विकिपिडियामा स्वागत छ!

सम्पादन गर्नुहोस्
नमस्ते, केशवप्रसाद पराजुलीज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

  सुरुवात

  सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!

-- नेपाली विकिपिडिया स्वागत (कुरा गर्ने) १२:०४, २७ अक्टोबर २०२० (नेपाली समय)जवाफ दिनुहोस्

बिक्रम सम्बत् १११३ बैशाख शुक्ल चतुर्थीको शुभ दिन । दिनजस्तै गहुँगोरो वर्ण र अग्लो कदका सुशरण पराजुलीको निँद आज अरु दिन भन्दा अलिक छिटो खुल्यो । आकाशमा तीनतारे पन्चासेको शिरमा अझै पुगेका थिएनन् । सेतै फुलेका दाह्री र जुँगासँग रँग मिलेको धोती काखी च्यापेर सुशरण घरै छेउ खोल्साको छायाँमा अलप भएको केही पछि भने सुशरण बाजेका घरमा अरु सदस्यहरु पनि दैला बाहिर देखिन थाले । अन्नपूर्ण र माछापुच्छ््रेका शिरमा सुनौलो लालि चढ्न थालेपछि काहुँडाँडाको टुप्पामा सुर्य किरणको जादूमय दर्शन सुरु भैहाल्यो । सुर्योदयको त्यही क्षणमा नुहाइधुवाइ गरी धोती फेरेर बाजे पुजाकोठामा छिरे अनि केहीबेरमै उक्त घरको सेरोफेरोमा धुपको सुगन्ध सहित वैदिक मन्त्र, घण्टी र शङ्खको मनमोहक ध्वनी थपियो । नित्यकर्म सकेर सेतो कमेजसुरुवालमा पिँढीमा निस्किएका सुशरण बाजेको मुखको कान्ती धपक्क बलेको थियो । बायाँ हातमा एउटा रातो गाता भएको पुस्तक लिएर उनी आँगनमा निस्के र दायाँ हत्केलाले एकपटक आफ्ना जुँगा र दाह्री सुम्सुम्याउँदै तल बेसीसम्म नजर दौडाए । सेतो कमेरो र रातोमाटोले पोतेका भित्ता अनि गाजल जस्तै कालो रङ लगाइएका झ्यालढोका भएको दुइतले उनको घरमा ढुङ्गाको छानो थियो । आँगनमा पनि ढुँङ्गैका छपनी मिलाएर लगाइएका थिए । आँगनको डिलैमा तुलसीको मठ, जुठेल्नो अनि करेसावारीका वरिपरी थरीथरीका फलफूलले घरको शोभा अझ बढाएका थिए । आँगनको डिलमा बसेर दक्षिणतीर हेर्दा पर क्षितिजसम्म तहतह परेका हरिया नागबेली डाँडाहरु देखिन्थे । पामेको बगर अनि बैदाम ताल भन्दा उत्तरपूर्व समथर मैदान देखिन्थ्यो । तालको माथिबाट सेतो वादल उडेर बेलाबेलामा बाजेकै घरमाथिको कास्कीकोट हुँदै लुम्ले काँडेसम्म पुग्थ्यो । बाजे तगारोबाट निस्कनै लाग्दा गोठमा मालिगाईले पहिलोपटक बाँ गरिन् । बाजेले फर्केर पनि हेरेनन् । उनका पाइलाहरु फटाफट कोट दरवार उक्लने सिँडीहरु चढ्न थाले । कोटको आँगनमा पुगेर सुशरण बाजेले गहिरो श्वास फेरे अनि कालिका मन्दिरलाई दाहिने पारेर तीनचोटी परिक्रमा गरी भित्र छिरेर पुजापाठ गरे । बाहिर निस्कँदा मन्दिरकै ढोकामा एक युवक भेटिए । दौरासुरुवाल र ढाकाटोपी लगाएका ती युवकले कम्मरमा कसेको पटुकीमा एउटा खुकुरी भिरेका थिए । चिल्लो गाला भएका ती गहुँगोरो युवकका माथिल्ला ओठमाथि कालो सिरुपाते जुँगा निकै सुहाएको थियो । सुशरण बाजेलाई देख्नासाथ मुसुक्क मुस्कुराउँदै दुईहात जोरेर उभिएका ती युवकका निधारमा बाजेले चन्दन