चेपाङ जाति
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले सूचि गरेको ५९ जनजातिमध्ये चेपाङ एक हो। २०६८ को जनगणनामा चेपाङको जनसंख्या ६८ हजार ३ सय ९९ थियो भने २०७८ सालको जनगणना अनुसार यिनको जनसंख्या ८४ हजार ३ सय ६४ रहेको छ। तीमध्ये पुरुष ४२ हजार ७ सय ५८ र महिला ४१ हजार ६०६ जना रहेको छ। यिनीहरूको बसोबास झापादेखि कञ्चनपुरसम्मका ३१ जिल्लामा रहेपनि सबैभन्दा धेरै चितवन, मकवानपुर, धादिङ, गोरखा, तनहुँ र लमजुङमा बस्छन्। चेपाङहरूको जीवन वनजङ्गल र जमिनसँग अति निकट रहेको पाइन्छ। त्यसैले उनीहरूको बसोबास वनजङ्गल नजिक, भिरालो परेको जमीन, खोला नजिक छरिएर रहेको पाइन्छ। घरहरू सामान्यतया एकतले ढुङ्गा र माटोले बनेको र खरले छाएको पाइन्छ। कतिपय चेपाङहरूको घर भने काठ तथा जस्ता पाताले बनाइएको पनि पाइन्छ। चेपाङहरू पहिले अन्य समुदायसँग कम घुलमेल हुने र लज्जालु हुन्थे तर अहिले सबै समुदायहरुसंग घुलमिल भएर बसोबास गरेको पाइन्छ। शारीरिक बनावटका रूपमा केही होचा तर मांशपेसीदार हुन्छन्। उनीहरूको पुर्ख्यौली पेशा खोरिया खेती नै हुन्। हाल आएर आधुनिक जीविकोपार्जनका माध्यमहरू कृषि, तरकारी खेती, पशुपालन, व्यापार-व्यवसायतर्फ पनि यी समुदाय उन्मुख छन्।
चेपाङहरूको पहिचान आफ्नो संस्कार, भेषभूषा, भाषा, संस्कृति एवम् परम्परागत सीपको आधारमा बनेको छ। चेपाङहरूको मुख्य बसोबास क्षेत्रमा च्यूरीको रूख पाइन्छ र यसले उनीहरूको पहिचान बोकेको पाइन्छ। वि.सं. २०३४ सालको तत्कालीन राजाको निर्देशनमा उनीहरूको आफ्नो जातीय नाम चेपाङबाट प्रजा भएको हो। जुन बेलामा सरकारको रूपमा बसेको राजा वीरेन्द्रले यिनीहरू गरिबीको कारण अति पिछडिएका छन्, अब यिनीहरूलाई "प्रजा" भन्नू भनी आदेश गरे। ततपश्चात २०३४ सालदेखि प्रजा विकास कार्यक्रम लागू पनि गरियो। तर बि.स. २०५५ सालमा बिधिवत रूपमा स्थापना भएको नेपाल चेपाङ संघको नेतृत्वमा वि.स.२०६३ सालमा चेपाङ अगुवा तथा अधिकारकर्मीहरूले आफ्नो जातीय पहिचानलाई मेटाउन नचाहेकोले गर्दा पछि आएर हामी "चेपाङ" नै हौँ भनी अगाडि बढ्न थाले। चेपाङहरूको आफ्नै मातृभाषा छ र यिनीहरूको भाषा भोट–बर्मेली परिवार अन्तरगत रहेको छ। परापूर्वकालदेखि नै यिनीहरूको आफ्नो दैनिक व्यवहारिक चलनमा प्रयोग गर्ने आफ्नै मौलिक भाषा रहेको पाइन्छ र यसलाई यिनीहरूले आफ्नो मातृभाषा अनुसार (च्योवाङ भाषा) भन्ने गर्छन्। यथार्थमा यिनीहरू च्योबाङ रहेको तर कालान्तरमा अपभ्रंश भई चेपाङ हुन आएको कुरा चेपाङहरु स्वीकार्छन्। चेपाङको आफ्नै मातृभाषा भए पनि लिपि भने पाइएको छैन, र यिनीहरूले नेपाली लिपीमा लेखहरू लेखेपनि आफ्नो भाषाको बर्ण निर्धारण गरी भाषाको मौलिकता अनुसार लेख्ने गरेको पाइन्छ।
