मिडियाका हेडलाइन र ईतिहासका निर्णय बिरलै मात्र–एउटै- प्रमाणित भएका छन्। हेडलाइनमा चाहिनेभन्दा बढ्ता ध्यान दिए, हामीले ईतिहासका निर्णयहरू बुझ्न मेहनत गर्ने सम्भावना कमै रहन्छ।’ – कोण्डी राइस मुलुक अपठ्यारोमा छ। ‘राष्ट्र’ त यो अझै बनिनसकेकै अवस्था हो। सबैले आफूलाई लागेको अभिव्यक्त गर्नैपर्छ। मनको बह हामी जहाँसुकै पोखौं, जुनसुकै माध्यमबाट पोखौं एउटा कुराको हेक्का राखिनै पर्छ–लेख्दा वा बोल्दा, हामी भाषा र भाव दुवैको शालिनता नत्यागौं। चाहे कोही सम्पादक होस या लेखक या प्रतिक्रिया दिने पाठक-आफ्ना असहमति सार्वजनिक गर्दा गाली गलौचको साहरा लिनै पर्छ र? कसैले कसैलाई तुच्छ शब्द प्रयोग गर्दैमा वाक्यको सौर्य बढछ र? एक समुदायले अर्को समुदायसँग गुनासो गर्दा असभ्य शब्दको प्रयोग गर्नैपर्छ र? मलाइ लाग्छ-पर्दैन। यो सब नगरिकन पनि समस्याको समाधान गर्न सकिन्छ। साच्चै भन्ने हो भने, यो सब गरेनौं भने मात्र, समस्या चाँडो सुल्झन्छ।

पत्रकारितामा मेरो लामो अनुभवले सिकाएको छ-क्षणिक उतेजनाले हामीलाई राप र ताप त दिन्छ तर दिर्घकालिन प्रकाश दिँदैन। दिने भए, आज हामी एसियामा अफगानिस्तान पछि दोस्रो गरिब हुने थिएनौं। आज जे जस्ता परिस्थिति उत्पन्न भएका छन्- ती एकै रातमा, एकै छाकमा र एउटै जय शंकरका वा पराजय शंकरका कारण उम्रिएका होइनन्। मुलुक अफ्ठ्यारोमा छ, तर शिवपुरिको पहाडै टाउकोमा खस्न थालेको पनि होइन। टर्किस एयरलाइन्सको प्लेन एयरपोर्टमा फसेको बेला एयरपोर्ट जाम भए झै अहिले स्थलगत नाकामा ‘जाम’ भएको मात्र हो। नेपाल-भारत सम्बन्ध यती बहुआयामिक छन्, कुनै एउटा सरकार वा दुबै सरकारले मिलेर पनि सम्बन्धको समग्रतामा एक हदभन्दा बढ्ताको नोक्सान पुर्‍याउन सक्दैनन्। सञ्चार जगत र सामाजिक संजालको ‘स्प्रीङ बोर्ड’ माथि, जुनसुकै पक्षबाट जो जति उफ्रेपनि, एक हदपछि स्प्रीङको लचकता समाप्त हुँदै जान्छ। कठोर धरातलीय यथार्थको चेत स्वत: आइ हाल्छ नेपाल र भारत दुबैलाई। टर्किस एयरलाइन्सको प्लेन एयरपोर्टमा जाम हुँदा काठमाडौं दिल्लीसँग खुसी थियो। आजभोलि नाका जाम हुँदा दुःखी छ। भारत के गर्दा खुसी हुन्छ र के गर्दा दुःखी, बिस्तारै पछि विवेचना गर्दै गरौंला। काठमाडौं पनि दिल्लीले के गर्दा रमाउँछ अनि के गर्दा खिसाउँछ, त्यसको आँकलन पनि कुनैदिन गर्दै गरौला। तर, आज सुरूवातमा संविधान।

संविधानवादका विषयमा मेरो दिक्षा कुनै तुरे तुरान्, कोरे भोलान्, घइ साहब, डिकी डिक वा क्युटी पाइले प्रायोजन गरेको देशीबिदेशी सेमिनारमा नभएर नेपाली संवैधानिक ईतिहासका युगपुरूष गणेशराज शर्माजीको सामान्य कोठामा भएको हो। जब प्रायोजक हुन्न, जब निजी स्वार्थ हुन्न, तब धेरै हिसाबकिताब गर्नैपर्दैन। आफ्नो अन्तर आत्माको आवाज सुने पुग्छ। गणेशराजजीको बैठक कोठामा कुनै कार्पेट थिएन। सिमेन्टीको भुइँ, केहि सामान्य कुर्सीहरू। कोठामा पस्न न कसैले जुत्ता फुकाल्न पर्ने, न त आफूले मानेको सिद्धान्त फुकाल्न पर्ने। साँझपखका दुई घन्टा सबैका लागि कोठा खुल्ला थियो। आगन्तुक