इन्टरनेट के हो? इन्टरनेटको बारेमा बुझ्नु अघि हामीले नेटवर्क भनेको के हो भन्ने कुरा थाहा पाउनुपर्छ । दुई वा दुईभन्दा बढी कम्प्युटरलाई आपसमा तार वा ताररहित माध्यमद्वारा जोडियो वा एउटा कम्प्युटरबाट अर्को कम्प्युटरमा रहेको डाटा वा प्रोग्रामलाई चलाउन सकियो भने त्यहाँ नेटवर्क भएको मान्नुपर्छ। नेटवर्क भनेको कम्प्युटरहरूबीचको सन्जाल हो र यो आकारको आधारमा तीन प्रकारको हुन्छ। १) Local Area Network यो सबैभन्द सानो आकारको नेटवर्क हो। यस्तो नेटवर्क एउटा घर वा क्याम्पसमा केही किलोमिटरसम्म फैलिएको हुन सक्छ। हामीले साइवर क्याफे, स्कुल, क्याम्पस आदि ठाउँमा देखेको नेटवर्क यही नै हो। २) Municipality Area Network यो नेटवर्क LAN कै ठूलो रूप हो। २-४ वटा घर मात्र नभई यस्ता नेटवर्क पूरा सहरभरि फैलिएको पनि हुनसक्छ। ३) Wide Area Network यस्तो नेटवर्कले ठूलो भौगोलिक क्षेत्र ओगटेको हुन्छ। यो प्रायः देश वा महादेशभरि फैलिएको हुन्छ र LAN तथा MANको तुलनामा आकारको हिसाबले यो निकै ठूलो हुन्छ। दुई वा दुईभन्दा बढी नेटवर्कहरू जोडिएर इन्टरनेटवर्क (Internetwork) बन्दछ। इन्टरनेट (Internet), इन्टरनेटवर्कको बहुचर्चित उदाहरण हो। ई. सं. १९६०को मध्यतिर अमेरिकाको सुरक्षा निकायले बनाएको ARPANETको विकसित रूप नै आजको इन्टरनेट हो। इन्टरनेटले आजको समयमा पाएको अभूतपूर्व प्रसिद्धिका बारेमा निर्माणकर्ताहरूले शायद सोचेका पनि थिएनन् होला। कम्प्युरबाट इन्टरनेट कसरी चलाउने त? हाम्रो कम्प्युटरलाई इन्टरनेटसँग जोड्न वा सामान्य शब्दमा इन्टरनेट चलाउन तीनवटा कुराको आवश्यकता हुन्छ। मोडेम (Modem) भएको कम्प्युटर। टेलिफोन लाइन। इन्टरनेट खाता इन्टरनेट चलाउन तल दिइएका बुँदाहरूको अनुसरण गर्नुपर्दछ। १) कम्प्युटरमा फोन लाइन जोड्ने हाम्रो कम्प्युटरमा मोडेम छ भने हामीले सिपियु (CPU) को पछिल्लो भागमा फोनको तार जोड्न मिल्ने ठाउँ देख्छौँ। त्यो ठाउँमा फोनको तार लगेर जोड्नुपर्छ। यदि त्यस्तो ठाउँ छैन भने हाम्रो कम्प्युरटरमा मोडेम भन्ने पुर्जा नहुन सक्छ र हामीले त्यसलाई बजारबाट किनेर हाम्रो कम्प्युटरमा जडान गर्नुपर्छ। यसको मूल्य हजार रूपैयाँसम्म पर्न सक्छ। २) इन्टरनेट खाता खोल्ने कुनै पनि इन्टरनेट सेवा दिन सक्ने कम्पनीमा निश्चित पैसा तिरेर इन्टरनेट खाता खोल्न सकिन्छ। पाल्पाको सन्दर्भमा हामीले नेपाल टेलीकम, वर्ल्डलिंक कम्युनिकेशन्स, बायु कम आदिबाट इन्टरनेट सुविधा पाउन सक्छौँ। यस्ता कम्पनीहरुलाई इन्टरनेट सेवा प्रदायक (ISP) भनिन्छ। खाता खुलेपछि कम्पनीले हामीलाई युजर नेम, पासवर्ड र फोन नम्बर दिन्छ। पासवर्ड हामीले निकै जतनसाथ गोप्य राख्नुपर्छ। ३) युजरनेम, पासवर्ड र फोन नम्बर राख्ने ठाउँ कसरी बनाउने? हामीमध्ये धेरैले विन्डोज एक्सपी चलाउँछौँ। त्यहाँ युजर नेम, पासवर्ड र फोन नं. राख्न निश्चित ठाउँ बनाउनुपर्छ। त्यसको लागि तल भनिएअनुसारको कदम चाल्नुपर्छ। सबैभन्दा पहिले माई नेटवर्क प्लेसेज (My Network Places) मा डबल क्लिक गर्ने। त्यहाँभित्र बायाँपट्टि (ँिेौ णेतौोरक चोननेछतिोनस) भनेर लेखिएको लिंक हुन्छ। त्यसमा क्लिक गरेपछि फेरि त्यही ठाउँमा (Create New Connection) भन्ने लिंक देखिन्छ। त्यसमा क्लिक गरेमा एउटा बट्टा (Dialogue Box) खुल्छ। त्यसमा कम्प्युटरको निर्देशनअनुसार आवश्यक विवरण भर्दै Next भन्ने बटनथिच्दै जानुपर्छ र अन्त्यमा Finish थिच्नुपर्छ। त्यसो गरेपछि एउटा नयाँ आइकन बन्छ (दुईवटा कम्प्युटरको बीचमा फोन भएको) त्यस आइकनमा क्लिक गरेर युजरनेम पासवर्ड र फोन राख्ने ठाउँ रहन्छ। सबै कुरा निश्चित ठाउँमा राखेर Connect भन्ने बटन थिच्नुपर्छ। युजरनेम र पासवर्ड सही भएमा मनिटरको दायाँपट्टी पुछारमा एउटा आईकन गएर बस्छ र (ISP) is now connected भन्ने सूचना आउँछ। इन्टरनेट जोडिएपछि