चेपाङहरूको परम्परागत धर्म प्राकृतिक धर्म हो। जस अनुरूप चेपाङहरूले सिमिभुमि देखि रूख तथा थानीलाई समेत पूजा गर्छन्। खेतीबाली लगाउनुभन्दा अगावै भुइँ झ्यासा (भूमि पूजा) गर्ने गरिन्छ । यो पूजा प्रायः माघ र फागुनमा गर्ने गरिन्छ । बाली पाकिसकेपछि सबैभन्दा पहिले नजिकको थानी भूमिलाई चढाइसकेपछि मात्र मकै खान्छन् भने निबुवा, बिमिरो, पिडाँलु, घैंया धान आदि चाहिँ छोनाम गरी पितृलाई नबुझाइकन खाँदैनन्। भदौमा पूजा गरिने छोनाम ‘न्वागी’ चेपाङहरूको सबैभन्दा ठूलो धार्मिक पूजा हो, तर यसलाई यिनीहरूको मौलिक भाषा अनुसार न्वाङ्गी नभइ "नवाङ्गि" भनिन्छ। पछिल्लो समयमा आएर यिनीहरूको समुदायमा क्रिश्चियन धर्मको ठूलो प्रभाव रहेकोले धेरै मात्रामा क्रिश्चियन धर्म अंगालेको पाइन्छ, र चेपाङ भाषामा बाइबल नया करार पनि प्रकाशित रहेको पाइन्छ। चेपाङहरू लोकसंस्कृतिमा धनी छन्। सङ्गीत र गीतको हिसाबले यिनमा थुप्रै विषयको लोकगीत र सङ्गीतको भण्डार छ। उनीहरू विवाह, चाडपर्व, सामाजिक जमघटमा विभिन्न भाकाका गीतहरू गाउँछन्। चेपाङहरू लोककथा, काव्य, उखान आदि जस्ता परम्परागत साहित्यमा पनि धनी छन्। यो भाषाको गीत पनि छ विनराय लोककथाहरू परापूर्वकालदेखि पुर्खाले आफ्ना शाखा सन्तानहरूलाई सुनाइ आएका कथाहरू हुन्। पुस्तौं पुस्तासम्म एकदेखि अर्कोमा हस्तान्तरण हुँदै सर्दै जान्छ। यी विनरायहरूमा पृथ्वीको सृष्टि, मानिसहरूको पृथ्वी, वनजङ्गल, पहाड पर्वत, जीवजन्तु आदिसँगको अन्तक्र्रिया, सम्बन्धको बारेमा उल्लेख गरिएको पाइन्छ। चेपाङहरूको परम्परागत भेषभूषामा महिलाको लागि गुन्यू–चोलो र पुरूषको लागि दौरा–कछाड र त्यसमा जाली भिरिएको स्टकोट हुन्छ। साथमा पछाडिपट्टि कम्मरमा काठको खुर्पीठ्याक भिरिएको हुन्छ। चेपाङहरूको परम्परागत गरगहनाको रूपमा मुगा, हारेमाला आदि छन्। हाल चेपाङ समुदायकामानिसहरूको पहिरनमा मिसावट आएको देखिन्छ। पुरूषहरू प्रायःजसो सर्ट, कट्टु, पाइन्ट, टोपी आदि लगाउँछन्। महिलाहरू लुंगी, ब्लाउज लगाउछन। कतिपय महिला र बालबालिकाहरू कुर्ता सुरुवाल र पाइन्ट, टी–सर्ट आदि पनि लगाउँछन्। प्राकृतिक सौन्दर्यता, जैविक विविधता र साँस्कृतिक विशिष्टताका कारण यस क्षेत्रमा पर्यटन विकासको ठूलो सम्भावना देखिन्छ।