एक धर्को सिन्दुर हाल्न नसक्ने तिम्रो भ्यालेन्टाइन 'एउटा कुरा भनूूँ,’ उसले भनी उसको केश सुम्सुुम्याइरहेका मेरा हात रोकिए, ‘एउटा किन? दुई–चार वटा भन न।’ ‘सिरियस हो? सिरियस भए, इमर्जेन्सीमा लैजाउँला।’ ‘साँच्चै भन्या, जिस्केको होइन,’ ऊ गम्भीर बनी। केशरमहलको गार्डेन अफ ड्रिम्स। उसको काख मेरो सिरानी। हामीजस्ता थुप्रै जोडी आ–आफ्नै संसारमा मस्त छन्। ‘भनन त।’ ‘बाबाले केटो हेर्नु भा’छ रे,’ अनुहारको भावभंगी बिगारेर उसले भनी, ‘ब्रिटि्रस लाहुरे.....’

मोबाइलको घन्टी बज्यो। कुरा बीचमै रोकेर फोन उठाएँ।

आमाको फोन। बुबालाई हिजोआज साह्रै बिरामी हुनुहुुन्छ रे। ‘परीक्षा सकियो भन्या होइन, छिटो घर आइज्,’ आमाले घरको अवस्था सुनाउनुुभयो। ‘हस् आमा’ मैले कुराकानी टुंग्याएँ।

‘अनि के भो?’ ऊसँगको कुराकानीलाई मैले फेरि जोडेँ।

ब्रिटि्रस लाहुरेसँग उसको बिहेको कुरा छिनिएछ। जागिरे केटो भएकाले बुबाले उसलाई नसोधी ‘हुन्छ’ भनिदिएछन्। बिहेको तयारी गर्न उसलाई पनि घर बोलाएका छन्। ऊ मुर्मुरिँदै थिई। दोस्रो वर्षको जाँच भएकाले एक महिनापछि भएको भेटमा यति गम्भीर विषयमा छलफल गर्ने हामीलाई फुर्सदै भएन।

‘हामी भागौं,’ उसले निर्णय सुनाई, 'मलाई तपाईंबिना यो दुनियाँमा बाँच्नु छैन्। कतै टाढा जाउँ, तपाईं र म मात्र भएको ठाउँमा।’

मेरो टाउकोमा एकैपटक हजार किलोको भारी राखेझैँ भयो। ब्याचलर पास गरेर जागिरे भएपछि मात्र बिहे गर्ने योजना थियो। बिरामी बुबा सम्झेँ। भाइबहिनी सम्झेँ। न पढाइ सकिएको छ, न जागिरै छ।

लामो सास फालेँ। हावा खुस्क्यो। टाउको दायाँबायाँ हल्लाएँ।

'अहिले भागेर कहाँ जाने? पढाइ सकिएको छैन। दुवै बेरोजगार, घरमा पनि हामीलाई स्वीर्कादैनन्, तिमी राईको छोरी, म बाहुन,' एक पाइला पछि हट्दै उनलाई सम्झाउन खोजेँ, ‘भाग्यौं भने जताततै दुखैदुःख। न तिमी राम्रो गर्न सक्छौ, न म। बरु त्यही केटासँग बिहे गर। कम्तीमा तिमीलाई त सुख हुन्छ....।’

मेरो कुरा सक्किएकै थिएनँ। उसको आँखा आँसुले पुरियो। दोपट्टाको छेउले आँसु पुछ्दै चुपचाप बगैँचाबाट निस्की।

० ० ०

एसएलसी सकेर पढ्न काठमाडौं आएको म जोकोहीसँग बोल्न डराउँथेँ। केटीमान्छेसँग त झन्। कलेज गएको पहिलो दिन नै उसलाई देखेको हुँ। बोली हाल्ने आट त ममा थिएनँ। हेर्दा पनि कसैले थाहा पाउँछन् कि झैँ लाग्थ्यो। उसलाई देख्दा म आफूलाई बिर्सन्थेँ। खै कस्तो आकर्षण हो? मेरो दृष्टि र दिमाग उनीतिरै पुगिहाल्थ्यो। तर, उसलाई केही भन्ने आँट कहिल्यै आएन।