हामी विभिन्न किसिमका ब्राउजर (Browser) को मद्दतले वेबसाइट (Website) हरू हेर्न सक्छौँ। Internet explorer, Netscape Navigator, Opera, Mozila Firefox जस्ता कुनै पनि ब्राउजर खोलेर त्यसको Address Barमा आफूले हेर्न चाहेको साइटको नाम लेखेर क्लिक गरेमा त्यो साइट हाम्रो ब्राउजरमा खुल्छ। जस्तै कान्तिपुर दैनिकको ठेगाना www.ekantipur.com लेखेर इन्टर गरेमा इन्टरनेटमा हाम्रो ब्राउजरमा कान्तिपुर दैनिकको गृह पृष्ठ खुल्छ। यसरी हाम्रो काम सकिएपछि इन्टरनेट बन्द गर्न दायाँपट्टी पुछारमा भएको आइकनलाई डबल क्लिक गरेमा एउटा बट्टा खुल्छ। त्यस बट्टामा हामीले कतिबेर इन्टरनेट चलायौँ भन्ने सूचना हुन्छ। सोही बट्टाको पुछारमा रहेको Disconnect भन्ने बटन थिचेमा हाम्रो कम्प्युटरमा इन्टरनेट बन्द हुन्छ । लिनक्सको डिस्ट्रो छान्ने तरीका केही समय यता लिनक्स निकै नै प्रचलित हुँदै गइरहेको छ। माइक्रोसफ्ट विन्डोजमा हुने भाइरस तथा कम्प्युटर ह्यकिङग हुने समस्या अनि सुरक्षा सम्बन्धी कारणले गर्दा दिक्क भई विश्वका धेरै प्रयोगकर्ताहरूले माइक्रोसफ्ट विन्डोजको सट्टा लिनक्स प्रयोग गर्न थालेका छन्। विश्वव्यापी रुपमा सरकारी तवरमा पनि लिनक्सको प्रयोग तथा सूचना प्रविधि सम्बन्धी अन्तरराष्ट्रिय कम्पनीहरूले लिनक्स तथा खुला तथा स्वतन्त्र सफ्टवेयरमा देखाउन थालेको चासोका कारणले पनि लिनक्सको प्रयोग दिन प्रतिदिन बढ्दै गइरहेको छ। तर लिनक्स चलाउन चाहने जोसुकै सबै भन्दा पहिले लिनक्सका सयौं प्रकारहरूका बीच हराउने गर्दछन्। लिनक्सका बारेमा पहिले सुन्नु भएको छ भने पक्कै पनि तपाईले रेडह्याट, फेडोरा, उबुन्टु जस्ता विभिन्न लिनक्सका प्रकारका बारेमा सुन्नु भएको होला। यस्ता लिनक्सका प्रकारहरूलाई Distribution वा छोटकरीमा Distro भन्ने गरिन्छ। अहिलेसम्म पाच सय भन्दा बढि यस्ता डिस्ट्रोहरूको विकास भैसकेको छ। रमाइलो कुरा के छ भने, यदि तपाईसँग लिनक्सको ज्ञान छ भने तपाई पनि आफ्नै यस्तो डिस्ट्रो बनाउन सक्नु हुन्छ। फरक फरक डिस्ट्रोको आआफ्नै विशेषता हुने गर्दछ। कुनै डिस्ट्रो डेस्कटप कार्यहरूका निम्ति उपयुक्त हुन्छ भने कुनै डिस्ट्रो सर्भरका निम्ति। यदि तपाइ घरमा टाइप गर्न, इमेल इन्टरनेट प्रयोग गर्न, भिडियो तथा अडियो कार्यहरूका निम्ति प्रयोग गर्न लिनक्स डिस्ट्रोको खोजीमा हुनुहुन्छ भने उबुन्टु लिनक्स उपयुक्त हुन सक्छ। केही समय यता उबुन्टु लिनक्स निकै नै राम्रो हुदै गइरहेको तथा बढि भन्दा बढि हार्डवेयर हरू चल्ने हुँदै गइरहेको छ। त्यसमाथि Cononical नामको कम्पनीले निर्माण गर्ने तथा हरेक ६ महिनामा नयाँ सँस्करण निकालिने हुनाले पनि यस डिस्ट्रोको प्रयोग गर्दा सधै Update भइने कुराको ग्यारेन्टी हुने गर्दछ। यदि तपाईको कम्प्युटरमा इन्टरनेटको सुविधा छ भने नयाँ सफ्टवेयरहरू हाल्न पनि यस उबुन्टु लिनक्समा निकै नै सजिलो हुने गर्दछ। यसबाहेक घरको कम्प्युटरमा प्रयोग गर्नको निम्ति Fedora लिनक्स पनि निकै नै प्रचलित छ। उबुन्टु लिनक्स जस्तै ६/६ महिनामा नयाँ सँस्करण आउने नभए पनि यस लिनक्स विश्वव्यापी रुपमा धेरै प्रयोगकर्ताहरूले प्रयोग गर्ने गर्दछन्। यदि तपाई चलाउँदा विन्डोज जस्तै लाग्ने लिनक्सको खोजीमा हुनुहुन्छ भने सबै भन्दा राम्रो डिस्ट्रो Xandros desktop हुन सक्छ। Xandros desktop विन्डोजको प्रयोगकर्ता हरूलाई गाह्रो नहुने गरि तथा चलाउँदा प्राय विन्डोज जस्तै लाग्ने गरि बनाइएको छ। हुन त लिनक्स चलाउने भनेपछि विन्डोज जस्तै देखिनु त्यति सान्दर्भिक नहोला, तर कसैकसैलाई यो पक्ष महत्वपूर्ण हुन सक्छ। Linspire नामको डिस्ट्रो पनि विन्डोजका प्रयोगकर्ताहरूलाई सजिलो लाग्न सक्छ। Xandros जस्तै विन्डोजसंग मेल खाने बनाइएको भए तापनि यसमा Xandrosको भन्दा सजिलो सँग सफ्टवेयरहरू हाल्न सकिन्छ। केही क्लिकमै