कोशी अंचलको एउटा जिल्ला सुनसरीको सदरमुकाम इनरुवा हो ,यसको ईतिहास धेरै पुरानो नभए पनि नेपालको भौगोलिक विभाजनमा ७५ जिल्लाको कल्पना गरिए संगै मोरंग जिल्लाबाट छुटिएर बनेको जिल्ला हो । यसको पूर्वमा मोरंग ,पश्चिममा सप्तरी तथा उदयपुर , उत्तरमा भोजपुर तथा धनकुटा र दक्षिणमा भारतको बिहार राज्यसंग यसको सिमाना जोडिएको छ । यस जिल्लाको नाम सुनसरी रहनुको मुख्य कारण यस जिल्लाको बीच भागबाट बग्ने सुनसरी खोलाबाट नामाकरण गरिएको देखिन्छ साथै सदरमुकामको नाम इनरुवा चाही स्थानीय भाषामा इनार भएको स्थान बुझाउने वाक्य इनारवालाको अपभ्रंस नै इनरुवा भएको भन्ने भनाई रहेको छ । इनरुवा नगरपालिका नेपालको प्रदेश नं. १ अन्तर्गत सुनसरी जिल्लामा अवस्थित सदरमुकामको रुपमा रहेको यो नगरपालिका तत्कालिन महेन्द्र राजमार्ग र हाल पुर्व पश्चिम लोकमार्गको लम्बाई ७ कि.मि. र उत्तर दक्षिण ४ कि.मि. रहेको छ । भौगोलिक सिमांकन अनुसार पुर्वमा गढी गाउँपालिका, पश्चिममा भोक्राहा गाउँपालिका, उत्तरमा रामधुनी नगरपालिका र इटहरी उपमहानगरपालिका र दक्षिणमा हरिनगर गाउँपालिकाले घेरिएको नगरीको नाम इनरुवा हो । यो नगरपालिका राजनैतिक हिसाबले १० (दश) वटा वडाहरुमा विभाजन रहेको छ । यो नगरपालिका वि.सं. २०४५ सालमा नगर पंचायत घोषणा भएको थियो।