सबैको स्वागत, साँखु पालुबारीको आलु चिउरा र चिया गिलासले हुन्थ्यो। कस्ता कस्ता आए, कस्ता कस्ता गए। तर, गणेशराजजीका विचार हमेशा उस्तै रहे। कहिले को रिसाए, त कहिले को। कुन बखत को खुसी भयो, को भएन भन्ने बहिखाता कहिलै राखेनन् गणेशराजजीले। बतासको बहाव कता तिर छ? बजारमा कुन रंगको चंगा उडाउँदा बढी लोकप्रिय होइएला? यस्ता प्रश्न गणेशराजजीका निम्ति ब्यर्थ मात्र होइन अस्तित्वहिन थिए। म आफैं पनि बेलाबखतमा उनीसँग असहमत भएँ। तर, गणेशराजजी प्रति मेरो मनमा सम्मान न कहिलै घट्यो, न अब घट्ने छ। यस्ता गणेशराजजी विगत केहि वर्षदेखि विस्मृतिको रोगले पुरै ग्रस्त छन्। स्मृति नहराएको भए, आजको दिनमा म सोध्न चाहन्थेँ गणेशराजजी के भन्छन् भनेर! हुन त मोटामोटी अन्दाज नभएको होइन, के भन्थे भनेर। ‘नेपालको मूल समस्या संविधान हुँदै होइन विजय। मूल समस्या अन्तै छ। संविधान निर्माण गर्ने भनेको रुख रोप्ने हो। फर्निचर ल्याएर कोठामा सजाउने होइन। जसरी रुख विकसित हुँदै जान्छ, संविधान पनि विकसित हुँदै जान्छ। हाम्रो आचरण, निष्ठा र ईमान्दारीको मलजल पायो भने मात्र संविधान हुर्कन्छ। होइन भने कागजको खोस्टामा परिणत हुन्छ। पहिला पहिला भएको त्यही हो विजय! अब नेपालमा हुने पनि त्यही हो।’ वर्षौदेखि गणेशराजजीले एउटै कुरा भन्नुभयो–‘समस्याका जरो संविधानमा खोजेर कहिलै फेला पर्ने छैनन्। नेपाल भारत सम्बन्धमा पारदर्शीता र स्पष्टता नआएसम्म जतिवटा संविधान फेरेपनि केही हुन्न। समस्याको चुरो त्यँहा छ, अन्यत्र उपचार खोजेर हुन्न। यो खेलमा चीन पनि छ, भारत एक्लै होइन।’ क्षेत्रिय र विश्व राजनीतिलाई हेर्ने दृष्टिकोणमा यदाकदा केही फरक भएपनि संविधानका विषयमा भने गणेशराज शर्माका शब्द मेरा निम्ति अविस्मरणिय रहने छन्–‘संविधान भनेको जीवन्त रूख हो, मृत काठको फर्निचर होइन। रूख हो, राम्रो हेरचार पाए बढ्छ, होइन भने मर्छ।’ त्यसैले त विश्वको कुनै पनि संविधान न त जन्मदै ‘विश्वको सर्वश्रेष्ठ’ हुनसक्छ न त ‘अद्वितिय’ हुनसक्छ। प्रयोग नै नगरि संविधानलाई ‘अद्धितिय, द्धितिय वा तृतिय’ श्रेणीको सर्टिफिकेट दिन सकिन्छ र? संविधान लेखन, निबन्ध लेखन प्रतियोगिता होइन। हुर्कदै नहुर्किएको रूखको बेर्ना- ‘विश्वको सर्वश्रेष्ठ, अद्धितिय वा तृतिय हुन सक्छ र?’ छैठीको दिनमा कुनै पण्डितले भविष्यवाणि गरेको भरमा कुनै बालख स्कुल नै नगइकन डाक्टर, ईन्जिनियर वा वकिल हुनसक्छ? हो, नेपालमा चाँही आउँछन् बर्खे खहरे खोलाहरू, स्ययम्भू भएर गर्जन्छन्, घोषणा गरिदिन्छन्– ‘यो विश्वकै सर्वश्रेष्ठ संविधान हो।’ तर बर्षायाम जानेबित्तिकै तिनको स्वर सुकिसकेको हुन्छ। अनि,‘विश्वको सर्वश्रेष्ठ’ संविधानले पनि हामीलाई चित्त बुझ्दैन। हामी नयाँ संविधानको खोजीमा युद्व गर्छौ। नयाँ संविधान आउँछ र, साथै ल्याउँछ अतिरन्जनाका सुभाष बाणीहरू - ‘यस पटकको चाँही विश्वकै अद्धितिय ल्याइयो।’ संविधानका बिषयमा पटक पटक एउटै प्रकारको खहरे हुँकार सुनेर विचरा समुद्र, फिस्स हाँस्न सिवाय के गर्न सक्छ र?

