नेपाली मूलका भारतीय संगीतकार

ललितपुरको मटारबाट भारत सरेका भीमबहादुर सिंह र चुनमाया मिजारको कोखबाट कलकत्तामा सन् १९३१मा जन्मेका मनोहरि सिंहलाई 'टाइम' म्यागजिनले सन् असीको दशकमा 'एसियाका उत्कृष्ट सेक्सोफोनिस्ट' भनेर उल्लेख गरेको थियो| लामो समयदेखि मृगौला रोगबाट पीडित मनोहरिको (२०६७ अषाढ २९ मंगलबार) ८३ वर्षको उमेरमा मुम्बईमा मृत्यु भएको थियो| सांगीतिक परिवारमा हुर्केका उनलाई बलिउड संगीतकार एसडी बर्मनको 'सितारों से आगे' फिल्मका गीतमा सेक्सोफोन बजाउने पहिलो ब्रेक मिलेको थियो। त्यसपछि उनले एसडीका छोरा संगीतकार आरडी बर्मनका पहिलो फिल्मदेखि अन्तिमसम्म चिफ एरेन्जरका रूपमा काम गरेका थिए। उनले लक्ष्मीकान्त-प्यारेलाल, शंकर-जयकिशन, सी रामचन्द्र, मदनमोहन, रोशन -हृतिक रोशनका बाजे) जस्ता भारतीय संगीतकारसँग जीवनभर काम गरे।

यादव खरेल का अनुसार 'भारतमै पनि सबैले मान्ने व्यक्तित्व हनुहुन्थ्यो, नेपालीप्रति उहाँ विशेष सहानुभूति र प्रेम प्रकट गर्नुहुन्थ्यो।' मनोहरिले खरेलकै 'प्रेमपिण्ड' र 'चेलीबेटी' चलचित्रमा पनि म्युजिक एरेन्ज गरेका थिए। 'यी दुई फिल्म जसरी हिट भए,' खरेलले सम्झे, 'त्यसमा उहाँको पनि निकै ठूलो हात छ।'

मनोहरिसँग नजिकरहेर अनुभव बटुलेका संगीतकार शम्भुजित बास्कोटा का अनुसार 'फिल्म संगीतका लागि बम्बई संगीत उद्योगकै कमान्डिङ व्यक्तित्व गुम्यो।'

मनोहरि सहितलाई समेटेर 'बलिउड विदाउट बोर्डस' वृत्तचित्र बनाइरहेका र् मनोहरिले निजी समारोहमा सेक्सोफोन बजाएको सुन्ने र हेर्ने मौका उनले पाएका शेखर खरेल पनि मनोहरिलाई अद्भुत प्रतिभाका व्यक्तित्व ठान्छन| 'बलिउडमा सेक्सोफोन मनोहरिका लागि बनेको भन्थे।भनिन्थ्यो मनोहरिको हातमा बाजाले गाउँछ|उनको त्यो जादुमय बजाइमा त्यो भनाइ साँचो लाग्यो।' उनी भन्छन|

पछिल्लो पटक 'इन्डियन आइडल'मा केही साताअघि मात्र मनोहरि आरडी बर्मनको म्युजिक पिससहित प्रस्ुतत भएका थिए, जहाँ बर्मनपत्नी गायिका आशा भोसलेले उनको हात समाउँदै 'मनोहरि आरडीको दाहिने हात' भनेकी थिइन्। त्यही उनको अन्तिम सार्वजनिक प्रस्तुति थियो।