फेरि सुन्दरीजल
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
फेरि सुन्दरीजल विश्वेश्वरप्रसाद कोइरालाको मरणोपरान्त प्रकाशित पुस्तक हो। यसलाई जेल डायरीको अर्को भाग पनि भनिएको छ। नेपाली राजनीतिक एवं साहित्यिक व्यक्तित्व बीपी कोइरालाले २०१७ सालको 'कु' पछि करीब आठ वर्ष सुन्दरीजल जेलमा, त्यसपछिका झण्डै आठ वर्ष भारत निर्वासनमा र २०३३ सालमा राष्ट्रिय मेलमिलापको नारा लिएर आएपछि केही वर्ष फेरि सुन्दरीजल जेलमा बिताए। यही जेल बसाइँमा उनले अङ्ग्रेजीमा लेखेका डायरीको नेपाली अनुवाद हो– फेरि सुन्दरीजल। तत्कालीन सत्तासँग राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी कोइराला, गणेशमान सिंहलगायत काङ्ग्रेसका निर्वासित नेता–कार्यकर्ताको स्वदेशफिर्तीबारे प्रशस्त बहस, विश्लेषण भएको छ। यो नैतिका प्रणेता बीपीले नै लेखेको यो डायरी पनि सो घटनाको आवश्यकता र सान्दर्भिकताबारे जान्न–बुझ्न महत्त्वपूर्ण सामग्री बनेको छ।
तत्कालीन सत्ताविरुद्ध हतियार उठाएको दलका नेताहरू एक हिसाबले आत्मसमर्पण गर्दै फर्कनुका पछाडि मुलुक भित्रभन्दा बाहिरको परिस्थिति बढी जिम्मेवार देखिन्छ। सन् १९७१मा तत्कालीन पूर्वी पाकिस्तानलाई बङ्गलादेश बनाउन ठूलो हात रहेको र त्यसलगत्तै सन् १९७५मा सिक्किमलाई आफूमा विलय गराएको भारतमा त्यस बखत इन्दिरा गान्धी आपतकाल लगाएर शासन गर्दै थिइन्। उता बीपीको इन्दिरा विरोधी राजनेताहरू जेपी, लोहिया आदिसँग हिमचिम थियो। यस अवस्थामा भारतमा काम गर्न अप्ठेरो हुने र नेपालको स्वतन्त्रता पनि गुम्नसक्ने देखेर बीपीले जोखिमपूर्ण भएपनि अत्यावश्यक ठानी राष्ट्रिय मेलमिलापको निर्णय लिएका थिए।
गणेशराज शर्माले भूमिकामा भनेझैँ डायरीमा 'मानवीय आवेग, उद्विग्नता, उत्तेजना र उदासी अवलोकन र अनुभूत' गर्न सकिन्छ। जेलमा बित्ने निस्सार दिनहरूबारे बीपीको टिप्पणी मन छुने छ– 'मैले दिन बिताएको होइन कि दिनले नै मलाई बितायो– अचल ढुङ्गामाथि नदीको पानी बगेजस्तै' (पृ. १३२)। जेलमा हुने हरेक कुरा र झिनामसिना घटनाहरूलाई पनि मिहिन पाराले र शासक/सत्ताको नियत या उद्देश्यसँग जोडेर हेरिएको छ– 'यहाँ हरेक कुरा रहस्यमय छ'। यदाकदा उनी ईश्वरको स्मरण पनि गरिरहेका हुन्छन्!
डायरीको नेपाली अनुवादमा सुशील शर्माले 'बीपीलाई जीवन्त राखेको' भन्ने कमल दीक्षितको प्रकाशकीय टिप्पणीमा सम्मति जनाउन सकिन्छ। बीपी शब्दलाई अनावश्यक रूपमा खर्चंदैनथे, उनी शब्दहरूसँग खेल्थे। बीपीको विशद शब्द भण्डार र सुन्दर वाक्य संरचनालाई जीवन्त राख्न अनुवादकले गरेका प्रयत्न, गाह्रा साँघुराबारे अनुवादकको टिप्पणी पढ्न नपाइनु खट्कने कुरा हो। डायरीमा बीपीको परिवारप्रतिको लगाव, चिन्ता, इत्यादि प्रशंसनीय छ तर आफ्ना कार्यकर्ता र निर्वासन गतिविधिबारे मौनता त्यति नै अपाच्य पनि। परिवारलगायत वकीलसम्म भेट्न नदिई बाहिरी विश्वबाट एक्ल्याएर राखेको र शारीरिक रूपमा पनि तन्दुरुस्त नरहेको बन्दीको मनस्थितिले धेरै कुरा लेखेन भनेर गुनासो गर्न नमिल्ला। तथापि, भन्नै पर्छ, बीपीको कलमबाट धेरै लेखिन सक्थ्यो, लेखिनुपर्थ्यो, लेखिन सकेन। समग्रमा, उनका अन्य पुस्तकको तुलनामा फेरि सुन्दरीजल आशानुरूप खरो उत्रन सकेको छैन।
किताबः फेरि सुन्दरीजल (जेल डायरी २०३३–३४) लेखकः विश्वेश्वरप्रसाद कोइराला प्रकाशकः जगदम्बा प्रकाशन, ललितपुर, २०६३ पृष्ठः १७५, मूल्यः रु.२००