलाई दासदासीको रूपमा काम लगाइने गरिन्छ। कैयौँको यौन शोषण पनि गरेको घटना देखिन्छ। [१]

महोत्सवको लहरसम्पादन

माघी पर्व पहिले खासगरी पश्चिम भेगको थारू गाउँघरमा मात्र सीमित थियो । राजधानीमा बसोबास गर्ने थारूहरूले विगत सात वर्षदेखि माघी महोत्सवको आयोजना गर्न थालेका हुन् । विशेष गरी २०५९ सालमा सरकारले माघीमा सार्वजनिक बिदाको व्यवस्था गरेपछि थरूहट सबै क्षेत्रमा महोत्सवको रूपमा मनाउन थालिएको हो । माघी महोत्सवमा थारू संस्कृति झल्किने परम्परागत हस्तकला प्रदर्शनी, पहिरन, भेषभूषा, थारूहरूको मौलिक खानाको परिकार घोंघी, ढिक्रीलगायत फुड फेस्टिबल एवं सांस्कृतिक झाँकी, नाचगानजस्ता कार्यक्रम प्रस्तुत गर्ने गरिन्छ । [१]

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. १.० १.१ १.२ १.३ १.४ १.५ १.६ १.७ १.८ थारू समुदायमा माघी पर्व

बाह्य कडीहरूसम्पादन