मत्स्येन्द्रनाथको बिरासत : काठमाडौं र असमका सभ्यतालाई जोड्ने कडी

विधुप्रकाश कायस्थ

कला, संस्कृति, धर्म र साहित्यमा उल्लेखनीय योगदानका लागि काठमाडौं उपत्यका र असमको ब्रह्मपुत्र उपत्यका उल्लेखनीय छन् । दुवै उपत्यका नेपाल, भारत र तिब्बतबीचको महत्त्वपूर्ण व्यापारिक केन्द्रहरू हुन् । यस क्षेत्रको बौध्द र हिन्दु धर्मको प्रसारमा दरिलो भूमिका थियो । यस लेखको उद्देश्य अनुसन्धानमा आधारित अध्ययनहरूमार्फत यी दुई सभ्यतालाई पुन: जोडने सम्भावनाहरू खोज्नु हो ।

मत्स्येन्द्रनाथ रथ पर्वलाई "रातो मच्छिन्द्रनाथ जात्रा" पनि भनिन्छ । यो जात्रा काठमाडौं उपत्यकामा मनाइने परम्परागत धार्मिक र सांस्कृतिक पर्व हो । यस क्षेत्रको सबैभन्दा पुरानो र महत्त्वपूर्ण चाडमध्येको एउटा हो ।

राष्ट्रप्रमुखको उपस्थितिमा समापन गरिने यो सम्भवतः संसारको सबैभन्दा लामो रथ जात्रा हो । धेरै सातासम्म चल्ने यो जात्राको समय अवधि भने ज्योतिषीय विचार र परम्परागत पात्राहरूमा आधारमा प्रत्येक वर्ष फरक हुन्छ । यो सामान्यतया अप्रिलदेखि जुन महिनामा हुन्छ जुन मनसुन पूर्वको मौसमसँग मेल खान्छ । यसले विभिन्न समुदायका मानिसलाई एकसाथ ल्याउँछ, सामाजिक अन्तरक्रिया र सांस्कृतिक आदानप्रदानको लागि अवसर प्रदान गर्छ ।

यो पर्वले नेपाली समाजमा हिन्दू र बौध्द परम्परामा सद्भाव र सहअस्तित्वको मान्यता कायम राखेको छ ।

१. पृष्ठभूमि

यस प्रस्तुतिको उद्देश्य मत्स्येन्द्रनाथको सन्दर्भमा असम र नेपालबीचको पातलिँदै गएको सम्बन्धको ऐतिहासिक प्रमाणसँग पुन: जोड्ने सम्भावना खोज्नु हो । नेपालमा मत्स्येन्द्रनाथको बिरासत र यससँग सम्बन्धित अन्य पूराकथाहरूमा यथेष्ट बुँदाहरू उल्लेख गरिएका छन् ।

२. नेपालमा लामो समयको खडेरी

नरेन्द्रदेवको शासनकालमा नेपालले भयावह खडेरी भोगेको थियो । बाह्र वर्षसम्म पानी परेन । धानको उम्रियो तर भुसीमा चामलका दाना थिएन । नरेन्द्रदेवले खडेरीको कारण काठमाडौंका एक तान्त्रिक बन्धुदत्तबाट थाहा पाए ।

उनले वर्षा नहुनुका कारण गोरखनाथले नागहरुलाई बन्दी बनाएको हुनाले यस्तो भएको बताए । यसो गर्नुको गोरखनाथको मनसाय नेपालमा उनको नराम्रो स्वागतप्रतिको क्रोध वा आफ्ना गुरु मत्स्येन्द्रनाथलाई आउन बाध्य पार्ने उनको आशा हो भनिन्छ ता कि उनले आफ्ना गुरुको दर्शन गर्न पाउन् ।

३. समाधानको खोजी

बन्धुदत्तले राजा नरेन्द्रदेवलाई गोरखनाथबाट नागहरूलाई मुक्त गराउने एउटै उपाय गुरु मत्स्येन्द्रनाथलाई कामरूपबाट नेपाल ल्याउनु रहेको बताए । नरेन्द्रदेवले मत्स्येन्द्रनाथ नेपालमा  ल्याउने अभियानमा आफुसँग कामरूप जान शक्तिशाली तान्त्रिक बन्धुदत्त र ललित नाम गरेका ज्यापुलाई आग्रह गरे ।  मत्स्येन्द्रनाथलाई नेपालमा भक्तहरूले करुणामय पनि भन्छन्

