Krishna Prasad Pokhrel
श्री मनकामना संस्कृत विद्यापीठ गुरुकुलम् कपिलवस्तु नेपाल
साँख्यदर्शनका प्रर्वतक कपिलमुनि तथा विभाण्डक ऋषिको तपस्थली, श्रृङ्गी ऋषिको जन्मभूिम, प्राचीन भागीरथी बाणगङ्गा नदीको पूर्वी तट एवं पूर्व–पश्चिम राजमार्गको कपिलवस्तु जिल्ला बाणगङ्गा नगरपालिका वडा नं–१ बैरिया चोक देखि करिब ३.५ कि.मि उत्तरमा अवस्थित यस पवित्र भूमि नन्दवन(बाणगङ्गा–२ नन्दनगर) मा ब्रह्मविद् योगीगुरु युवराज महाराजज्यूको तप–साधना र परिश्रमले श्री मनकामना दुर्गा मन्दिरको स्थापना भई आध्यात्मिक चेतनाको विकास भयो । उहाँको पराधाम गमन पश्चात् स्वामी १००८ कृष्णानन्द परमहंसज्यूले कैलाश आश्रमको स्थापना गरी यस धार्मिक भूमिलाई धार्मिक,सांस्कृतिक एवम् आध्यात्मिकरुपले अझै विकसित पार्नुभयो । वहाँकै सत्प्रेरणाले कैलाश आश्रम परिसरमा वि.स.२०५२ मा वैदिक सत्य–सनातन धर्म र लोपोन्मुख प्राचीन संस्कृत भाषा, साहित्यको संरक्षण एवं सम्वर्धन गरी संस्कारयुक्त नागरिक उत्पादन गर्ने उद्देश्यानुरुप नन्दनगरवासी स्थानीय जनसमुदायको समूुहिक पहलमा यसै गाउँ निवासी गुरु श्री दशरथ न्यौपानेज्यूबाट अनौपचारिक रुपमा गुरुकुल पद्घति अनुसार धार्मिक शिक्षाको अध्यापन प्रारम्भ भयो । त्यस कार्यलाई औपचारिकता दिन २०५५ सालमा कैलाश आश्रम परिसरमा काशीसुमेरु पीठाधीश्वर अनन्तविभूषित जगतगुरु श्री नरेन्द्रानन्द सरस्वती महाराजज्यूको करकमलबाट संस्कृत गुरुकुलको शिलान्यास सम्पन्न भयो तर विविध कारणवस त्यसले एक दशक सम्म मूर्तरुप लिन सकेन ।
मानवीय विकास विना भौतिक विकासको अर्थ र प्रयोजन नभए जस्तै आफ्नो मौलिक धर्म संस्कृति अनुरुप संस्कारयुक्त शिक्षा विना मानवमा मानवीय गुणको विकास हुन नसक्ने ठहर गर्दै प्राचीन धर्म,दर्शन र साहित्यका साथ–साथै आजको बदलिदो वर्तमान युगानुरुप आधुनिक एवं प्राविधिक विषयहरुको अध्ययन अध्यापन हुने गरी स्थानीयहरुको जनसहयोग,साहित्यकार समाजसेवी एवं धार्मिक व्यक्तित्व श्री ऋषिराम कडेलज्यू र समाजसेवी एवं धार्मिक व्यक्तित्व टीकाराम भुसालज्यूको विशेष पहलमा २०६६ साल पुष ३ गतेका दिन श्री खुमलाल शर्मा को अध्यक्षतामा टिकाराम भुसाल, शान्ता रायमाझी, नारायणी शर्मा, पुष्कर घिमिरे, कर्णबहादुर थापा, देउमाया थापाको ७ सदस्यीय विद्यालय संस्थापक समिति गठन गरेर औपचारिक रुपमा यस श्री मनकामना संस्कृत विद्यापीठ(गुरुकुलम्)को स्थापना गरियो । २०६७ साल जेठ ३१ गते तत्कालिन जिल्ला शिक्षा कार्यालय तौलिहवाबाट प्राथमिक तह कक्षा १ को अनुमति प्राप्त गरि बा.न.पा.१ उपटहवा निवासी श्री हुमलाल घिमिरेज्यू र कैलाश आश्रम तथा मनकामना दुर्गा मन्दिरको सहयोगमा कच्ची भवनको निर्माण गरी १५ जना विद्यार्थीलाई राखी यस विद्यापीठमा औपचारिक रुपमा पठन–पाठन प्रारम्भ गरियो । यसै वीच २०६८ सालमा व्यवस्थित अध्ययन अध्यापनका लागि जि.शि.का.को अनुदान र नन्दनगरवासीको जनसहयोगबाट २ कोठे कक्षाकोठा भवन र शौचालयको निर्माण भयो । यसरी प्रारम्भ भएको यस विद्यापीठमा २०७० साल शिवरात्रि देखि नेपाल महर्षि वैदिक फाउण्डेशनको सहयोगमा गुरुकुलीय पद्धति अनुसार कक्षा ४ मा ११ जना आवासीयरुपमा विद्यार्थीहरु भर्ना गरी नेपाल सरकार शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्रको गुरुकुल शिक्षाको पाठ्यक्रम अनुसार अध्ययन अध्यापन शुरु गरियो ।