केही उत्साह, केही उत्सुकता, केही डर र काउकुतीमै बित्यो– कलेजको पहिलो वर्ष।

जाँच सकिएपछि साथीहरूले मनकामना घुम्न जाने सल्लाह गरे। म पनि टिममा मिसिएँ। १० जनाको समूह बन्यो – २ केटी, ८ केटा। साउन पहिलो साता हामी मनकामना गयौं। बिहानै जाने साँझ फर्किहाल्ने प्लान बन्यो।

केबुलकार यात्रा मेरो पहिलो अनुुभव थियो। जहाज कहिल्यै चढेको थिइनँ। जहाजमा पनि यस्तै हुँदो हो। तर छेउमै उसलाई देख्दा लाग्यो– सिमलको भुवा बनेर हावामा उडिरहेको छु।

यात्रा उसलाई कस्तो लाग्यो, थाहा भएन। सोध्ने हिम्मत पनि त थिएन। हाम्रो सम्बन्ध ‘हाइ हेलो’मै सीमित थियो।

मन्दिर दर्शनपछि साथीहरु सबै मनकामनाको चिनो किन्न थाले। ‘कि रिङ’मा नाम पनि लेखाउन पाइँदोरहेछ। उसले पछाडी मनकामनाको फोटो भएको ‘कि रिङ’मा आफ्नो नाम लेख्न भनी। जिन्स पाइन्टका खल्ती छामछुम पारी। ब्याग खोतली। र, भनी – भयो नलेख्नुस्।

ऊ सरासर केवलकार चढने ठाउँ आई। हामी फर्कियौं। बाटोभरी उ निराश देखिन्थी। मनकामनाबाट आफ्नो नाम लेखेको ‘कि रिङ’ उसले ल्याउन पाइन।

बसले अबेर कलंकी ल्याइपुर्‍यायो। रात परिसकेको थियो, सिमसिम पानी पनि। छुट्टिनेबेला मैले उसलाई प्लास्टिकको सानो पोका दिएँ। ऊ अन्कनाई।

'उपहार हो। मन नपरे फिर्ता गरिदिनूू।’ उसले हात भारी गरेर उपहार थापी।

‘अँ, घर पुगेपछि मात्र खोल्नुु नि।’

झोला टाउकोमाथि राखेर पानी छेक्दै म बल्खु आउने गाडी चढेँ।

कोठा नपुग्दै मोबाइलको घन्टी बज्यो।

'थ्याङ्क्युु,’ उसैले गरेकी थिई। मैले दिएको प्लास्टिकको पोकामा एउटा किरिङ थियो। त्यसमा उसैको नाम लेखिएको थियो– तारा राई।

आक्कल झुक्कल फोनमा कुरा हुन थाल्यो। म सोध्थेँ – कीर्तिपुर घुम्न कहिले आउने?

'मिलाएर आउँला नि,’ ऊ निम्तो स्विकार्थी।

केही दिनमै फोन धेरै व्यस्त हुन थाल्यो। आत्मियता बढ्दै गयो। सँगै घुम्ने ठाउँ पनि बढे। कहिले गोदावरी पुग्यौं, कहिले स्वयम्भूका आँखाअघि आफूलाई लुकाउँदै हिँड्यौं, कहिले पशुपतिका टुँडाल हेरेर मुस्कुरायौं। कहिले भृकुटीमण्डपमा एक कप चिया बाँडेर खायौं। लाग्थ्यो– संसारै हाम्रो हो, हामी नै संसार हौं।

ऊ सोध्थी, ‘पढेर के बन्ने?’

‘म पत्रकार बन्ने, तिमी?’