४. नेपालबाट आसामको यात्रा

कामरूपमा पुगेपछि उनीहरूले मत्स्येन्द्रनाथका शाही आमाबाबुको सामना गरे । राजा शशिका पाँच सय छोराहरूमध्ये कान्छा थिए । बन्धुदत्तले आफ्नो तान्त्रिक जादू चलाएर सर्पलाई सानो आकारमा राजाको पेटमा हालिदिएपछि राजा बिरामी परे । राजाले बन्धुदत्तलाई निको पार्न सक्ने भए दिने वाचा गरे । आफुलाई निको पारेको खण्डमा राजाले मत्स्येन्द्रनाथलाई नेपाल पठाउने आश्वासन दिए ।  तर, मत्स्येन्द्रनाथकी आमाले अझै पनि करुणामयलाई आफूसँग लैजाने उनीहरूको अनुरोध अस्वीकार गरिन् । बन्धुदत्तले रानीले उनीहरूलाई पछ्याइरहेको थाहा पाए । त्यसैले बन्धुदत्तले उनीहरू त्यहाँबाट सजिलै उम्कन सकुन् भनेर करुणामयलाई भमरामा परिणत गरेर कलशमा राख्ने निर्णय गरे । भाग्दै गरेको बेला रानीले उनीहरूलाई समातिन् । रानीले उनीहरूलाई मत्स्येन्द्रनाथलाई नेपाल लान दुईवटा सर्त राखिन् – पहिलो, मत्स्येन्द्रनाथलाई देशको संरक्षक देवता मान्ने  र दोस्रो उनीहरूले मत्स्येन्द्रनाथलाई फर्कने बाटो देखाउन आफ्नो बाटोमा सालको बिउ छर्ने ।  दुवै सर्त मानेपछि नरेन्द्रदेवको टोलीलाई नेपाल फर्किने अनुमति दिइन् ।

५. टोली फिर्ता

उपत्यकामा फर्किएपछि टोली गोरखनाथ ध्यान गरिरहेको ठाउँमा पुग्यो । गोरखनाथ आफ्ना गुरुलाई सम्मान गर्न खडा भए ।  त्यसपछि  नागहरू मुक्त भएर आकाशमा उडे । काठमाडौं पानी पर्यो । त्यसपछि शोभा यात्रासहित टोली पाटन पुग्यो जहाँ बन्धुदत्त, ललित ज्यापु र नरेन्द्रदेवले करुणामयको रथजात्रा स्थापना गर्ने कि नगर्ने भनेर छलफल गरे । नरेन्द्रदेवले आफ्नो शाही विशेषाधिकारको सम्मान गर्न र भक्तपुरमा करुणामयको रथजात्रा गर्न मन्जुरी दिए । ललित ज्यापुले आफूले सबै काम सकिसकेकाले आफ्नो नगर ललितपुर (पाटन) मा देवताको सम्मान गर्नुपर्ने माग राखे । काठमाडौंका बन्धुदत्तले आफ्नो तान्त्रिक शक्तिले कार्य सफल भएको भन्दै करुणामय काठमाडौं ल्याउनुपर्ने दाबी गरे । अन्ततः करुणामय पाटनमै बस्ने सहमति भयो ।

निष्कर्ष

मत्स्येन्द्रनाथका विषयमा असम र नेपालबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने कुनै महत्त्वपूर्ण ऐतिहासिक प्रमाण वा व्यापकरूपमा अनुसन्धान भएको छैन । तथापि  मत्स्येन्द्रनाथबारे ऐतिहासिक सन्दर्भ प्रामाणीकरण गर्न र असमको कामरूप वंश र नेपालको लिच्छवी वंशको ईस्वी ६५० देखि ईस्वी ११०० सम्मको अवधिको घटना क्रमको अध्ययन अनुसन्धान गर्नुपर्ने देखिन्छ । घटनाहरूको ऐतिहासिक प्रमाणमा अनुसन्धान जारी राखिएन भने विगतको बारेमा बहुमूल्य जानकारी लोप हुन सक्छ । https://baahrakhari.com/detail/397423