यति सब हुँदा हुँदै पनि, म यो संविधानको विपक्षमा छैन। किनभने मेरा नजरमा पनि संविधान एक रूख हो, फर्निचर होइन। तर संविधानको स्वीकारोक्तिको दायरा फराकिलो पार्न चाही अनिवार्य देखिएको छ। हामीलाई सारा नेपालमा लागू हुनेसक्ने संविधान चाहिएको छ कि छैन? यो प्रश्नमा आदरणीय प्रधानमन्त्री सुशील कोइराला, ओलीजी र प्रचण्डजीले मात्र होइन आदरणीय मधेशी नेतागणले पनि गम्भीरतापूर्वक सोचेर समाधानका उपाय निकाल्नैपर्छ। यदि हामी साँचो अर्थमा देशभक्त हौं भने, हामीले उपाय निकाल्नैपर्छ।

लौहपुरूष गणेशमानजीलाई सम्झदै छु जसले २०४७ को संविधान जारी भएपछि त्यसको स्वागत त गरे तर खबरदारीका यी शब्द भन्न पनि बाँकी राखेनन्। –‘नेपालमा राजनीतिक क्रान्तिको लक्ष्य मात्र पुरा भएको छ। सामाजिक र आर्थिक क्रान्ति बाँकी नै छ। सामाजिक सन्तुलन र आर्थिक विकासको अभावमा राजनीतिक क्रान्तिलाई धेर बेर अड्न गारो हुन्छ। शासन चलाउँदा, धेरै प्रकारले सामाजिक विविधता र जातजातिको सन्तुलन मिलाउँनैपर्छ। ६ वटा राजदूत बनाउँदा सबका सब ब्राम्हण किन बनाइए भनेर बिरोध गर्दा मलाई ब्राम्हण बिरोधी भनेर प्रचारित गरियो। मेरो जीवन पनि अजिबै रह्यो विजय। जवान छँदा काठमाडौंका केही नेवार साथीहरूले-बाहुनको मुतमा बगेर गणेशमान खतम भयो भने–तिनका इसारा अरू कोहि नभएर कोइरालाजी (बीपी) थिए। आज बुढेशकालमा आएर मलाई ब्राम्हण बिरोधी भनियो। म भाषा मिलाएर भन्न जान्दिनँ। तर, सामाजिक सन्तुलन मिलाउँनै पर्छ। आखिर राजनीति पनि हामीले सबैको शान्ति र विकासका निम्ति न गरेका हौ।’ यस्ता थिए, हाम्रा सर्वमान्य नेता लौहपुरूष गणेशमान सिंह। उनको कुनै सरकारी पद थिएन। तर पनि अमेरिका जाँदा अमेरिकी राष्ट्रपति जर्ज बुशले उनको स्वागत ‘ह्वाइट हाउस’ को ‘ओभल अफिसमा’ गरे। उनी पछि कयौं नेपाली प्रधानमन्त्री राष्ट्रसंघमा भाग लिन अमेरिका पुगे। तर, ह्वाइट हाउसको ओभल अफिसमा स्वागत पाउने सपना पनि देख्न सकेनन्, विपनाको त कुरै छाडौं। असंख्य प्रधानमन्त्री न्युयोर्क गए, महासभामा भाग लिन आएका एक हुल राष्ट्राध्यक्ष वा सरकार प्रमुखसँग अमेरिकी राष्ट्रपतिले हात मिलाउँदाको फोटो खिचाए, फर्केर आए। नियतिको खेल, आज तिनै गणेशमानजीका सुपुत्र प्रकाशमान सिंह ठूलो सरकारी ओहदासहित संयुक्त राष्ट्र संघ पुगेको छन्। नयाँ संविधानका उपलब्धि बारे जुन बखत उनी विश्व समुदायसँग खुसी साटिरहेका हुनेछन्, त्यसै बखत नेपालका प्रायः सबै भूभाग खुसी भएको अवस्था भए कति सुन्दर हुन्थ्यो होला जीवन।