‘गृहमन्त्री।’

‘हँ।’

‘अँ, पत्रकारकी गृहमन्त्री।’

बेस्सरी हाँस्थ्यौं हामी। संसारै हाम्रो जस्तो, हामी नै संसारजस्तो।

सबै ठाउँ चहारेपछि त्यही स्वप्न बगैँचा रमाइलो लाग्यो, सुरक्षित पनि। भित्र महँगो हुने भएकाले खाजा बाहिरबाटै बोकेर लान्थ्यौं। हप्तामा बरु एक दिनमात्र भेट्थ्यौं तर ठाउँ त्यही हुन्थ्यो।

बगैँचामा म पाउलो काहेलोको अल्केमिस्ट पढ्थें। ऊ ध्यान दिएर सुन्थी। र, भन्थी, ‘हामी पनि समुन्द्री तटमा जाने, मरुभूमिमा हराउने र हिमाल हेर्न मुस्ताङ जाने।’

‘कहिले?’

'हनिमुन मनाउन,’ अलिकति लजाएजस्तो उसको अनुहारमा हाँसो छरिन्थ्यो।

‘अहिले मसँग तिमीलाई सिन्दुर हाल्ने पैसा त छैन्, कसरी घुम्ने?’ म जिस्कन्थंे।

‘राईकी छोरीलाई सिन्दुर लाउनै पर्दैन हाउ।’

‘बाहुनी हुन त सिन्दुर हाल्नै पर्छ।’

‘घुमेर पनि पैसा बच्यो भने सबै सिन्दुर लाएरै सक्छु, हुन्छ?’ ऊ साउती गर्थी।

साउतीले झन् रोमाञ्चित बनाउँथ्यो।

साँझ अबेरसम्म हामी त्यहीँ बसिरहन्थ्यौँ। आकाशमा ताराहरू निस्कन सुरु गर्थे। हामी तारा गन्ने प्रतिस्पर्धा गर्थ्यौं। रात छिप्पिएपछि तारा गन्न सम्भव हुँदैन। अबेरसम्म बगैँचामा बस्ने अनुमति पनि समयले दिँदैनथ्यो। दुवैले डेरा फर्कने गाडी समात्नै पर्थ्यो।

० ० ०

ऊसँग छुट्टिएको भोलिपल्टै म घर हान्निएँ। पटकपटक फोन गर्दा पनि उसले उठाइन। बुबाको रोग निको भएन। झन् बल्भि्कयो। दुई महिनापछि नै स्वर्गे हुनु भयो।

भाइबहिनी पढाउने जिम्मेवारी मेरो काँधमा आयो। गाउँकै स्कुलमा पढाउन थालेँ। दुई वर्ष त्यतै बिते।

पछि पैसा जोगाएर बिए पढ्न काठमाडौं आएँ। विरक्ती लाग्दा स्वप्न बगैँचा जान्थेँ। अबेरसम्म बस्थेँ र भर्खरै फाट्टाफुट्ट देखिन सुरु गरेका तारा हेरिरहन्थेँ।

एकदिन गार्डेन छिर्ने टिकट काट्ने बेला उसलाई देखें। हेराहेर भयो। बोल्ने हिम्मत आएन। दुवै जना भित्र गयौं।

‘सधैँ आउनुहुन्छ?’ कुराकानी उसैले सुरु गरी।

'कहिलेकाहीँ आउँछु।’

'म शुक्रबार–शुक्रबार अफिसपछि यहाँ पसेरमात्र घर जान्छु।’

ऊ कान्तिपथको एक बैंकमा क्यासियर रहिछे। बिहे त्यही लाहुरेसँग भएछ। लोग्ने बेलायत, ऊ काठमाडौं। मजस्तै नियास्रो मेट्न स्वप्नबगैँचा आउँदीरहिछे।

समयले हामीलाई फेरि एकपटक पुरानै ठाउँमा ल्याएर उभ्याएको थियो। धेरैपछि हामी अबेरसम्म बस्यौं, आकाशमा तारा देखिन थाले।

