लप्सीको गेडा

आगो बाल्न तथा खेल्न प्रयोग गरिन्छ |

च्याम्पटी जुधाउने खेल सम्पादन गर्नुहोस्

च्याम्पटीको तल्लो छेउ ढुङ्गामा घोटेर टुप्पो तिखार्ने, त्यसलाई लट्टुझैँ फननन् घुमाएर जुधाउने र हारजितमा रमाउने नेपाली मौलिक खेल हो र यो मीनपचास विदाकोमा खेलिन्थ्यो। मौसम अनुसार खेलिने यो खेलमा आफ्नै मौलिकता पनि छ तर आजभोलि यस्ता खेलहरू लोप भइसके।

च्याम्पटीलाई घुमाएर खेल्न केही प्रविधि, सीप र चतुर्‍याइँको पनि जरुरी पर्दछ। त्यसैले गतिलो, पोसिलो र बान्की मिलेको गेडा छानेर त्यसको फेदको भागलाई ढुङ्गामा चारैतिरबाट घोट्दै बीचमा चोसो वा टुप्पो निकालिन्छ। त्यसले सानो लट्टुको आकार लिन्छ। अनि त्यसलाई दुई औँलाले च्यापेर घुमाइन्छ। घोटेको सन्तुलन मिलेन भने त्यो च्याम्पटी जँड्याहा मान्छे दौडेजस्तै रिँगाई, रिँगाई घुम्छ। छोडेको ठाउँमा बस्दैन। त्यस्तो च्याम्पटीलाई याना च्याम्पटी भनिन्छ र त्यसले प्रतियोगितामा भाग लिन पाउँदैन। सन्तुलित घुमाइ, धेरैबेर घुमिरहन सक्ने र अरूलाई ठक्कर दिएर रिंग बाहिर फ्याँक्न सक्नेले खेल जित्दछ। यो ढेँ ढेंँ बल्ला खेल बक्सिङ जस्तै रोमाञ्चक हुन्छ।

च्याम्पटीको प्रत्येक गेडामा पाँच वटा आँखा हुन्छन्। पाँचमुखे रुद्राक्ष झैँ प्रत्येक आँखाले एक भ्रूणलाई प्रतिनिधित्व गरेको हुन्छ। असामान्य च्याम्पटी चारआँखे वा तीनआँखे पनि हुन्छ तर एकआँखे भएको भने थाहा छैन। लप्सीको गेडा अङ्कुराउँदा तिनै आँखा अनुसार नवजात लप्सीको जन्म हुन्छ।

आफ्नो च्याम्पटीलाई च्याम्पियन बनाउनु छ भने एक विशेष प्रविधिको आवश्यकता पर्दछ। त्यसका लागि फोनोग्राममा रिकार्ड बजाउँदा प्रयोग हुने सियो चाहिन्छ। सियोको टुप्पोलाई च्याम्पटीको टुप्पोमा मिलाएर ट्वाक्क ठोकिदिए सियोको टुप्पो भाँचिन्छ र भित्रै बस्छ। काँडा बिझेजस्तै सियो बिझेको च्याम्पटी गेडालाई बिस्तारै घोट्दै जाँदा सियोले टुप्पोमा स्थान पाउँछ। त्यो सियोटुप्पे च्याम्पटी धेरै बेर घुम्न सक्छ। त्यो घुमाइ आकर्षक पनि हुन्छ। स्लेट पाटी, सिंहमरमर, ऐना जस्ता राम्रा चिप्ला ठाउँ वा चिल्लो कागजमा त्यसलाई जोडसँग घुमाएर छोड्ने हो भने एकठाउँमा टक्क अडेर घुम्छ। यसरी घुम्नेलाई सेरा च्याम्पटी भनिन्छ। यस्तो गेडालाई रातो, नीलो रङ्गले सिँगारेर अझ बढी मोहक बनाउन पनि सकिन्छ।

दुईवटा घुमेको वस्तु आपसमा भेट्दा त्यो भेटले ठक्करको रूप लिन्छ। त्यस अवस्थामा गह्रौँ वस्तुले हलुङ्गो वस्तुलाई टाढा फ्याँकिदिन्छ। त्यसैले च्याम्पटी जुधाउँदा ठूलो कदको ढाडे अर्थात् ढंपु च्याम्पटीले फुच्चे अर्थात् चिंपुलाई टाढा फ्याँकिदिन्छ तर निश्चित घेरा (रिङ) बाहिर पुर्‍याउन सकेन भने चिंपुको जीत हुने सम्भावना धेरै हुन्छ। किनभने, चिंपु घुमिरहँदा ढंपु मरिसकेको हुन्छ। पृथ्वीको गुरूत्वले गह्रौँलाई धेरैबेर घुम्न दिँदैन।

च्याम्पटी घुमाउने सीप हासिल गर्न मेहनत र नियमित अभ्यास आवश्यक पर्दछ। बूढीऔँला र माझीऔँलाले गेडालाई च्यापेर चुट्की बजाउँदा बल प्रयोग गरे झैँ औँला फट्कारेमा च्याम्पटी घुमाउन सजिलो हुन्छ। बूढीऔँला र चोरऔँलाले अझ बढी जोडसँग घुमाउन सकिन्छ। सिकारुहरूले भने चोरऔँला र माझीऔँला बटारेर च्याम्पटी घुमाउन मन पराउँदछन्। यस तरिकाबाट धेरै जोडले च्याम्पटी घुम्दैन। आफ्नो नियन्त्रणमा घुमाउने खेलौना भएकाले सामान्य बोलिचालीमा पनि च्याम्पटी घुमाएजस्तै घुमाइदियो भन्ने वाक्यांश प्रचलित बन्न पुगेको हो। आजभोलि च्याम्पटीको खेल प्रायः लोप भइसकेको छ

च्याम्पटीलाई गह्रौँ बनाउन त्यसभित्र सीसाधातु भर्ने चलन छ। यो धातु गह्रुँगो तर छिटै पग्लने र छिटै जम्ने हुन्छ। पहिले लप्सीको गेडा भित्रको गुदीलाई पाँचवटै आँखाभित्र सुइरो घुसाई घुसाई बाहिर निकालिन्छ। त्यसपछि थोरै थोरै सीसा आगोमा पगालेर आँखाको प्वालबाट भित्र पठाइन्छ। ज्यादै सफा हात, धैर्य र सीपले यो काम सम्पन्न हुन्छ। पाँचै वटा आँखाबाट बराबर सीसा भित्र पठाउन सकिएन भने च्याम्पटी याना हुन्छ। सन्तुलित मात्रामा सीसाभित्र परेमा त्यो गहुँ्रगो च्याम्पटीले अरू सामान्य च्याम्पटीलाई छुनासाथ सीमापारि (रिंगबाहिर) फ्याँकिदिन्छ। तर, यस्तो च्याम्पटी अरूको दाँजोमा धेरै बेर घुम्न सक्तैन तसर्थ हार्ने जोखिम रहन्छ। सामान्यतया यस्तो च्याम्पटीसँग अरू च्याम्पटी जुधाउन सबै तयार हुँदैनन्।

नया उपयोग सम्पादन गर्नुहोस्

च्याम्पटीलाई आजभोलि चुल्होमा बालिन्छ, खेलिँदैन। यतिको साह्रो, दह्रो र खप्ने काठ पदार्थबाट कुनै कलात्मक वस्तु बनाउन सकेका छैनौँ।