मेरा अनुभवहरु 
     SEE को नतिजा प्रकाशन भइसकेको थियो । Bridge Course पनि लगभग सकिँदै थियो। ओसिलो भुइँमा उम्रिएका च्याउजस्ता +2 पढाउने शैक्षिक संस्थाहरुको प्रोस्पेक्टस, ब्यानर , म्यागाजिनजस्ता प्रचार सामग्रीले गर्दा मेरो कलिलो मस्तिष्क अन्योलताको पराकाष्ठामा पुग्यो । यसैबीच मनमा महत्त्वकाङ्क्षाहरु सजाई चितवनका विभिन्न +2 मा प्रवेश परीक्षा दिएलगत्तै म काठमाडौ हानिएँ । प्रत्येक कलेजमा दिएको प्रवेश परीक्षाको नतिजाले SEE को नतिजाले पारेको चोटमा मलमपट्टीको काम गर्थ्यो । राजधानीका लगभग आधा दर्जन कलेजका प्रवेश परीक्षामा उत्कृष्ट नतिजा हात पारेपनि मलाई घरको मायाले डोर्‍यायो र चितवन जिल्लाको अग्रणी संस्था वाल्मीकिमा आफूलाई भर्ना गरेँ ।
    वाल्मीकिमा पनि शिक्षकहरु तथा सहपाठीबाट यथेष्ट माया र स्नेह प्राप्त गरेको थिएँ । म अनविज्ञ नै छु कि केद्वारा धकेलिएँ वा तानिएँ , ममा काठमाडौ जाने भूत सवार भयो अनि झोलामा  किताब र अन्य सामग्री राखी आफ्नो यात्रामा लागेँ । मेरो निर्णयलाई नै आफ्नो निर्णय मानी इच्छाको कदर गर्ने मेरा मातापिताप्रति सदैव आभारी रहनेछु ।
    त्यसपश्चात सुरु भयो मेरो लिभरपुलको यात्रा !

यससँगै प्रथम पटक मेरो छात्रवासको जीवन पनि सुरु भएको थियो । २०७४ कार्तिक ७ गते कुनै अर्को शैक्षिक संस्थाको पोसाकमा सजिएर कक्षाकोठामा जाँदा प्रथम त्रैमासिक परीक्षा सकिइसकेको थियो । सबैजना एकअर्कासँग राम्रैसँग परिचित भइसकेका थिए । मलाई भने कुनै एउटा छुट्टै दुनियाँमा आएकोजस्तो भान हुँदै थियो । जीवनमा पहिलो पटक म बहिर्मुखी मान्छे अन्तरमुखीमा रुपान्तरण भएँ कि भन्ने लाग्दै थियो । जब म साथीहरु र शिक्षकहरुसँग भलाकुसारी गर्थेँ, तब मलाई केही मात्रामा सहजपन महसुस हुन्थ्यो । स्कुल पढ्दा बोलेरै नथाक्ने म कक्षा एघारमा भने एकदमै भिन्न र बोलिचालीमा एकदमै कम समय व्यतीत गर्ने पात्रका रुपमा स्थापित भएँ जुन मेरा लागि विल्कुलै अकल्पनिय र अति नवीन अनुभव रह्यो । कक्षाका अन्य सम्पूर्ण साथीहरु भन्दा भिन्न थिएँ जसले गर्दा अरुले पक्कै अनौठो प्रवृतिको मानिस भन्ने ठाने होलान् । यद्यपि मलाई यी कुराले कहिल्यै प्रभाव पारेन । कक्षा ११ सकिदै गर्दा कक्षामा करिब आधा यस्ता विद्यार्थीहरु थिए जससँग मेरो एकपटक पनि सामान्य गफगाफ समेत भएको थिएन ।

   यत्तिकैमा कक्षा ११ पनि सकियो । ११ सकिएर १२ सुरु नहुन्जेलको अन्तरालमा आफूले अध्ययन गरेको Bridge Course Institute मा अध्यापन गर्ने मौका मिल्यो । आफ्नै उमेरका साथीजस्ता विद्यार्थीहरुका माझ शिक्षक बनेर उपस्थित हुँदाको अनुभव बेग्लै थियो जुन म शब्दमा उतार्न असमर्थ छु । जीवनमा छुट्टै लक्ष्य लिएतापनि शिक्षण पेशाको महिमा अकथ्य छ भन्ने कुरामा मेरो कुनै दुईमत छैन ।
  
     २०७५ साल असारको महिनाबाट कक्षा १२ प्रारम्भ भयो । कक्षा फेरिएसँगै अघिल्लो वर्ष बाहिरी संसारमा उल्लेखनीय रुपमा घुलमिल नभएको अन्तर्मुखी पात्र, म पनि डेढ-दुई वर्ष  पहिलेको विशाल सिग्देलमा परिवर्तित हुँदै थिएँ । अन्य दौंतरीसँगको घनिष्ट्ता पनि बढ्दै थियो । आफ्नो वर्गका सहपाठी मात्र नभइकन सिङ्गो कलेजका अरु थुप्रै विद्यार्थीहरुसँगको सम्बन्धले पनि थप गहिराइ प्राप्त गर्‍यो ।

चाहे पढाउन आउने शिक्षक-शिक्षिकासँगको रमाइलो कुराकानी होस् या कुनै फुर्सदको समयमा सहपाठीहरुसँगको रमणीय निरर्थक गफगाफ नै किन नहोस् , लिभरपुलमा बिताएका प्रत्येक पलहरु मेरो मगजमा छुट्टै डेरा जमाएर विचरण गरिरहेका छन् ।सायद ओलम्पिकमा आफ्नो गफ प्रस्तुत गर्ने कुनै खेल भएको भए स्वर्णपदक नै नजिते तापनि अब्बल दर्जाको खेल भने पक्कै प्रस्तुत गर्थ्यौँ होला। परिश्रमको गह्रौ भारीलाई किनारामा पन्छाई पढाइको बन्दीगृहबाट फुत्केर गोदावरी फिल्ड भिसिटमा जाँदाको समय मात्रै कहाँ हो र , सबै मिलि बनभोज गएर नाच्दा गाउँदाको अनुपम क्षण पनि उत्तिकै अविस्मरणीय छ । कक्षाको अन्तिम दिन मात्र ३ जनालाई राखेर KP सरले पढाउनुभएको कुरा हामी सायदै बिर्सन सक्छौँ होला।

     साँच्चै , कति छिटो वित्दो रहेछ है समय ! अस्ति मात्रै यो ठाउँमा नवआगन्तुकको रुपमा हाजिर भएजस्तो लाग्छ , परन्तु मेरो जीवनमा लिभरपुल शिर्षित नयाँ अध्याय बनिसकेछ । तर विडम्बना, यहाँ बिताएका केही झलकहरुलाई मनमा र केहीलाई दिमागमा समेट्दै जीवनको अर्को गोरेटो समात्ने बेला आइसकेछ ! समग्रमा निकै छोटो समय व्यतीत गरे तापनि यहाँ सँगालेका अनुभवहरु भरजन्म सम्झिन पर्याप्त छन् ।
 
                                               - सक्षम विशाल सिग्देल