वि. सं. १९९०मा सञ्चालित पहिलो एस.एल.सी. का बोर्डफर्स्ट पुष्पभक्त मल्ल हुनुहुन्थ्यो। भक्तपुरको खौमाटोलमा वि. सं. १९७० साल माघ १२ गते जन्मेका पुष्पभक्त निम्न स्तरको परिवारमा जन्मेर पनि मेहनत गरे ठूलो सफलता प्राप्त गर्न सकिन्छ भन्ने मान्यताका उदाहरण हुनुहुन्थ्यो।

मल्ल नेपालका खानी विषयका पहिलो इञ्जिनियर र खानी विभागका पहिलो नेपाली निर्देशक पनि हुनु हुन्थ्यो। उहा नेपालका खानी तथा भूगर्भ (माइनिङ इञ्जिनियरिङ) विषयका पहिलो इञ्जिनियर पनि हुनु हुन्थ्यो।

उहाँको बाल्यकाल संघर्षमय रहृयो। एकजना पढेलेखेका आफन्तको मद्दतले उहाँले चार कक्षासम्म भक्तपुर मै पढ्नुभयो। बाँकी पढाइका लागि दरबार स्कूल नै पुग्नु पर्थ्यो। काठमाडौंमा आफन्तकहाँ बस्ने व्यवस्था मिलाएर दरबार स्कूलमा भन्दा पनि भए तर किताब किन्ने समस्याले उहाँलाई निकै नै सतायो। उहाँ रून थाल्नुभयो। उहाँको मर्का बुझेका भक्तपुर स्कूलका एक जना शिक्षकले ज्यामितिको एउटा किताब सित्तैमा दिएर उहाँलाई फुल्याए। बाँकी किताब उहाँले ट्युशन पढाएर किन्नु भयो। ट्युशन पढाएकै शुल्कले उहाँले आफ्नो पढाइ जारी राख्नुभयो।

पढाइ प्रतिको उहाँको सम्मोहन एउटा इखका कारण मौलाएको थियो। एकपटक गुरुले उहाँलाई एउटा अङ्ग्रेजी कविता कण्ठ पार्न दिएछन्। भोलिपल्ट उहाँले कविता कण्ठ सुनाउन नसक्दा गुरुले भनेछन्- '१४ वर्षको तेरो काकाले मेट्रीक गरिसक्यो। तँ १३ वर्षको भएर पनि यति सानो कक्षामा छस्, तैपनि पढ्दैनस्। तैंले के गर्छस् ?' यो सुनेर मल्ल जीवनभरि अध्ययनमै लीन रहे।

वि. सं. १९९० कार्तिक १६ गते नेपालमा पहिलो पटक एस.एल.सी. परीक्षा बोर्डको गठन भएको थियो। त्यसपूर्व परीक्षा दिन छात्र-छात्राहरू कोलकाता र पटना विश्वविद्यालयमा जानुपर्थ्यो। नेपाल मै परीक्षा बोर्ड गठन भई परीक्षा दिन पाउने प्रबन्ध भए पनि परीक्षा सम्बन्धी सबै प्रक्रियाहरू नेपाल सरकारका लागि पटना विश्वविद्यालयले नै गर्थ्यो। नेपालमा एस.एल.सी. परीक्षा गठन भएपछि पहिलो पटक १९९० साल पुसको अन्तिम हप्तादेखि परीक्षा सञ्चालन भएको थियो। तत्काल परीक्षा केन्द्र दरबार हाइस्कूलदेखि दक्षिण पट्टीको भवनमा थियो। परीक्षा आधा आधी हुँदा संवत् १९९० साल माघ २ गतेका दिन विनाशकारी महा-भूकम्प गयो, जसको कारण केही दिन परीक्षा स्थगित गर्नुपर्‍यो। भूकम्पका कारण दुई वर्ष दरबार हाइस्कूलको पढाइ त्रिचन्द्र कलेजमा चल्यो। पहिलोपटक कुल ३४ परीक्षार्थीहरू सहभागी रहेको उक्त परीक्षामा कोही पनि प्रथम श्रेणीमा उत्तीर्ण भएनन्। यीमध्ये १० जना द्वितीय श्रेणी र नौजना तृतीय श्रेणीमा उत्तीर्ण भए भने १४ जना असफल र एकजना अनुपस्थित भए। द्वितीय श्रेणीमा उत्तीर्ण भएका १० जनामध्ये सर्वाधिक अङ्क मल्लले पाउनुभएको थियो। परीक्षार्थीहरू मध्ये एकजना छात्रा सविनाकुमारी देवीले परीक्षा र्फम भरे पनि उनी परीक्षामा अनुपस्थित रहिन्। कुल आठसय पूर्णाङ्क रहेको उक्त परीक्षामा उत्तीर्ण हुन प्रत्येक विषयमा ३६ नम्बर ल्याउनु पर्थ्यो।