आजकाल भारतबाट नेपालको संविधानका विषयमा हरदिन दवाबयुक्त सुझाव आइरहेको अवस्था हो। कति सजिलै बिर्सेका होलान् भारतीय अधिकारीले, आफ्नै संविधानसभाका अध्यक्ष तथा गणतन्त्र भारतका प्रथम राष्ट्रपति राजेन्द्र प्रसादलाई। भारतीय अधिकारीहरुको स्मणार्थ भारतको संविधानसभाको अन्तिम बैठकमा डा.राजेन्द्र प्रसादले बोलेका यी वाक्य दोहोर्‍याउन चाहन्छु- ‘हामीले बनाएको संविधानको मस्यौदामा कतिपय यस्ता प्रावधान छन् जो एक वा अर्को दृष्टिकोणबाट हेर्दा, कसै न कसैलाई आपित्तजनक लाग्न सक्छन्। हामीले स्वीकार गर्न सक्नुपर्छ- दोष र अवगुणहरू हाम्रो देशको वर्तमान अवस्थामा मात्र होइन अपितु जनता स्वयं भित्र पनि रहेकाछन्। यदि जनताले योग्य नैतिकवान मानिसहरूलाई चुनेर पठायो भने त्यस्ता जनप्रतिनिधीले एक ‘दोषयुक्त’ संविधान अन्तर्गत रहेर पनि उत्कृष्ट नतिजा दिनेछन्। तर, यी गुणहरूको अभावमा जस्तोसुकै संविधानले पनि राष्ट्रलाई कुनै मद्दत गर्न सक्ने छैन। आखिर, संविधान एउटा मेसिन झै निर्जिव बस्तु हो। इमान्दार र योग्य मानिसले त्यसलाई सञ्चालन गरे मात्र संविधानले जीवन्त हुने मौका पाउँछ।’ हो, राजेन्द्रप्रसादका यी सुन्दर भावलाई उद्धृत गरिरहँदा,हामीले बिर्सन नहुने कुरा–यो १९४७ को संसार होइन। अब ‘योग्यता’ को कुरा गरेर मात्र नपुग्ने भएको छ। किनभने, बिचको समयमा लोकतन्त्रको परिभाषा फराकिलो भएको छ। ‘समावेशीता’-त्यो परिभाषाको अनिवार्य अंग बनेको छ। यदि हामी ‘समावेशीता’ लाई स्विकार्न सक्दैनौं भने आजको युगमा हामी ‘योग्य’ शब्दका हकदार पनि हुन सक्दैनौं। काठमाडौंको बोडिङ स्कुलमा पढेको बच्चा र दुरदराजको मधेशमा वा हिमाली भेगमा हुर्किएको विद्यार्थीको योग्यता मापन लोकसेवा आयोगको एउटै प्रश्नपत्रका आधारबाट गरिनु उचित होइन भन्ने चर्का आवाज उठ्न थालेका छन्। बडा संवेदनशिल सन्तुलनको खाँचो छ। उखान टुक्का र दोहरी गीतको समय होइन। माओवादी बिद्रोह, जनआन्दोलन-२ र मधेश आन्दोलनको उद्धेश्यले समाजमा ‘समावेशिताको आधारमा शक्तिको स्थानान्तरण’ प्रकृयाको सुरुवात गराउने अभिष्ट स्पष्टै थियो। हालै जारी, सातौं संविधानबाट एक नयाँ थिति बस्ने अपेक्षा धेरैले गरेका थिए। नगरून् पनि कसरी? यही नारा दिएर त माओवादी र मधेश केन्द्रीत दलले त्यत्रा त्यत्रा बिद्रोह र आन्दोलन गरेका होइनन् र! यही आशामा थारू जनजाति आन्दोलित भएका होइनन् र? त्यसैले दसकौदेखि ‘मिलेर’ बसेका भनिएकाहरू नै उठेर भन्न थालेका छन् ‘हाम्रो अघिल्लो पुस्ता तिमीहरू सित मिलेर बसेको थिएन। हामी तिमीहरूलाई सहेर मात्र बसेको थियौं। अब पनि हामी मिलेरै बस्न चाहन्छौं। तर अबको मेलमिलाप पुरानै थिति अनुसार हुन सक्दैन।’ हो, अहिलेको द्वन्द्व, त्यही नयाँ थितिको खोजी हो। हो, संविधान यो द्वन्द्वलाई सम्बोधन गर्न सक्नुपर्थ्यो। गरेको भए, असन्तुष्टलाई बुझाउन सक्नुपर्थ्यो। यदि नसक्ने अवस्था थियो भने, संविधान घोषणा गर्न त्यति हतारो किन भयो? यस विषयमा सेतोपाटीमा मैले बेलैमा ‘संविधान घोषणा स्थगन गरौ’ शीर्षकमा लेखिसकेकाले थप्न केहि चाहन्नँ। त्यसपछिका दिनमा झारा टार्ने शैलीमा दुई दिनको समय सीमा थपियो। संविधानसभामा आन्दोलरत अन्य दल त आएनन् नै, लामो समयदेखि साथ दिएका विजय गच्छदार पनि बैठकबाट रूँदै बाहिरिए। तराई मधेशसँग बिग्रिएको सम्बन्धका उनी अन्तिम त्यान्द्रो थिए। एउटा स्थानमा जम्मा दुई शब्द थप्न चाहन्थे उनी सम्झौतामा। दुई शब्द थिए–तराई र मधेश। विग्रहको जब ईतिहास लेखिएला, त्यो बैठकको उपस्थित ती नेताहरूले उन्मुक्ति पाउने छैनन्, जसले त्यो दिन, ती दुई शब्द पनि थप्न दिएनन्। प्रधानमन्त्री सुशील कोइराला कै निकटस्थ एक मन्त्रीले मलाई भने– ‘यो कुरा ईतिहासले मात्र निर्णय गर्ला कि त्यसदिन दुई शब्द पनि थप्न नमान्ने नेताहरुको नियत असल थियो या खराब?’

‘तराई मधेश भन्ने दुई शब्द थपिदिनुहोस् हामी संविधानमा दस्तखत गर्न तयार छौ’ विनित भावमा भनेका थिए विजय गच्छदारले। तर, तीन दलका नेताले मानेनन्। त्यसै बैठकमा मध्यम मार्गी नेता जितेन्द्र देवको आँखामा आँशु आए। तर, नयाँ नेपालका नेताका मन पग्लिएन। मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) कुनै ठूलो दल होइन। तर, त्यसको निर्गमपछि संविधानसभामा मधेसवादी दलको उपस्थिति शून्यमा झर्‍यो। प्रश्न संख्याको मात्र थिएन, सवाल मनोवैज्ञानिक थियो। तराई मधेस थरूहट क्षेत्रका मानिसले भन्ने मौका पाए। दिल्लीलाई थप उफार्ने मौका पाए। संविधान ल्याउनु अघि महिना दिनदेखि तराई मधेस क्षेत्रमा कर्फ्युको सन्नाटा थियो। एकचालिस जनाले ज्यान गुमाइसकेका थिए। प्रहरीले ज्यान हत्केलामा राखेर गरेको इस्कर्टिङको बलमा प्राप्त पेट्रोल हालेर काठमाडौं केही नभए झै गरेर कानमा तेल हालेर सुतेको थियो। ‘औलाको नङ जत्रो टुक्रा माग्दा पनि दिएनन्। त्यसपछि मधेसीले रिसाएर पहाडी नेतालाई अब आन्दोलन गरेर कुनै दिन तपाईँको औंला नै लिएर जान्छु हेर्दैगर्नू भने। त्यसपछि भारतले आएर औंला मात्र किन, हातै काटेर दिउँला भनि धाप दियो।’ -एक मधेसी विश्लेशकले गहिरो ठट्टामा भने। संविधानले नयाँ थिति बसाल्न सक्नुपर्थ्यो। छटपटाहट र द्वन्द्व घटाउन सक्नुपर्थ्यो। त्यसैले त दमननाथ ढुंगानाले भने-‘नयाँ संविधान आयो तर समाधान आएन।’ नेपालमा सातौं संविधान जारी हुनुअघिको नेपाल सहज थियो कि आजको नेपाल सहज छ? नयाँ वानेश्वरमा आतिशबाजी गर्न, भोज खान कतै हामीले हतारो त गरेनौ? नयाँ बानेश्वरमा आतिसबाजी गर्न शंकास्पद हतारो गर्नेहरू र मधेशमा उग्रवाद फैलाउनेहरू कतै एकै सिक्काका दुई पाटा त होइनन्? प्रश्न विचारणीय छ। म कसैको देशभक्तिमाथि नै शंका गर्न चाहन्नँ। तर, नतिजाले देखाएको छ उग्रवाद चाहे पहाडे नेताको होस् या मधेशी नेताको, नोक्सान त्यसै हमेशा एउटै निशानालाई पारेको छ-नेपालको राष्ट्रिय एकता र सद्‌भाव।