सफ्टवेयर सर्च गर्ने तथा इन्स्टल गर्ने सुविधा Linspireमा रहेको छ। यदि तपाई Xandros वा Linspire प्रयोग गर्ने सुरमा हुनुहुन्छ भने तपाईका निम्ति Progression Desktop नामको सफ्टवेयर पनि निकै काम लाग्न सक्छ। यस सफ्टवेयरले कम्प्युटरमा रहेको विन्डोजका सेटिङ् तथा फाइलहरूलाई लिनक्समा सार्ने गर्दछ। विन्डोजमा चल्ने गेम लिनक्समा खेल्नका लागि विशेष प्रकारका लिनक्स डिस्ट्रोहरू रहेका छन्। यस प्रकारका कार्यका निम्ति Win4lin नामको डिस्ट्रो उपयुक्त हुन सक्छ। तर यस डिस्ट्रोमा इन्टर्नेट चलाउन भने अलि अप्ठ्यारो भएको कुरा यसका प्रयोगकर्ताहरूले बताएका छन्। त्यस्तै TransGaming Technologiesले बनाएको Codega नामको सफ्टवेयरको प्रयोगबाट पनि कुनै पनि लिनक्स डिस्ट्रोमा विन्डोजका गेमहरु खेल्न सकिन्छ। यसबाहेक विन्डोजमा चल्ने सफ्टवेयरहरू लिनक्समा चलाउनको निम्ति Wine नामको सफ्टवेयर पनि प्रयोग गर्न सकिन्छ। अफिसका निम्ति प्रयोग गर्न पनि विभिन्न प्रकारका लिनक्स डिस्ट्रोहरू रहेका छन्। यदि तपाई हेर्दा राम्रो तथा चलाउन पनि सजिलो लिनक्स डिस्ट्रोको खोजीमा हुनुहुन्छ भने Novellको OpenSUSE प्रयोग गर्न सक्नु हुन्छ। अफिसका निम्ति Redhat Enterprise Edition लिनक्स पनि प्रयोग गर्न सकिन्छ। केही समय यता उबुन्टु लिनक्स पनि निकै राम्रो तथा सुधारिएको रुपमा उपलब्ध हुन थालेको छ। त्यसकारण यस लिनक्स पनि अफिसहरूमा प्रयोग गर्न सकिन्छ। त्यस्तै यदि तपाई शैक्षिक कार्यका निम्ति लिनक्सको प्रयोग गर्न चाहनुहुन्छ भने Edubuntu नामको लिनक्समा निकै नै शैक्षिक सामग्रीहरू रहेका छन्। बालबालिकाका निम्ति शैक्षिक खेलहरू देखि लिएर कलेज पढ्ने विद्यार्थीहरूका निम्ति पनि विभिन्न सफ्टवेयरहरू रहेको यस Edubuntu उबुन्टु लिनक्सलाई परिमार्जित गरि बनाइएको हो, र प्रत्येक ६ ६ महिनामा यसको नयाँ सँस्करण आउने गर्दछ। श्रव्य दृश्य सम्बन्धी कार्यको निम्ति उबुन्टुकै छुट्टै डिस्ट्रो पनि रहेको छ। Ubuntu Studio नाम दिइएको यस लिनक्स डिस्ट्रोमा श्रव्य तथा दृश्य सम्पादनका निम्ति थुप्रै सफ्टवेयरहरू रहेका छन्। यदि तपाई कम्प्युटर सम्बन्धी काम गर्नु हुन्छ र लिनक्स सिकी यसलाई आफ्नो पेसा बनाउन चाहनुहुन्छ भने तपाईको निम्ति Redhat Linux उपयुक्त हुन्छ। Redhat Linuxले लिनक्सका विभिन्न पाठ्यक्रम बनाउनुका साथै परीक्षा पनि लिने गर्दछ। Redhatको Redhat Certified Professionalनामको लिनक्स सम्बन्धी पाठ्यक्रम तथा यसको परीक्षा विश्वभरी नै चर्चित रहेको छ र यसको परीक्षा उत्तीर्ण गरेको जो कोहीलाई विश्वव्यापी रूपमा लिनक्सको विज्ञको मान्यता दिइने गरिन्छ। लिनक्सलाई निकै नै पुरानो कम्प्युटरमा पनि प्रयोग गर्न सकिन्छ। पुराना कम्प्युटरहरूमै प्रयोग गर्न बनाइएको Damn Small Linuxनामको लिनक्स डिस्ट्रो पुरानो Pentium तथा 486 कम्प्युटरमा पनि प्रयोग गर्न सकिन्छ। पुरानो कम्प्युटरमा चल्ने भए तापनि यस Damn Small Linuxमा नयाँ लिनक्समा रहेका सम्पूर्ण सुविधाहरू रहेका छन्। यसरी लिनक्सको प्रयोग गरि तपाइ फाल्न तयार पारिएका कम्प्युटरहरूमा पनि नयाँ ज्यान भर्न सक्नुहुन्छ। यदि तपाइ नेपाली मा लिनक्स चलाउन चाहनुहुन्छ भने यो सुविधा पनि लिनक्समा उपलब्ध छ। यसको निम्ति मदन पुरस्कार पुस्तकालयद्वारा निर्माण गरिएको नेपालीनक्स निकै नै राम्रो रहेको छ। हुन त अरू लिनक्स डिस्ट्रोहरू पनि नेपाली भाषामा आउने बनाउन सकिन्छ तर यस नेपालीनक्सलाई विशेषत नेपालीमै चलाउन मिल्ने गरि बनाइएको छ। यसमा रहेका सम्पूर्ण सफ्टवेयरहरू नेपाली भाषामा रहेको छन्। त्यसकारण अङ्ग्रेजी भाषाको प्रयोगको कारण कम्प्युटरको प्रयोग गर्न गार्‍हो हुने गरेको छ भने यस नेपालीनक्स निकै नै सजिलो हुन सक्छ। नेपालीनक्सको सिडि ललितपुरको पाटनढोका स्थित मदन पुरस्कार पुस्तकालयको कार्यालयमा निकै नै कम मूल्यमा प्राप्त गर्न सक्नु हुन्छ। यति धेरै रहेका लिनक्सका डिस्ट्रोहरुमा निकै नै विविधता पाउन सकिन्छ। विभिन्न लिनक्स डिस्ट्रोका आ-आफ्नै विशेषता हुने भएका ले कुनै एक लिनक्स डिस्ट्रोलाई उत्तम भन्न सकिन्न। जति धेरै डिस्ट्रोहरु भए तापनि लिनक्सको प्रयोग गर्नु भन्दा पहिले आफ्नो आवश्यकताहरूको सहि पहिचान गर्न सकियो भने लिनक्स डिस्ट्रो छान्नु कुनै गार्‍हो कार्य भने पक्कै पनि हैन। प्रयोगकर्ता केन्द्रित वेबसाइट : वेब २‍.