प्रकाश प्रेमी (२००६–२०५०) प्रकाश प्रेमीले लामो आयु भोग्न नपाए पनि जति बाँचे नेपाली हास्यव्यङ्ग्य निबन्धका क्षेत्रमा सक्रिय भएर बाँचे। उनका पत्रपत्रिकामा छापिएका थुपै्र फुटकर निबन्धमध्येबाट छानिएका आठवटाको सङ्ग्रह प्रजातन्त्र वि.सं. २०५०मा छापिएको छ। यी सबै निबन्ध २०४१ सालदेखि २०४९ सालको अवधिभित्र भाँडभैलो र झ्याइँकुटी पत्रिकामा प्रकाशित भएका हुन्। उनको पहिलो हास्यव्यङ्ग्य रचना भने खजान्ची मन्त्रीलाई बिन्तीपत्र २०४१ सालको भाँडभैलो पत्रिकामा प्रकाशित भएको थियो।

प्रकाश प्रेमीका हास्यव्यङ्ग्य निबन्धहरू २०४६ सालको राजनीतिक परिवर्तन हुनुभन्दा अघि र पछिका परिवेश र परिस्थितिका चित्रण गर्नमा केन्द्रित देखिन्छन्। विशेषतः राजनीतिक क्षेत्रमा देखिएका विकृति र विसङ्गतिका कारण सम्पूर्ण राष्ट्र र समाजमा परेका प्रतिकूलताहरू नै उनका निबन्धका विषय हुन्। राजनीतिक परिवर्तनपछि सत्तामा व्यक्ति परिवर्तनको आभास भए पनि चरित्र र मानसिकतामा परिवर्तन नभएकोतर्फ उनका निबन्धहरूले प्रहार गरेका छन्। आकारका दृष्टिले अत्यन्त छोटा उनका निबन्धहरूमा सरल र सरस भाषाको प्रयोग भएको छ। हाँस्य र व्यङ्ग्य दुवैको समुचित प्रयोगमा उनको रुचि देखिन्छ।