अब भारत। असल खराब जे जस्तो भएपनि भारत नेपालको लागि एक यथार्थ हो। नेपाल पनि, भारतका लागि सानै हदमा किन नहोस्, एक जीवन्त यथार्थ हो। तर नेपाल भारत सम्बन्ध किताबी राजनीतिक यथार्थ मात्र होइनन्। आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक यथार्थको बलमा पनि टिकेका छन्। सम्बन्धका आधारहरू, राजनीतिको एउटै खम्बामा मात्र अडेका छैनन्। त्यसैले एक खम्बे विश्लेषणले कसैलाई पनि धेरै टाढा पुर्‍याउन सक्दैन। त्यसैले-दुबै देशका सरकार, राजनीतिक दल वा उत्तेजित मष्तिष्कबाट निस्किएका प्रतिक्रियाहरू एक समयसीमापछि स्वयम् बेकम्मा र हाँस्यास्पद हुँदै जान्छन्। किशुनजीले गहिरो अर्थ राख्ने ठ्टटामा भनेको शब्द- ‘नेपाल भारत समबन्धलाई एक हदभन्दा बढी तताउन सकिन्नँ। निल्नै नसकिने तातो पिँडालु भएर आउँछ यो। सानो नेपालले मात्र होइन विशालकाय घाँटी भएको भारतले पनि, त्यो ताँतो पिँडालु निल्नै सक्दैन। जिब्रो मात्रै पोल्छ, दुबैको।’ किशुनजी वितेको धेरै भयो। तर, भारतका प्रधानमन्त्रीसँग सार्वजनिक मञ्चमै खुलेआम विमति राख्न सक्ने नैतिक शक्ति भएका नेताको गहिरो ठट्टाको सार्थकता पुरानो भएको छैन। नेपालमा न भारतको अघोषित नाकाबन्दी धेरै दिन टिक्न सक्छ न साइकल राष्ट्रवादका गफहरू। नयाँ पुस्ताका साथीहरू शायद थाहा नहोला, साइकल राष्ट्रवादको यो गफ पहिलो पटक आएको होइन। म पञ्चायत युगका एक आदरणीय नेताको मुहार सम्झदै छु, उनले साइकल राष्ट्रवादको गफ मात्रै दिएनन्। साच्चिकै चढेर पनि देखाए। पत्रिकामा उनी साइकल चढेर अफिस गएको तस्बिर पनि छापियो। तर, केहि दिनपछि ‘आइ बात, गइ बात भयो।’ नेता मोटरमै फर्किए। उनले केहि दिन भएपनि साइकल चढे त सही। आफ्ना सन्तानलाई विदेशमा पढाए। अरूका सन्तानलाई साइकल राष्ट्रवाद सिकाए। असली जीवनमा मोटर चढेर जे गरे पनि, नाटकमा केहि दिन साइकल चढेरै देखाए। म साइकल राष्ट्रवादका नयाँ संस्करण नेताबाट पनि त्यही व्यवहारको अपेक्षा गर्छु। नेताले बोलेपछि पुर्‍याउँनैपर्छ, केही दिन भएपनि साइकल चढ्नैपर्छ। तपाईँले साइकल चढेको देखेर हामी पनि त केहि छिन रमाइलो गरौं कमरेड। दुई दिनको जिन्दगीमा मरीलानु के पो छ र! म भारतीय नेतृत्वलाई पनि स्पष्टताका साथ भन्न चाहन्छु– ‘नेपालप्रति भारतको जुन घोषित नीति छ, त्यसलाई लागू गराउने पराम्परागत विधिहरू गलत छन्। त्यसमा आमुल परिवर्तन अनिवार्य छ। अब या त नेपालप्रति विशेष मित्रताको घोषित नीतिमा बद्लाव ल्याउनुहोस, होइन भने त्यसलाई लागू गराउने आफ्ना