० यदि तपाइ लामो समय देखि इन्टरनेट चलाउँदै आउनु भएको छ भने तपाईँले अनुभव गर्नु भएको होला कि अचेलका वेब पेजहरू तथा समग्र रुपमा इन्टरनेट नै निकै फरक किसिमको हुँदै गइरहेको छ। पहिला पहिला वेब पेजहरू कुनै एक कम्पनी वा विकासकर्तामा केन्द्रित हुने गर्थ्यो भने अहिलेका धेरैजसो वेबपेजहरू प्रयोगकर्ता केन्द्रित हुँदै गइरहेका छन्। झट्ट हेर्दा अहिलेका वेबपेजहरू बढी प्रयोगकर्ता केन्द्रित, सूचना आदानप्रदान गर्न मिल्ने तथा मिलेर केही काम गर्ने खालका हुने गरेका छन्। यस्ता नयाँ पुस्ताका वेबपेजहरूलाई इन्टरनेट वेबको दोस्रो सँस्करण वा वेब २.० भन्ने गरिन्छ। इन्टरनेट चलाउने जो कोहीले याद गर्ने गरेको कुरा के हो भने केही वर्षयता ब्लग, विकि, Hi5, Facebook जस्ता Social Networking वेबसाइटहरू तथा प्रयोगकर्तालाई मुख्य प्राथमिकता दिइएको वेबसाइटहरू निकै चलनचल्तीमा आइरहेका छन्। यस्ता वेबसाइटहरू लाई राम्रो संग हेर्ने हो यस्ता वेबसाइटहरूमा सूचना आदानप्रदान तथा प्रयोगकर्ताको सहभागिता प्रमुख तत्वको रुपमा रहने गरेका हुन्छन्। केही समय अगाडि सम्म वेबसाइटहरू एकतर्फी हुने गर्दथे। वेबसाइटका विकासकर्ता वा त्यससम्बन्धि कम्पनीले वेबसाइटमा सूचनाहरू हाल्ने गर्दथे र वेबसाइटहरू हेर्ने प्रयोगकर्ताहरूले त्यसमा रहेका सूचना एकतर्फी रुपमा हेर्ने तथा पढ्ने गर्दथे। सरल रुपमा भन्नु पर्दा प्रयोगकर्ताहरूले वेबसाइटहरू मात्र सर्फ गर्ने गर्दथे। तर अहिलेका वेब २.० का वेबसाइटहरूमा प्रयोगकर्ताको सहभागितालाई प्रमुख प्राथमिकता दिने गर्दछन्। अहिले निकै ब्लग साइटहरु चलनचल्तीमा आएका छन् जहाँ प्रयोगकर्ताहरूले नै सूचना सिर्जना गर्ने गर्दछन्। यसबाहेक वेब २.० का सबै वेबसाइटहरूमा सूचना प्राप्त गर्ने व्यक्तिको सहभागितालाई पनि ध्यान दिइएको हुन्छ। हरेक व्लग साइटमा ब्लगरको आफ्नो लेख बाहेक पाठकले पठाउने Commentको पनि ठूलो भुमिका हुने गर्दछ। सूचना आदानप्रदानको क्षेत्रमा वेब २.०को अर्को ठूलो पाटो विकिहरुलाई लिन सकिन्छ। हामी सबैले विकिपेडिया प्रयोग गर्ने गर्दछौ। यस्ता विकिहरूमा प्रयोगकर्ताहरूले नै लेख तथा सूचनाहरू निर्माण गर्ने गर्दछन्। यसरी विकिपेडिया जस्ता विकिहरुमा सम्पूर्ण रुपमा प्रयोगकर्ताको सहभागिता रहने गर्दछ। वेब २.०को सुरुवात भन्दा पहिले विश्वकोशको रुपमा Microsoft Encarta वा Britanica जस्ता विश्वकोशहरू थिए जसमा रहेका सम्पूर्ण लेख तथा रचनाहरू कुनै एक व्यक्ति वा कम्पनीले राख्ने गर्दथे। त्यसका साथसाथै प्रयोगकर्ताहरूलाई त्यसमा रहेका लेखहरू सच्याउने तथा प्रतिक्रिया दिने कुनै सुविधा हुदैनथ्यो। यसको विपरीत विकिपेडिया जस्ता वेब २.० का वेबसाइटहरूले प्रयोगकर्ता तथा पाठकलाई वेबसाइटको प्रमुख पाटोको रुपमा प्रस्तुत गर्ने गर्दछ। त्यस्तै अहिले निकै नै चलनचल्तीमा रहेका Social Bookmarking साइटहरू पनि वेब २.०को अन्तर्गत पर्ने गर्दछन्। slashdot.com, digg.com जस्ता इन्टरनेटमा रहेका राम्रा तथा महत्वपूर्ण वेबसाइटहरू को सूची लोकप्रियताको आधारमा देखाइने यस्ता वेबसाइटका सम्पूर्ण सूचनाहरू प्रयोगकर्ताहरूले नै निर्माण गर्ने गर्दछन्। हामी मध्ये धेरैले प्रयोग गर्ने Hi5, Facebook तथा Myspace जस्ता Social networking अर्थात् साथीहरूको सञ्जाल बनाउने वेबसाइटहरू पनि वेब २.