यो ध्रुवचन्द्र गौतमको नाटकको नाम हो । यो मिथकीय नाटक पनि हो । अस्तित्वादी विसङ्गतिवादी चिन्तनमा यसमा रहेको कुरा नाट्य समीक्षक डा. अशोक थापाले बताएका छन् । थापाले आफ्नो विद्यावारिधि शोधमा लेखेका छन् - भस्मासुरको नलीहाड (२०३७) नाटक वि.सं.२०३६ सालको जनमत सङ्ग्रहकालीन परिस्थितिलाई दृष्‍टिगत गरी लेखिएको नाटक हो । यस नाटककको कथानक कुनै पृष्‍ठभूमिविना एक्कासि प्रारम्भ भएको छ । यसमा शक्तिप्राप्‍त भस्मासुरको नालीहाडको दुरुपयोग गरी सर्वसाधरणलाई आतङ्कित बनाउने घटनाक्रम प्रस्तुत गरिएको  छ । नाटक सुरु हुनासाथ यस नाटकको पात्र हतास र बेचैन मनस्थितिमा देखिन्छ । उसको अनुहारमा मानसिक छटपटी देखिन्छ । विनयले टाउको उचाल्ने, सुस्केरा हाल्ने, कपालमा हात दल्ने, केही लेख्‍नमा तल्लीन भएझैँ गरिरहन्छ । उकुसमुकुस भएर उफ्! गर्न पुग्छ । उठेर एताउता हिँड्न खोज्छ र लगतै एकाग्र र मलीन अनुहार लगाएर झोक्र्याउन थाल्छ । नमिठो ढ्याङ्ग्ग्रो ठोकेजस्तो आवाज आइरहन्छ र पात्र विनय अनायासै झस्किन्छ । ऊ हतास मनस्थितिमा सुस्केरा हाल्न थाल्छ । यस प्रकृतिको पात्रको मनोदशा विसङ्गत नाटकमा देखिन्छ । नाटकको प्रारम्भ नै विसङ्गत तरिकाले भएको छ ।

यो नाटक भस्मासुरको नलीहाड र अरू नाटक सँगालोमा सङ्कलित छ । यसलाई रोशन थापा 'नीरब'ले सम्पादन गरेका छन् । यस सँगालोलाई विद्यार्थी पुस्तक भण्डार भोटाहिटीले प्रकाशनमा ल्याएको हो । यस नाटकलाई त्रिभुवन विश्‍वविद्यालय नेपाली केन्द्रीय विभागमा ऐच्छिक नाटक पढ्ने विद्यार्थीहरूलाई डा. अशोक थापाले शिक्षण गराउँछन् । डा. अशोक थापा नाटक क्षेत्रमा प्रतिभाशाली समीक्षक हुन् । उनले हालसालै (२०७७) मा नेपाली विसङ्गत नाटक शीर्षकको पुस्तक पनि प्रकाशनमा ल्याएका छन् । थापाको विद्यावारिधि शोधप्रबन्धको पृ. १४५ मा भस्मासुरको नलीहाड नाटकको मिहीन व्याख्या गरिएको छ ।