पोखरा विश्वविद्यालय “पोखरा विश्वविद्यालय ऐन २०५३” अन्तर्गत वि.सं. २०५४ सालमा स्थापना भएको हो । यो विश्वविद्यालय कास्की जिल्लाको लेखनाथ नगरपालिकामा रहेको छ । कास्की जिल्ला अन्नपूर्ण हिमालय श्रृङ्खला तथा माछापुच्छे हिमालको काखमा अवस्थित छ । नेपालको राजधानी काठमाडौंदेखि करिब २०० कि.मी. पश्चिममा रहेको कास्की जिल्ला अनुपम र अलौकिक प्राकृतिक सुन्दरता, विविध जैविकता, संस्कृति र विशेषताले भरिपूर्ण अत्यन्त मनोरम ठाउँ हो । कास्की जिल्लाको सरदमुकाम पोखरा नगर, पोखरा उपत्यकादेखि पूर्वतर्फको करिब १५ किलोमिटरको दुरीमा लेखनाथ नगरपालिकाको वडा नं. १२ खुदी, ढुङ्गेपाटनमा विश्वविद्यायका सम्पूर्ण शैक्षिक एवम् प्रशासनिक संरचनाहरू रहेका छन् । पोखरा उपत्यका काठमाडौं उपत्यकापछि नेपालको दोस्रो महत्वपूर्ण पर्यटकीय गन्तव्य स्थल हो । नेपालका मूर्धन्य साहित्यिक स्रष्टा कवि शिरोमणि लेखनाथ पौडेलको नामबाट राखिएको लेखनाथ नगरपालिकालाई साततालको बगैचा शहर भनिन्छ । लेखनाथ नगरपालिकामा बेगनास, रूपा, मैदी, दिपाङ्ग, खाष्टे, न्यूरेनी र गुँदे तालरहेका छन् ।