र अविरको टिका लगाइदिँदै भने –“यशश्वी भवः” कास्कीकोटको सिरानमा ढुँगा र काठको कालिगढीले सिँगारिएको कोट दरवारमा आज विशेष चहलपहल छ । सेता, राता र काला पोशाकमा सजिएका मानिसहरु अलमल नगरी आफ्नो आफ्नो काममा दत्तचित्त भएका छन् । गुन्युचोली लगाएका र मजेत्रो ओढेका महिलाहरु पनि लिपपोत र बढारकुडार गर्नमा व्यस्त देखिन्छन् । दरबारको पिँढिमा सजाइएका आशनमा बसेपछि सुशरण पराजुली र ती युवकले पालैपाले केही मानिसहरुसँग बातचित गरे । ती मानिसहरुले गरेको व्यवहारबाट प्रष्ट हुन्थ्यो की ती युवक अरु कोही नभएर सिँह वँशीय युवराज जयदेव खाँ थिए । घाम जति माथि चढ्दै गयो, उति नै कोट उक्लने मानिसहरुको भिड बढ्दै गयो । सारङ् खेल खेल्ने र हेर्नेहरुको कोलाहल सुनिन थाल्यो । पन्चेबाजा बजाउनेहरुले वातावरणमा साँगितिक माहौल थपिदिए अनि नाच्ने र गाउनेहरु अघि सरे । मांशहारी र साकाहारीका लागि भिन्दाभिन्दै खानपिनको व्यवस्था थियो । दरवारको अभिलेखअनुसार लाचोक, घाचोक, धम्पुस, लान्द्रुक, घान्द्रुक, पुरन्चौर, काहुँ, भदौरे, भोटेपोखरी, पुम्दीभुम्दी, सल्यान लगायत लम्जुङ, तनहुँ, पैयु, रिसिङ, घिरिङ, मुसिकोट आदि विभिन्न राज्य र प्रान्तका प्रतिनिधिहरु कास्कीको निमन्त्रणामा सरिक भएका थिए । प्रातकालिन शुभ मुहुर्तमा मुख्य गुरु सुशरण पराजुलीले युवराज जयदेव खाँको शुभराज्याभिषेक गरेर कास्कीलाई स्वतन्त्र राज्यका रुपमा घोषणा गर्दा जयजयकारको ध्वनी र प्रतिध्वनी टाढाटाढासम्म सुनिएको थियो । नयाँ राजाले तुरुन्तै आफ्ना मन्त्रीहरुलाई सपथ ग्रहण समेत गराए । आगन्तुक पाहुनाहरुले शुभकामना व्यक्त गर्ने कार्यक्रम पछि खानपिन भयो । राजा जयदेव खाँले आफ्ना गुरु तथा मन्त्रीहरुको सुझाव र सल्लाहमा काम गरी कास्की राज्यलाई सक्षम नेतृत्व प्रदान गरे । राजनीतिक कुशलताको कारण नै उनी बिचित्र खाँको नाउँले पनि चिनिए । वास्तवमा, यिनका पुर्खाहरु दक्षिणतिरबाट सर्दैसर्दै उँभो आएका थिए । उनका छोरा कुलमण्डल खाँले लम्जुङ र कास्कीको राजा भएपछि आफूलाई सम्मानस्वरुप प्राप्त शाह पदवीलाई नै आफ्नो थरका रुपमा प्रयोग गरेपछि नेपालमा शाह वँशको श्रीगणेश भयो । कुलमण्डल शाह निकै महत्वाकाँक्षी राजा थिए । उनका गुरु थिए देवानन्द पराजुली । आध्यात्मिक दक्षताले प्रशिध्द गुरु देवानन्दसँग प्रातः र सन्ध्याकालमा आफैँ बज्ने अनौठो दाहिने शङ्ख थियो । यी शिध्द पुरुषको तेज र ख्याती जताततै चर्चित थियो । यिनै त्रिकालदर्शी ज्ञानी पण्डितका मार्गदर्शन र आशिर्वादका कारण नै राजा कुलमण्डल शाहले चौतर्फी ख्याती कमाउन सकेका थिए । कुलमण्डल शाहले गुरुलाई रिझाउन पोखराको बगरमा रहेको भिमकालीको ढुँगामाथिबाट देखिनेजति सबै भूमि आफ्ना गुरुलाई नै दान दिएका पनि थिए । तर, सत्ताको चुलीमा रहँदा राजाका बुध्दिमा विस्तारै धमिरा लाग्नथाले । आफ्नो कान भर्ने भारदार समेतको उक्साहटमा लागेर राजाले गुरुको शङ्ख आफ्नो बनाउने प्रयास गर्नथाले । देवानन्दले उक्त शङ्ख राजालाई दिन इन्कार गरेका थिए । असारको महिना थियो । मानिसहरु वेशीमा धान रोप्ने सुरसारमा व्यस्त थिए । मनसुनी बर्षाको मात्रा बढीरहेको थियो । पाखापखेरा नै बढारेर लैजान्छ की जस्तो गरी मेघगर्जन सहित मुसलधारे पानी परिरहेको थियो । गुरु देवानन्द घरको पिँढीमा बसेर कुनै पुस्तक पढिरहेका थिए । गुरुआमा गोठमा गाईलाई कुँडो खुवाउने बन्दोवस्तमा थिइन् । गुरु परिवारका दुईभाई छोरा र एक छोरी पिँढीमै बसेर धुलौटे पाटीमा लेखपढ गरिरहेका थिए । एकाएक दक्षिण पश्चिमपट्टीको पञ्चासेको थाप्लोतिर भयङ्कर आवाजमा बिजुली चम्क्यो । केटाकेटी तर्सेर च्याँठिँदै रोएको आवाजले बाजेबज्यै दुवैको ध्यान भङ्ग भयो । जेठोचाहीँ छोरोलाई चट्याङ लागेछ । उनी कहिल्यै नउठ्ने गरी ढलेका थिए । छोराको टाउकै नेर बज्यै पनि सुकेको रुख ढलेझैँ लडिन् । देवानन्द बाजे दुईजना छोराछोरी अँगालोमा बेरेर केटाकेटी जस्तै निकैबेर रोए । पुत्र वियोगमा विरक्त भएका गुरु एकदिन बिहान सवेरै पोखरातिर झरेको थिए । राजाकहाँ खवर पुगिहाल्यो । मौका हेरिबसेका राजाले एकजना विश्वासीला भारदारलाई गुरुको घरमा पठाइदिए । राजाको योजना मुताविक देवानन्द बाजेका घरमा पुगेको भारदारले यताउती हेर्दै निकै चलाखीसाथ बज्यैसँग गूरुले आफुलाई शङ्ख लिन पठाउनु भएको भनी बतायो । सोझी बज्यै दायाबायाँ केही नसोची पुजाकोठामा गइन् । बाजेले श्रध्दापूर्वक पुजा गरी राखेको दाहिने शङ्खलाई दुईहात जोडी नमस्कार गरिन् र दुईहातले विस्तारै उठाएर ल्याई त्यो भारदारका हातमा राखिदिइन् । शङ्ख हात पर्नासाथै बज्यैलाई चिप्लो घस्नेपाराले धन्यवाद दिँदै त्यो भारदार मन्दमन्द मुस्कुराउँदै कास्कीकोट दरवारमा राजाका सम्मुख उभियो । झुक्याएर शङ्ख दरबारमा ल्याएपछि कुलमण्डल शाह र गुरु देवानन्द पराजुलीका बीच मनोमालिन्य बढ्यो । राजासँग विद्रोह गरी देवानन्द बाजे सपरिवार पोखरा झरे । आफ्ना अनन्य मित्रले अचानक घरगाउँ त्यागेर बसाईँ सरेको सम्झनामा गुरु देवानन्द पराजुलीका बालसखा शिवशरण तिवारीले मित्रपूजा गर्ने प्रचलन नै बसाले । तर राजा कुलमण्डल शाहले राजकीय दम्भ तथा दरवारका स्वार्थी मन्त्री र भारदारहरुको कुरामा लागेर आफ्ना गुरुको वास्ता समेत गरेनन् । सुशरण गुरुले निर्माण गरेको घर उनका छोरा देवानन्दले छाडेर हिँडेपछि अहिले भग्नावशेषमा परिवर्तन भएको छ । राजगुरुले नुहाउन प्रयोग गरेको इनार अहिले सँरक्षणको अभावमा पुरिँदै गएको छ । पोखरा झरेको केही समय पश्चात् देवानन्द गुरु पनि परलोक गए । त्यसरी राजाले आफ्ना पुर्खा देवानन्द माथि अन्याय र छलगरेको विरोधमा पोखरा र चैनपुर निवासी पराजुली बन्धुहरुले आजसम्म पनि आफन्तको शवयात्रामा शङ्ख बजाउँदैनन् ।