Dr. Ashok Thapa
अशोक थापा (Ashok Thapa)
वि.स. २०३६ साल कार्तिक २६ गते कास्की जिल्ला भरतपोखरी गाविसमा पिता लिलबहादुर थापा र माता गिनकुमारी बोहराका सुपुत्रका रूपमा जन्मेका अशोक थापाले त्रिभुवन विश्वविद्यालयबाट एम्.ए, एम्लिबएस्सी (पुस्तकालय विज्ञान) तथा शिक्षा शास्त्र सङ्कायमा वीएड् गरेका छन्। नाटक विधामा रुचि राख्ने थापाले त्रिविबाट विद्यावारिधि (पीएच्डी) उपाधि पनि हासिल गरिसकेका छन् । उनको पहिलो रचना (जनमत, २०५८) भूपि शेरचनका विषयमा प्रकाशित देखिन्छ। यस बाहेक उनका भाषासाहित्यसँग सम्बन्धित झण्डै तीन दर्जन समालोचना तथा पुस्तकालय विज्ञान विषयका दर्जनभन्दा बढी अनुसन्धानात्मक लेखहरू प्रकाशित छन्। उदिएमान समालोचकका रूपमा देखिएका थापाको नाट्य समीक्षा र अन्य समालोचना (२०६५) नामक अनुसन्धानात्क समालोचनात्मक ग्रन्थ प्रकाशित छ।यसका अलवा थापाले नेपाली केन्द्रीय विभागबाट प्रकाशित हुने कुञ्चिनी, सार्दूल साहित्य प्रतिष्ठानबाट प्रकाशित हुने शार्दूल तथा पुस्तकालय विज्ञान केन्द्रीय विभाग त्रिविबाट प्रकाशित हुने इन्फोलिब जस्ता पत्रिकाको सम्पादक तथा प्रधान सम्पादकका रूपमा कार्य गरिसकेका छन्।नेपाली केन्द्रीय विभाग कीर्तिपुरमा शिक्षणरत थापाले पुस्तकालय व्यवस्थापन विषयमा पनि प्रशिक्षण दिनु हुन्छ।साहित्यको समीक्षा र टिप्टपनीमा रुचि राख्ने थापा निकै गहकिलो समालोचकीय दृष्टिसहितको समालोचक हुन्। नेपाल पुस्तकालय संघका अध्यक्षका रूपमा उनी कार्यरत थिए । उनको रुचि नाटक लेखन, मञ्चन र अनुसन्धानमा रहेको देखिन्छ । हालसालै थापाको 'सन्तापको धून' शीर्षकको कथासङ्ग्रह प्रकाशित भएको छ । थापालाई समसामयिक कालखण्डमा अब्बल नाट्य-समीक्षककको रूपमा चिनिँदै आएको छ ।
सम्पादन
अशोक थापाले स्नातक तह अध्ययन गर्दै गर्दा (२०५७) प्रायोगिक पत्र पत्रकारिता रोझे । त्यही बेलादेखि नै उनले अक्षरहरूको खेती गर्न सुरु गरे र पत्रपत्रिकाको सम्पादनको बाटो रोजे। उनले नेपाली केन्द्रीय विभागको 'स्मृति स्मारिका'लाई पहिलोपल्ट सम्पादकीय कलाले सजाए । यसको लगतै 'कुञ्जिनी' समालोचना विशेषाङ्कलाई आफ्नै रङ्मा रङ्गाए । स्नातकोत्तर तह पार गरेपछि, उनले 'शार्दूल' नामको साहित्यिक पात्रिकालाई चिरिच्याट्ट पारे ।[१]
पुस्तकालय विज्ञानको अध्ययनका क्रममा उनले 'इन्फोलिब' नामक पत्रिकालाई सम्पादन गरे र त्यसपछि पनि पुस्तकालय दिवसका थुप्रै स्मारिकामा आफ्नो सम्पादन कला देखाए । प्राध्यापनको पथमा अघि बढेपछि उनले नेपाली केन्द्रीय विभागको 'वाङ्मय' पत्रिकाको सम्पादन गरे। सं. २०८० देखि उनले नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित हुने 'समकालीन साहित्य' त्रैमासिकलाई आफ्नो कुशल सम्पादकीय कलाले सिंचाइ गर्दैछन्। थापाको हृदयमा साहित्यिक पत्रपत्रिकाको सम्पादन प्रति गहिरो लगाव रहेको देखिन्छ।
Bottom of Form