० अन्तर्गत पर्ने गर्दछन्। यस्ता सञ्जालहरूमा सूचनाहरूको निर्माण तथा व्यवस्थापन सम्पूर्ण रुपमा प्रयोगकर्ताहरूले नै गर्ने गर्दछन्। यस बाहेक वेबसाइटको प्रविधि तथा प्रस्तुतिको हिसाबले पनि वेब २.० निकै नै फरक हुने गर्दछ। वेब २.०को प्रमुख पक्षको रुपमा RIA अर्थात् Rich Internet Application रहने गर्दछ। यदि तपाईले गुगलको Gmail चलाउनु भएको छ भने अरू मेल भन्दा पक्कै पनि निकै भिन्नता पाउनु भएको होला। Gmailमा मेलहरु हेर्न तथा पठाउन निकै नै सजिलो तथा छिटो हुने गर्दछ। यसको पछाडि Gmail प्रयोग गरिएको AJAX नामक प्रविधिको निकै नै ठूलो हात रहेको छ। Hotmail जस्ता मेलहरुमा कुनै मेल खोल्दा नयाँ पेज खुल्ने गर्दछ, तर Gmailमा मेल त्यसै पेजभित्र निकै छिटो गतिमा खुल्ने गर्दछ। यसरी एकै पेजमा रहि सूचनाहरु देखाउनका निम्ति AJAX प्रविधिको ठुलो हात रहेको हुन्छ। यसरी AJAXको प्रयोग गरि बनाइएका वेबपेजहरुमा सूचना एकै पेजमा कुनै सफ्टवेयर चलाएजस्तै देखा पर्ने गर्दछ, जसले गर्दा प्रयोगकर्तालाई निकै सजिलो हुनुका साथै चाँडो काम पनि गर्न सकिन्छ। AJAX प्रविधि प्रयोग गरि बनाइएका वेबसाइटहरू वेब २.० भित्र पर्ने गर्दछन्। वेब २.० का वेबसाइटहरूमा साइटको संरचना मा पनि निकै ध्यान पुर्‍याइएको हुन्छ। वेब २.० का साइटहरू बनाउँदा पालना गर्नु पर्ने सम्पूर्ण नियमहरूमा ध्यान पुर्‍याउनु पर्ने हुन्छ। W3C नामक संस्थाले वेबपेजहरु विकास गर्दा ध्यान पुर्‍याउनु पर्ने विभिन्न कुराहरूको निर्धारण गर्ने गर्दछ। यस्ता नियमहरूमा वेबपेजको code अर्थात् HTML सहि रुपमा लेख्ने तरिका, वेबसाइटहरू लाई बढि भन्दा बढि प्रयोग योग्य बनाउन प्रयोग हुने नियमहरू पर्ने गर्दछन्। यस्ता नियमहरु प्रयोग गर्दा वेबसाइटहरू राम्रा मात्र नभइ गुणस्तरीय तथा एकरुपका हुने गर्दछन्। जसको कारणले वेब २.० का वेबसाइटहरू प्रयोग गर्दा आधारभूत कुराहरू मात्र जाने पुग्छ। त्यस्तै वेब २.०मा श्रव्य तथा दृष्यलाई पनि निकै प्राथमिकता दिइएको हुन्छ। नेपालमा त्यति प्रचलनमा आइ नसकेको भए पनि विश्वव्यापी रुपमा Youtube, Metacafe जस्ता भिडियो आदानप्रदान गर्ने वेबसाइटहरू निकै प्रचलित रहेका छन्। यस्ता वेबसाइटहरू पनि वेब २.० अन्तर्गत पर्ने गर्दछन्। वेब २.०को सबै भन्दा प्रमुख पक्ष के हो भने यस्ता वेबसाइटहरूमा सूचनालाई प्रमुख प्राथमिकता दिइएको हुन्छ। यसरी सूचनालाई प्राथमिकता दिने क्रममा RSS तथा FEED जस्ता प्रबिधिहरू प्रमुख रुपमा आउने गर्दछन्। प्रयोगकर्ता केन्द्रित हुने हुँदा वेब २.० का वेबसाइटहरूमा सूचना निकै छिटो गतिमा तथा निकै ठूलो मात्रामा निर्माण हुने गर्दछ। यस्तो परिस्थितिमा घरीघरी वेबसाइटमा गइ उक्त सूचना हेरिरहनु निकै नै अप्ठ्यारो हुने गर्दछ। यस समस्याको समाधानका निम्ति RSS तथा FEED जस्ता प्रविधिको विकास भएको हो। यस्ता प्रविधिको प्रयोगले प्रयोगकर्ता वेबसाइटमा गइ सूचना हेर्ने नभइ सूचना नै प्रयोगकर्ता सम्म आइपुग्ने गर्दछ। यसले गर्दा आफुले चाहेको सूचना मात्र हेर्ने सुविधा हुनुका साथै समयको पनि निकै बचत हुने गर्दछ। वेब २.०को अर्को महत्वपूर्ण पक्ष के हो भने यसले हामीले कम्प्युटर चलाउने तरिकामा निकै नै परिवर्तन ल्याउँदै छ। वेब २.०को माध्यमद्वारा हामीले कम्प्युटरमा चलाउने विभिन्न सफ्टवेयरहरू इन्टरनेटमा देखा पर्न थालेका छन्। हामीले कम्प्युटरमा चलाउने Microsoft Word जस्तै Googleले Google Document नामको सफ्टवेयर बनाएको छ, जुन वेबपेजका रुपमा चल्ने गर्दछ। तपाइले कम्प्युटरमा Wordमा फाइलहरू सम्पादन गरे जस्तै Google Documentमा आफ्ना फाइलहरू सम्पादन गर्न सकिन्छ। फरक यत्ति छ कि Google Document इन्टरनेटमै वेबसाइटको रुपमा उपलब्ध छ र यसलाई कम्प्युटर हाल्नु पर्दैन। यसबाहेक फोटोहरू सम्पादन गर्ने तथा अन्य विभिन्न सफ्टवेयरहरू इन्टरनेटमा वेबपेजका रुपमा उपलब्ध हुन थालेका छन्। यस्ता सबै वेबपेजहरू वेब २.