उहाँकी छोरी नेपालकी प्रथम महिला इञ्जिनियर समेत रहेकी छोरी शान्ती मल्ल हुनुहुन्छ।

आजकाल एस.एल.सी.को नतीजा प्रकाशित हुनासाथ बोर्डमा आउनेहरू सञ्चारमाध्यमको घेरामा परिहाल्छन्। तुरून्त तिनको नाम आम समुदायमा पुग्छ। तिनका अन्र्तवार्ताहरू सार्वजनिक हुन्छन्। तर, त्यो बेलाको स्थिति अर्कै थियो। रिजल्ट भएको एक महिनापछि मात्र पुष्पभक्तले बोर्डफर्स्ट भएको थाहा पाउनुभयो। दरबार स्कूलका तत्कालीन प्रधानाध्यापक रूद्रराज पाण्डेले उहाँलाई भन्नुभयो, 'ए पुष्प तिमी त बोर्डफर्स्ट भएका रहेछौ। बधाईं छ तिमीले मासिक २० रूपैयाँ पाउनेछौ।' बोर्डफर्स्ट भए पनि द्वितिय श्रेणीका कारण उहाँले मासिक २० रूपैयाँ भने पाउनु भएन। एस.एल.सी. पछि त्रिचन्द्र कलेज हुँदै बनारसबाट खानी तथा भूगर्भ इञ्जिनियरिङमा स्नातक मल्लले खानी विभागमा रहेर लामो समय काम गर्नुभयो। यही अवधिमा उहाँले फूलचोकीमा फलाम खानी र स्वयम्भु क्षेत्रमा सुनखानीको अध्ययन गर्नुभएको थियो।

खानी वैज्ञानिकसमेत रहेका मल्लको विश्वास थियो- उत्खनन् गर्न सकेमा नेपालमा खनिजको राम्रो सम्भावना छ। सिमेण्ट उद्योगले मात्र खानी विभागको सम्पूर्ण खर्च उठाउन सक्छ भने अरू खनिज उद्योग चलाउन सके त्यसले देशकै अर्थतन्त्रमा महत्त्वपूर्ण सुधार ल्याउनेछ। धर्मकर्ममा अत्यन्त आस्थावान उहाँले भक्तपुरका महादेव र लक्ष्मीनारायण मन्दिरलाई मासिक एकसय रूपैयाँ तथा भागवत पुरोहितलाई दुई सय रूपैयाँ प्रदान गर्दै आउनुभएको थियो। उहाँ संस्कृत शिक्षालाई महत्त्व दिन छाडिएकोमा चिन्तित हुनुहुन्थ्यो। संस्कृतमा ज्ञानको अद्वितीय भण्डार छ भन्ने उनको ठहर थियो।

तत्कालिन नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (रोनाष्ट), पृथ्वी प्रतिष्ठान, पूर्व कर्मचारी सेवा परिषद्, छिमेक समाज सेवा लगायतका संघसस्थाबाट उहाँले पहिलो बोर्डफर्स्ट र खानी वैज्ञानिकका रूपमा सम्मान पाउनुभएको थियो।

उहाँको २०६१ जेठ १६ गते ९१ वर्षको उमेरमा निधन भयो। उहाँ लामो समयदेखि दमको रोगबाट पीडित हुनुहुन्थ्यो। उहाँले दरबार हाइस्कूलबाट प्रवेशिका परीक्षा दिनुभएको थियो। उहाँका चार छोरा र तीन छोरी छन्। इमान्दार भएर बाँच्नु ठूलो तर कठिन कुरा भएको बताउने उहाँले धेरै वर्ष जागीरे जीवन बिताउनुभएको थियो। तर, काठमाडौंको डिल्लीबजारमा घर बनाउँदा लागेको ऋण तिर्न नसके कै अवस्थामा उहाँको निधन भयो।

लण्डनबाट खानी तथा भूगर्भ विज्ञानसम्बन्धि विशेष तालीमसमेत लिएका मल्ल देशमा रहेका असख्य प्राकृतिक स्रोत साधनको उपयोग हुन नसकेकोमा चिन्तित हुनुहुन्थ्यो। विज्ञान प्रविधिको विकास विना देशमा आर्थिक र सामाजिक विकास हुन नसक्ने उहाँको ठहर थियो।