भाषाविवादबारे १२ बुँदे अवधारणापत्र

कीर्तिपुर भदौ २६, २०७३,

हाल नेपाली भाषाको हिज्जे तथा वर्णविन्यासका सम्बन्धमा देखिएको असङ्गतिउपर त्रिभुवन विश्‍वविद्यालय नेपाली केन्द्रीय विभाग ‘मानक नेपाली भाषा अभियान’ले बाह्र बुँदै अवधारणापत्र सार्वजनिक गरेको छ । अभियानका संयोजक प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलद्वरा हस्ताक्षरित अवधारणापत्रमा भाषाको वर्णविन्यास शैक्षिकप्राज्ञिक एवं आम सरोकारको विषयसमेत भएकाले परिपत्रद्वारा जारी लागू गरिएको प्रति विरोध जनाइएको छ । पछिल्लो समय नयाँ नियमका आधारमा शिक्षण निर्देशिका, शैली पुस्तिका र पाठ्यपुस्तकमा प्रस्तुत गरिएका विवादित वर्णविन्यास र लिपि चिह्‍नले नेपाली भाषामा अराजकता निम्त्याउनका साथै प्रज्ञाप्रतिष्‍ठानद्वारा आयोजित नेपाली भाषा सङ्गोष्‍ठी २०६७ का नाममा गरिएको विवादस्पद निर्णयहरूप्रति पनि घोर आपत्ति जानाएको छ । नेपाल प्रज्ञाप्रतिष्‍ठानको नेपाली बृहत् शब्दकोशका पछिल्ला संस्करणहरूमा प्रयुक्त वर्णविन्यास र लिपिचह्‍न एवं विवादित प्रविष्‍टिका साथै नेपाली वर्णविन्यास सम्बन्धी ‘चन्द्रगढी घोषणापत्र – २०६६’ का नाममा प्रस्तुत गरिएको विवादास्पद नेपाली वर्णविन्यास तथा लिपिचिह्‍नप्रति पनि अभियानले बिमति जनाएको छ । ह्रस्वदीर्घ र वर्णका कारण अर्थमा फरक आउने श्रुतिसमभिन्नार्थक शब्दलाई ह्रस्वमात्र लेख्‍ने र अनेकार्थी शब्दका रूपमा प्रयोग गर्ने निर्णयले भाषाको सौन्दर्य समाप्‍त पार्नका साथै वर्ण, अक्षर वा लिपिचिह्‍न गणना गरी पदयोग र पदवियोग गर्ने निर्णय हाँस्यस्पद रहेको कुरा उक्त अवधारणापत्रमा उल्लेख छ ।

यसै गरी एकात्मक अर्थबोधक रुढ तथा समस्त शब्दलाई पदवियोग गर्ने गरी गरिएको निर्णय, नामयोगी, द्वित्व, संयुक्त क्रिया र व्यक्तिको थरभन्दा अघि आउने सबै शब्द पदवियोग गर्ने निर्णयप्रति पनि उक्त अभियानको गम्भीर असमति जनाएको विज्ञप्‍तिमा उल्लेख छ । पदयोग, संयुक्त व्यञ्जन र ह्रस्वदीर्घ सम्बन्धी विवादास्पद निर्णय तुरुन्त खारेज गर्ने माग गर्दै प्रचलित परम्परामा संशोधन, परिमार्जन वा परिवर्तन गर्नु परेमा प्रयोक्ता र सरोकारवालासँग व्यापक छलफल गरी निष्कर्षमा पुग्ने दृष्‍टिकोण अँगालिनु पर्छ भन्ने निष्कर्ष उक्त अभियानको रहेको कुरा संयोजक लुइटेलद्वारा हस्ताक्षरित अवधारणापत्रमा उल्लेख छ ।