काँटा, चम्चा र खिया लागिसकेका छुरिहरू फेर्नुहोस्। तपाइँसँगका वचनवद्धता भंग गरेको दण्ड कुनै नेपाली नेता वा पार्टीलाई दिनु नै छ भने पनि त्यसैलाई मात्र दिनुहोस जोसँग तपाईको साँठगाँठ सम्झौता थियो। नेपालका सामान्यजनको जीवन थप कष्टकर तुल्याउने कृत्यहरू कृपया तत्काल रोक्नुहोस्। नेपाल भारत सम्बन्ध दुई सरकारबीचको सम्बन्ध मात्र होइन। जनस्तरको सद्‌भावमाथि खेलवाड गर्ने हक भारत सरकारलाई पनि छैन। हामीले एउटा संविधान बनाएका छौ। कसैको चित नबुझेका बुँदामा छलफल गरौं, सुधार गरौं। किशुनजीले भने झै-जिब्रो मात्र पोल्ने निल्न नसकिने काम नगरौं श्रीमान्।’ तर यसो भनिरहँदा एउटा कुरा मैले स्वीकार्नैपर्छ। आफ्ना मधेशी दिदीबहिनी र दाजुभाइसँग आत्मआलोचना गर्नैपर्छ। भर्खरै मैले भारतलाई लक्षित जुन अनुच्छेदमा यी शब्द लेखे ‘नेपालका सामान्यजनको जीवन थप कष्टकर तुल्याउने कृत्यमाथि तत्काल पुनर्विचार गर्नुहोस’ तब अचानक मलाई मधेशको याद आयो। विचराहरू महिना दिनदेखि कर्फ्युको छायाँमा बसेका थिए। चालिसौं मृत्युपछि पनि काठमाडौं संवेदनहिन थियो। म आफू लगायत हाम्रो मिडियाको ठूलो अंश हुनुपर्ने मात्रामा संवेदशिल हुन नसकेकै हो।

तर जुन दिनदेखि भारत अघोषित नाकाबन्दीको बुट बजार्दै सिनमा आयो – कुम्भकर्णको निद्रामा सुतेको काठमाडौं जागा भयो। २००७ देखि अहिलेसम्मको ईतिहास हेर्दाको कटु सत्य– ‘नेपालको स्थापना पक्षसँग विद्रोह गर्ने शक्तिलाई जब जब दिल्लीले धाप दिन्छ तबतब ढिलोचाँडो काठमाडौंमा खेला बदलिन्छ।’ मलाई मन त बिल्कुलै पर्दैन। तर, हालसम्म चलि\आएको नियम यहीँ हो। नेपाल भित्रका लगभग हर पक्ष मनमनै चाहन्छन्–‘भारतले नेपालको आन्तरिक राजनीतिमा खेलोस् तर आफ्नो पक्षलाई सहयोग हुने गरि मात्र खेलोस्। गोल हान्ने बाटोमा आवश्यक पर्दा भारतले ‘फल’ हानेपनि हुन्छ। तर‘फल’ आफ्नो विपक्षीलाई मात्र हानोस्।’ तर बिडम्बना, नेपालमा एउटा राजनीतिक पक्षले जेथोकलाई ‘फल’ ठान्छ, अर्को राजनीतिक खेमाले त्यसैलाई ‘नैतिक समर्थन’ भनेर परिभाषित गर्छ। २०४६ मा भारतले नाकाबन्दी गर्दा सुशील’दा र ओलीजीको नजरमा ‘नैतिक समर्थन’ थियो आज २०७२ मा आएर ‘फल’ भएको छ। समस्याको चुरो यहाँ नेरै छ। कृत्य एउटै, परिभाषा दुई! त्यसैले मुलुक त आज अफ्ठ्यारोमा छ। वीपीले भनेझैं ‘राष्ट्र’ त यो अझै बनि सकेकै छैन। बन्ने प्रकृयामा छ। यस्तै खाले घटनाक्रमबाट शिक्षा लिनसके अलि चाँडै बन्ला पनि। मलाई लाग्छ, अहिलेका तीता घटनाक्रमले कालान्तरमा औषधिको काम गर्नेछन्। एक यस्तो तितो औषधि जसलाई खाँदा अफ्ठ्यारो भएपनि, परिणाम सुखद् हुन्छन्। गुणकारी तितो करेलाको झोल एकै स्वासमा पिएझैं। अहिलेका घटनाक्रमबाट शिक्षा लिनसके, दुई महान लाभ हुने छन्। पहिलो, मधेश र पहाडबीचको समबन्धलाई बढी समतामुलक ढंगले सञ्चालित हुन सघाउ पुग्नेछ। दोस्रो, नेपाल भारत सम्बन्धलाई भावनात्मक उत्तेजनाको युगबाट वैश्य युगका ‘बिजनेस लाइक’ धरातल तर्फ लैजान सघाउ पुग्ने छ। गणितले काम गर्न थालेपछि सबैका भावनात्मक गुनासा स्वत: कम हुनेछन्।