० अन्तर्गत पर्ने गर्दछन्। यस्ता वेब २.० सफ्टवेयरहरूको विकासले गर्दा भविष्यमा कम्प्युटरमा इन्टरनेट चलाउने ब्राउजर मात्र भए पनि आफ्नो सम्पूर्ण काम गर्न सकिने अवस्था नआउला भन्न सकिन्न। इन्टरनेटको आविष्कार कसरी भयो ? इन्टरनेट आफैमा एउटा सञ्जाल नभइ विश्वभर छरिएर रहेका एउटा निश्चित नियममा काम गर्ने तथा एकैखाले सुविधा प्रदान गर्ने विभिन्न सञ्जालहरूको समूह हो। इन्टरनेट कुनै व्यक्ति वा संस्थाको योजना बमोजिम सुरुवात भएको हैन। त्यस्तै इन्टरनेट कसैको नियन्त्रणमा पनि छैन। इन्टरनेटको इतिहास खोतल्दै जाँदा संयुक्त राज्य अमेरिकाले विकास गरेको आर्पानेट सम्म पुग्न सकिन्छ। सन् १९५०को अन्त्य तिर जति बेला शीतयुद्ध चरम अवस्थामा पुगेको थियो, त्यति बेला अमेरिका जस्तोसुकै युद्धमा पनि भरपर्दो रुपमा काम गर्न सक्ने सञ्जाल प्रणालीको विकास गर्न लागिपरेको थियो। त्यतिबेला प्रयोग हुने सबै टेलिफोन प्रणाली केन्द्रीय स्तरमा काम गर्ने गर्थे, जुन अति नै असुरक्षित थियो। टेलिफोनको केन्द्रमा हमला भएको खण्डमा पुरै टेलिफोन प्रणाली नै ध्वस्त हुने सम्भावना थियो। त्यसैले टेलिफोन सञ्जाल प्रणालीको विकल्पको रुपमा अमेरिकाको Department of Defenseले RAND Corporationलाई एक सुरक्षित तथा भरपर्दो सञ्जाल प्रणालीको बिकास गर्ने काम सुम्पियो। त्यस RAND Corporation का Poul Baran नामक एक इन्जिनियरले स्विचिङ प्रविधिमा आधारित एक विकेन्द्रीत सञ्जाल प्रणालीको अवधारणा अगाडि ल्याए। Baranले यस सम्बन्धी धेरै रिपोर्टहरू अमेरिकाको pentagonमा पठाए र अन्ततः Pentagonले यस प्रकारको सञ्जाल विकास गर्ने जिम्मा अमेरिकाको त्यस बेलाको सबैभन्दा ठूलो टेलिफोन कम्पनी AT&Tलाई दियो। तर AT&T जस्तो ठूलो कम्पनीले Baran जस्तो सामान्य व्यक्तिले विकास गरेको प्रविधिलाई पत्याउने कुरै भएन। स्विचिङ प्रविधिमा आधारित त्यस विकेन्द्रीत सञ्जाल प्रणालीको अवधारणा त्यसै तुहिएर गयो। निकै लामो समयसम्म पनि भरपर्दो सञ्जाल प्रणालीको विकास हुन नसकेपछि अमेरिकी सरकारले यस सम्बन्धी अध्ययन अनुसन्धान गर्नका निम्ति Advanced Research Projects Agency वा ARPA नामक संस्थाको सुरुवात गर्‍यो। सन् १९६७ तिर ARPA का निर्देशक Larry Robertsले Poul Baranले विकास गरेजस्तै Pocket Switchingमा आधारित सञ्जाल प्रणाली को अवधारणा अगाडि ल्याए। यसै प्रविधिमा आधारित ARPANET नामक सञ्जाल प्रणालीको पनि उनले निर्माण गरे। यस प्रविधिद्वारा विभिन्न स्थानमा रहेका दुई कम्प्युटरहरूलाई जोड्न सकिन्थ्यो। यसरी सूचना आदानप्रदानका निम्ति कम्प्युटरमा Interface Message Processors अर्थात् IMP नामक मिनि कम्प्युटर जोडिन्थ्यो। फरक फरक स्थानमा रहेका यी दुई IMP हरुबीच टेलिफोन लाइनको माध्यमद्वारा ५६ किलोवाइटको गतिमा सूचना आदानप्रदान हुन्थ्यो। यस ARPANET सञ्जाल प्रणालीमा सर्वप्रथम क्यालिफोर्निया विश्वविद्यालय, क्याम्ब्रिज अनुसन्धान केन्द्र, UCSB र UTAH विश्वविद्यालय जोडिए। सन् १९७०को मध्यसम्ममा MIT, BBN Harvard र Systems Development Corporation पनि यस सञ्जालमा जोडिए। आउँदा वर्षहरूमा अन्य धेरै सङ्घ संस्था तथा विश्वविद्यालयहरू यस सञ्जालमा जोडिए। ARPANETको यस स्वरूप नै इन्टरनेटको सुरुवात थियो। तर यो इन्टरनेटको सञ्जाल अहिलेजस्तो चलाउन सजिलो पक्कै पनि थिएन। यस ARPANETको प्रयोग केबल कम्प्युटर विज्ञ, इन्जिनियर तथा वैज्ञानिकहरूले गर्ने गर्दथे। सन् १९७२मा Ray Tomlinsonले इन्टरनेटको सम्भवतः सबैभन्दा महत्वपूर्ण आविष्कार इमेलको बिकास गरे। इमेल ठेगानामा प्रयोग हुने प्रख्यात @ को छनौट पनि उनैले गरेका हुन्। यसबाहेक सञ्जालमा रहेका कम्प्युटरहरू चलाउन प्रयोग हुने telnet तथा फाइलहरू