'तिमी हिँड्ने तारा हौ। म ऊ त्यो तारा हुँ,’ आकाशका दुुई तारालाई औंलाले पालैपालो देखाउँदै उसले भनी, ‘तिमी कहाँ पुगिसक्यौ। म जहाँ थिएँ, त्यही छु।’

उसको आँखा आकाशतिरै अडिएका थिए। आफैंले मात्रै सुने हुन्थ्यो झैँ गरी मेरो आवाज निस्कियो– त्यो तारालाई के थाहा? हिँड्ने ताराको बाध्यता। ऊपनि सधैँ त्यही ताराको छेउमा बस्न चाहन्थ्यो। तर उसले छेऊमा राखेन। त्यसैले कहिलेकाहीँ देख्न मात्र भए पनि ओहोरदोहोर गरिरहन्छ होला।

उसले गहभरी आँशु पारी। उसको गुनासो थियो, ‘त्यो दिन अलिकति हिम्मत गर्नुभएको भए आज मेरो यो हालत हुने थिएन।’

'जसो गरे पनि तपाईंलाई बिर्सन सक्दिनँ। हुँदाहुँदा उसलाई पनि तपाईं नै देख्छु र आफूलाई सुम्पन्छु,’ उ भक्कानिई। ग्वार्लाम्म अँगालो हाली।

आफ्नैजस्तो लाग्ने यो संसार र संसारै हौं जस्तो लाग्ने हामी त्यसदिन सँगै भएर पनि सँगै थिएनौं। उसको कपाल सुम्सुम्याउँदै भनेँ, ‘एक धर्को सिन्दुर हालेर तिमीलाई बाहुनी बनाउन सकिनँ। कस्सम..., अब कसैलाई सिन्दुर हाल्ने छैन।‘ उसले अँगालो झन् बेस्सरी कसी।

बगैँचाबाट गह्रौं मन गरेर हामी पुरानो बसपार्क पुग्यौं। ऊ बानेश्वर गई, म कीर्तिपुरको माइक्रोचढें। कीर्तिपुर पुग्दा सिमसिम पानी परिरहेको थियो। रुझेरै कोठामा पुगें, भित्रैदेखि चिसिएको थिएँ। लुुगा फेरेँ तर न्यानो भएन। खाना बनाउनै मन लागेन। ओछ्यानमा पल्टिएँ। जति कोल्टे फेरे पनि छटपटी बढिरह्यो। आफू–आफू रहिनँ।

समय त रोकिँदैन। रात जसोतसो कट्यो। मनमा त उज्यालो भएकै थिएन। मोबाइलमा एफएम लगाएँ। समाचार आइरहेको थियो। एउटा समाचारले स्तब्ध बनायो, ‘वानेश्वर डेरा गरी बस्ने, वर्ष २३ की तारा राईले आत्महत्या गरेकी छन्। घटनास्थलमा सुसाइड नोटसमेत लेखिएको छ। सुसाइट नोटमा ‘पटकपटक मर्नुभन्दा एकैचोटि मर्नु वेश’ लेखिएको पाइए पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अनाचक सबैतिर अँध्यारोले ढाक्यो। निस्पट अन्धकार। त्यसपछि केही थाहा भएन। निकै बेरपछि ब्युँझिँदा घाम धेरै माथि आइसकेको थियो। घरअगाडिको मोटरसाइकल वर्कशपमा चर्को स्वरमा गीत बजिरहेको थियो – आ कहीँ दूूर चलेँ जाए हम ...।

उ यो दुनियाँ छाडेर धेरै टाढा गइसकी। अझैसम्म यो पत्याउन मन तयार छैन। उसले भनेजस्तै ऊ साँच्चै तारा बनिसकी। म यहीँ छु, उस्तै छु।

आजभोलि ताराहरु मलाई गिज्याउन आउँछन्। उनलाई खोज्दै गगनमा आँखा डुुलाउँछु। उसले देखाएकै तारा बोल्छे – कति कायर छौं है तिमी।

म नतमस्तक हुुन्छु र स्वीकार्छु – हो, म तारा हेर्न साँच्चै डराउँछु ।