स्वर्गीय महेन्द्रनारायण निधिजीलाई सम्झदै छु। नेपालका यी गान्धीवादी नेताको स्मृतिमा स्थापित महेन्द्रनारायण निधि प्रतिष्ठानले हरेक वर्ष २ अक्टुबरमा गान्धी जयन्ती मनाउँछ। जुनदिन विश्वभरी गान्धी जयन्ती मनाइन्छ। महेन्द्रनारायण निधीजी नेपाली कांग्रेसका महामन्त्री थिए। प्रजातान्त्रिक आन्दोलनका अजम्बरी सिपाही थिए। निधीजी तराई मधेशमा नेपाली कांग्रेसको गौरवशाली आधार स्तम्भ थिए। आदरणीय महन्त ठाकुरजी र विजय गच्छेदारजीलाईभन्दा बढी यो कुरा कसलाई थाहा होला र? निधीजी किशुनजीका मित्र थिए। त्यसैले गर्दा मैले पनि दर्शनको सौभाग्य पाएँ। निधीजी हमेशा धोतीकुर्ता लगाएर हिड्थे। र, त्यो लगाए बापत बेला बखत काठमाडौंमा ठट्टा र अपमानका पात्र पनि बनाइन्थ्यो उनलाई। तर त्यसका बाबजुद हमेशा अविचलित रहे। अनेक अपमानका बावजुद पनि महेन्द्रनारायण निधीजीले न आफ्नो बाहिरी पोशाक फेरे, न त आफ्नो मन भित्र सदैव विद्यमान राष्ट्रियता र प्रजातन्त्रसँग कुनै सम्झौता गरे। देशभक्ति उनका निम्ति आचरणको विषय थियो, पोशाक प्रदर्शनको होइन। संयोग कस्तो परेको छ भने, संसदको अधिवेशन पनि अक्टोबर २ (असोज १५) मै बोलाइएको छ। मधेशलाई दिल्लीतर्फ धकेल्नु हुन्न, काठमाडौंबाटै हक माग्नुपर्छ भन्ने मान्यता राख्ने निधिजीकै पार्टी अहिले सरकारको पनि नेतृत्वमा छ। माइक अगाडि देख्ने वित्तिकै चर्का रमाइला उखानटुक्का गर्ने बानी भएपनि ओलीजी मूलत: एक समझदार नेता हुनुहुन्छ। त्यतिका वर्ष जेलमा बिताउनुभएको छ। अब पालो आदरणीय मधेसवादी नेताजनको हो–आफ्ना सबै माग पुरा हुन सक्दैनन् भनेर तिनले बुझ्नुपर्छ। किनभने सबै माग त पृथ्वीमा कसैका पनि पुरा हुँदैनन्। तिनका माग मध्ये केही यस्ता पनि छन्, जसलाई पुरा गर्न कांग्रेस एमाले र एमाओवादीले हिचकिचाउँनु हुँदैन। गर्न सकिने बिषयमा १५ गते संसद अधिवेशन अगाडिनै सहमति गरौं। संशोधन गर्न नसकिने कुरा केही छन् भने प्रस्टै भनौं। सहमतिकै आधारमा संसदको पहिलो दिनमा संविधान संसोधन दर्ताहोस्। १५ गते संसदको अधिवेशनमा सबै दल फर्कने वातावरण बनाऔं। मनको मैलो धेरै पखालिसकियो। अब पहाडे मधिसे थारू जनजाति भनेर एक अर्कालाई धेरै नधोऔं। चाहिनेभन्दा धेरै धुलाइ गरे फलाम पनि फाट्छ। राष्ट्रिय एकताको घागोलाई अब अरू न तन्काऔ है। ‘भाइ फुटे गवार लुटे’ नगरौ है। ईतिहास हाम्रो निर्णयको प्रतिक्षामा छ!