आदानप्रदान गर्न प्रयोग हुने ftpको विकास पनि त्यसैताका भयो। इन्टरनेटको यति विकास भइसक्दा पनि सूचना आदानप्रदान गर्न कुनै एक निश्चित प्रणाली थिएन। सन् १९७०को दशकमा Stanford विश्वविद्यालयका BOB Kahn र Vint Cerfले TCP/IP नामक सूचना आदानप्रदान गर्ने प्रणालीको विकास गरे, जुन आज पनि प्रयोग हुने गर्दछ। यस प्रणालीको प्रयोग गर्ने पहिलो संस्था अमेरिकाकै Defense Department थियो। सन् १९८३ सम्ममा इन्टरनेटमा जोडिएका सबैले यस TCP/IP प्रणालीको प्रयोग गर्न थाले। सन् १९८० दशकको अन्त्यसम्ममा धेरै व्यापारिक संघसंस्थाहरू पनि इन्टरनेटमा जोडिन थाले जसले गर्दा इन्टरनेटको विकास द्रुत गतिमा हुन थाल्यो। इन्टरनेटको यति विकास भइसक्दा पनि सन् १९९०को सुरुवात सम्म इन्टरनेटको प्रयोग केवल अनुसन्धानकर्ता, सरकारी क्षेत्र तथा विश्वविद्यालयहरूले मात्र गर्थे। इन्टरनेट सर्वसाधारणले प्रयोग गर्न मिल्ने गरी सजिलो भइसकेको थिएन। तर सन् १९९०मा CERN अनुसन्धान केन्द्रका वैज्ञानिक Tim Barners Leeले विकास गरेको World Wide Webले इन्टरनेटको नयाँ ढोका खोलिदियो। World Wide Webलाई हामी wwwको नामबाट पनि चिन्दछौ। धेरैले wwwलाई नै इन्टरनेट भन्ने गर्छन्, तर यो गलत धारणा हो। इन्टरनेट भन्नाले विश्वभर रहेका सञ्जालको समूहलाई जनाउँछ, जबकि www इन्टरनेटमा सूचना आदानप्रदान गर्न प्रयोग गरिने धेरै प्रणालीहरू मध्ये एक हो। wwwको निर्माणले इन्टरनेटमा सूचना आदानप्रदान गर्न धेरै सजिलो भए पनि अहिले जस्तो क्लिक गर्दै इन्टरनेट चलाउन सकिने सुविधा थिएन। यसरी क्लिक गर्दै इन्टरनेट चलाउन सकिने सफ्टवेयर, जसलाई Browser भनेर चिनिन्छ, यसको निर्माण Illinios स्थित National Centre for Supercomputer Application का अनुसन्धानकर्ता Marc Andreessenले गरेका हुन्। यस पहिलो Browserको नाम Mosaic थियो। पछि उनै Marc Andreessenले Netscape Corporationको पनि सुरुवात गरे जसले निर्माण गरेको Netscape Navigator नामक इन्टरनेट Browser निकै प्रख्यात पनि भयो। यसै इन्टरनेट Browserको सफलतालाई पछ्याउदै माइक्रोसफ्टले पनि Internet Explorer नामक Browserको विकास गर्‍यो, जुन अहिलेको एक प्रमुख ब्राउजरमा पर्दछ। इन्टरनेटको विकासका लागि अमेरिकी सरकारले लगानी गरेकाले पहिले सर्वसाधारणलाई इन्टरनेटको प्रयोग गर्ने अनुमति थिएन। तर wwwको सफलता पछि धेरै इन्टरनेट प्रदायक कम्पनीहरू खुले जसले सरकारी सञ्जालको भर नपर्ने गरि आफ्नै सञ्जालको विकास गरे। सन् १९९५ सम्ममा अमेरिकी सरकारले इन्टरनेट प्रयोग गर्न बन्देज लगाउने सम्पूर्ण नियमहरू खारेज गर्‍यो। अमेरिकामा AOL, Prodigy र CompuServe जस्ता चर्चित इन्टरनेट प्रदायक कम्पनीहरू सुरु भए। इन्टरनेटको प्रयोग विश्वव्यापी रुपमा पनि हुन थाल्यो। आजको दिन सम्ममा इन्टरनेटले लामो फड्को मारिसकेको छ। ARPANETमा जोडिएका ४ कम्प्युटरहरूबाट सुरु भएको इन्टरनेटमा अहिले एकैपटकमा १ अरब भन्दा बढि प्रयोगकर्ताहरू जोडिएर रहेको हुने गर्दछ। इन्टरनेटको विकासको क्रम अझै पनि जारी छ र भविष्यमा अहिलेको भन्दा द्रुत गतिको र उच्चस्तरीय सुविधायुक्त इन्टरनेटको विकास हुने कुरामा दुईमत नहोला। ब्लग कसरी बनाउने ? ब्लग भन्नाले त्यस्ता वेबसाइटहरूलाई जनाउँछ जहाँ प्रयोगकर्ताहरूले आफ्ना लेख तथा विचारहरू एक अनलाइन डायरीको रुपमा प्रकाशित गर्ने गर्दछन्। आफुलाई लागेको कुरा लेखेर इन्टरनेटमा प्रकाशित गर्नका लागि ब्लग अहिले विश्वमा नै चर्चित बन्दै गएको छ। ब्लग शब्द अङ्ग्रेजी शब्दहरू वेब र लगको सम्मिश्रणद्वारा बनेको हो। सुरुमा ब्लगको प्रयोग इन्टरनेटमा आफ्नो ससाना नोटहरू राख्न भए पनि अहिले ब्लग आफ्नो विचार प्रस्तुत गर्ने एक प्रमुख माध्यमको रुपमा विकसित भएको छ। नेपालको परिप्रेक्ष्यमा ब्लगको शुरुवात कहिलेवाट भयो भन्ने