नेपालको पश्चिम तराईका थारु तथा बसाई सरेर आएका पर्वतेले मान्य र सहि निर्णयमा पोख्त व्यक्तिलाई आफ्नो बडघर का रूपमा चयन गर्ने चलन छ । यस्ता बडघर एकताको प्रतीक पनि मानिन्छन् । यी बडघरले प्रत्येक गाउँमा हुने गरेका कामकाज र न्यायिक छलफलको निर्णय गर्ने गरेका छन् । थारू समुदायको प्रतिनिधित्व गर्ने र शान्ति सुव्यवस्था कायम राख्ने काम बडघरहरूले गर्छन् । बडघरको चलन कहिलेदेखि चल्यो भन्ने ऐतिहासिक प्रमाण छैन । बडघर राख्ने चलन खासगरी बाँके, बर्दिया, दाङ, कैलालीकञ्चनपुरमा छ । यस क्षेत्रका हरेक वासिन्दाले बडघरको निर्णय मान्नुपर्छ । त्यसका अतिरिक्त चाडपर्व, बाटो, विद्यालय, कुलोजस्ता सामाजिक काम तथा झगडा, जनश्रमदान र खेतीपातीजस्ता कुरामा थिति बसाउन उनीहरूकै निर्णय लागू हुन्छ । यसरी चयन गरिएका बडघरहरूलाई गाउँका वासिन्दाले वाषिर्क रूपमा सम्झौताअनुसार माना-पाथी धान-चामल उठाएर तिरो दिन्छन् । यस्ता व्यक्तिको सहायकका रूपमा एउटा चौकीदार पनि चुनिएको हुन्छ ।