जम्मु काश्मिरमा रहेको अमरनाथ गुफा

अमरनाथ हिन्दूहरूको एउटा प्रमुख तीर्थस्थलको रूपमा रहेको छ । यो भारतको जम्मू र कश्मीर राज्यको श्रीनगर सहरको उत्तर-पूर्वमा १३५ किलोमिटरको दुरीमा रहेको छ । यो गुफा समुन्द्र सतहदेखि १३,६०० फिटको उचाइमा अवस्थित छ । यस गुफाको लम्बाइ (भित्र देखि गहिराइ) १९ मिटर र चौडाइ १६ मिटर छ । गुफा ११ मिटर अग्लो छ । अमरनाथ गुफा भगवान शिवको प्रमुख धार्मिक स्थलहरू मध्ये एक हो । अमरनाथलाई तीर्थहरूको पनि तीर्थ भन्ने गरिन्छ किनकी यसै स्थानमा भगवान शिवले माता पार्वतीलाई अमरत्वको रहस्य बताएका थिए । यहाँको प्रमुख विशेषता पवित्र गुफामा हिउँबाट प्राकृतिक रूपमा शिवलिंगको निर्माण हुनु हो । प्राकृतिक हिउँबाट निर्मित हुने कारणले यसलाई स्वयम्भु हिमानी शिवलिङ्ग पनि भन्ने गरिन्छ । आषाढ शुक्ल पूर्णिमाबाट शुरू भएर जनैपूर्णिमासम्म पुरै साउन महिनाभर पवित्र हिमलिंग दर्शनको लागि यहाँ लाखौं श्रद्धालु आउने गर्दछन् । यस पवित्र गुफाको परिधि लगभग १५० फिट छ र यस गुफामा माथिबाट हिउँको पानीको स-सानो थोपा कुनै-कुनै स्थानमा झर्ने गर्दछ । यसै गुफामा एउटा यस्तो स्थान पनि छ, जहाँ हिउँको पानी झर्दा झर्दै त्यहाँ लगभग दश फिटको अग्लो शिवलिङ्ग बन्दछ ।(पूरा  पढ्नुहोस्...)