यकिन इतिहास छैन। तर २०६१ माघ १९मा राजा ज्ञानेन्द्रले राजनीतिक कु गरी शासनसत्ता आफ्नो हातमा लिएपछि नेपालमा वैकल्पिक सञ्चारमाध्यमको रुपमा ब्लग देखिएको हो। नेपाली भाषाको ब्लगहरू हेर्ने हो भने माइसंसार डटकम र हाम्रोब्लग डटकम अगाडि देखिएका छन्। अहिले करिब एक सयको हाराहारीमा नेपाली ब्लगहरु संचालनमा रहेका पाइन्छ। नेपाली ब्लगहरुको संग्रह www.bloggers.com.npमा हेर्न सकिन्छ। सामान्यतया लेखहरू राखिने ब्लगहरू प्रचलित भए पनि ब्लगहरू अन्य विभिन्न प्रकारका हुने गर्दछन्। भिडियो सम्बन्धित ब्लगलाई भिलग भन्ने गरिन्छ। त्यस्तै फोटोहरू राखिने फोटो ब्लगहरू पनि प्रचलित छन्। अचेल मोबाइलबाट पनि ब्लग गर्ने प्रबिधिको बिकास भैसकेको छ, त्यस्ता ब्लगलाई मोब्लग भन्ने गरिन्छ। विषयवस्तुको हिसाबले पनि बिभिन्न प्रकारका ब्लगहरु हुने गर्दछन्, जस्तै राजनैतिक ब्लग, ट्राभल ब्लग, फेसन ब्लग, आदि। यी सबै ब्लगहरू खोज्न www.technirati.com नामक सर्च इन्जिनको पनि विकास गरिएको छ। ब्लगको यति जानकारी पछि ब्लग लेख्न कसरी सुरु गर्ने भन्नेतिर लागौँ। ब्लग लेख्न सुरु गर्नु भन्दा पहिले आफु कुन विषयवस्तुमा ब्लग लेख्ने भन्ने बारे निर्णय गर्नु राम्रो हुन्छ। कसैले ब्लग लेख्दा आफ्नो दिमागमा जे आयो त्यही लेख्ने गर्छन। कसैले कुनै निश्चित बिषयमा ब्लग लेख्ने गर्छन। धेरैले कुनै निश्चित विषयमा लेख्ने गरे पनि बेला बेलामा विषय परिवर्तन गर्ने गर्छन्। ब्लग इन्टरनेटमा सबैले पढ्न मिल्ने गरि राखिने हुनाले आफुलाई जे मन लाग्यो त्यही लेख्नु भन्दा कुनै विषयवस्तुमा लेख्नु नै उचित मानिन्छ। के को बारेमा ब्लग लेख्ने भन्ने कुरा निश्चित गरेपछि कहाँ लेख्ने भन्ने प्रश्न आउँछ। ब्लग लेख्न दुई तरिकाहरू अपनाउन सकिन्छ। यदि तपाइको आफ्नै वेबसाइट छ भने, त्यसैमा ब्लग लेख्ने सफ्टवेयर राखेर ब्लग सुरु गर्न सकिन्छ। wordpress, Mavable type र Typo जस्ता ब्लग लेख्न प्रयोग गरिने सफ्टवेयर इन्टरनेटमा सित्तैमा डाउनलोड गरि प्रयोग गर्न पाइन्छ। तर सबैको आफ्नै वेबसाइट नहुन सक्छ, यस्तो अवस्थामा इन्टरनेटमा रहेका www.blogger.com वा www.wordpress जस्ता साइटहरूमा गएर आफ्नो ब्लग सुरु गर्न सकिन्छ। यी वेबसाइटहरूमा सित्तैमा आफ्नो ब्लग साइट निर्माण गर्न सकिन्छ। यी ब्लग साइटहरु मध्ये wordpress सजिलो तथा निकै प्रख्यात पनि छ। wordpressमा आफ्नो ब्लग सुरु गर्नका निम्ति सुरुमा एउटा Account खोल्नु पर्दछ। यसरी नयाँ Account सुरु गर्दा तपाइले आफ्नो ब्लगको शीर्षक पनि दिनु पर्ने हुन्छ। Account बनिसकेपछि तपाइले ब्लग लेख्न सुरु गर्न सक्नु हुन्छ। त्यस्तै अर्को ब्लग साइट Blogger.com पनि अचेल निकै प्रचलित हुदै गइरहेको छ। Blogger.comको फाइदा के छ भने यसमा ब्लग लेख्नको लागि यदि तपाइसंग Gmail ठेगाना छ भने त्यसैको प्रयोग गर्न सक्नु हुन्छ। ब्लग सबैका लागि पढ्न खुला हुने हुनाले निम्न कुराहरुमा बिशेष ध्यान पुर्‍याउनु पर्दछ। ब्लगमा अन्य व्यक्तिको इमेल ठेगाना देखाउने गरि राख्नु हुदैन। लेखिएका कुराहरुको स्रोत स्पष्ट रुपमा खुलाउनु पर्दछ। ब्लगमा सकेसम्म नम्र भाषा प्रयोग गर्नु राम्रो हुन्छ। लेखाइ सकेसम्म स्पष्ट हुनु राम्रो हुन्छ। एकपटक लेखिसकेको ब्लगलाई पटकपटक सच्याउनु हुदैन। ब्लग अहिले आफ्नो आवाज सर्वसाधारण पुर्‍याउन सबै भन्दा छिटो तथा सशक्त माध्यम भएको छ। आफुलाई लागेको कुरा पत्रिकाहरूमा छपाउने तथा त्यसको प्रतिक्रिया पर्खने लामो प्रक्रियाबाट ब्लगको माध्यमद्वारा मुक्त हुन सकिन्छ। ब्लगको अरु रमाइलो कुरा के छ भने आफुले लेखेको ब्लगको प्रतिक्रिया तुरुन्तै प्राप्त हुने गर्दछ। अरु धेरैले Google Adsence जस्ता अनलाइन विज्ञापन आफ्नो ब्लगमा प्रकाशित गरेर आम्दानी पनि गर्ने गर्दछन्। यति धेरै रमाइलो ब्लगिङको दुनियामा आजै किन नछिर्ने त।