ख्याली
ख्याली विशेष चाडपर्वमा वा पूजाआजामा खैंजडी, मुजुरा आदि बजाउँदै, गाइने लोकगीत; चुड्का हो ।[१] ख्याली श्रृङ्गारप्रधान र भक्तिप्रधान गरी दुई प्रकारको हुन्छ। तन्नेरीतरुनीहरू भेला भई गाइने एक प्रकारको जुवारी श्रृङ्गारप्रधान हुन्छ भन जात्रा, देवाली पूजा जस्ता विशेष चाडपर्वमा वा पूजाआजामा भक्तिप्रधान ख्याली गाउने गरेको पाइन्छ। खैँजडी र मजुराको प्रयोग गरी विशेष प्रकारको थेगोलाई दोहोर्याउँदै लय र तालमा फेरबदल गर्दै गाइने ख्याली लोक गीतको एउटा प्रसिद्ध भाका हो।[२]
‘खेली गीत’ नेपाली लोकगीतको एउटा महत्त्वपूर्ण प्रकार हो । ‘खेली’ शब्दको व्युत्पत्ति खोज्दै गयो भने ‘खेल’ मूल शब्दमा ‘ई’ प्रत्यय लागेर ‘खेली’ बनेको हो । तर लोकगीतका सन्दर्भमा भने यसको अर्थ ‘नेपाली लोकगीतको एक प्रकार’ भन्ने बुझिन्छ । हाँसखेलका रूपमा व्यक्त हुने अर्थात् कुनै पूजा–आजा, रोदी आदिमा युवायुवतीहरू जम्मा भएर व्यक्त गर्ने सरस र प्रेमपूर्ण अभिव्यक्तिलाई खेली भनिन्छ । यो गीत कहिले भजन बनेर, कहिले प्रेमगीत बनेर त कहिले चुड्का बनेर नेपाली समाजमा गुञ्जिँदै आएको छ । यस खेली गीतलाई विभिन्न विद्वान् तथा अनुसन्धानकर्ताहरूले आ—आफ्नै तरिकाले खेली, ख्याली, आँधीखोले भाका, रोइला, चुड्का, लोइरो गीत, तीन ठ्याके गीत आदि नामले पुकारेको पाइन्छ । वृहत् नेपाली शब्दकोशमा ‘खेली’ नभएर ‘ख्याली’ शब्दलाई खेलीको अर्थमा अथ्र्याइएको छ । जसको अर्थ
- (१) विशेष चाडपर्व वा पूजाआजामा खैँजडी मजुरा आदि बजाउँदै गाइने लोकगीत, चुड्का
- (२) तन्नेरी, तरुनी भेला भई गाइने एक प्रकारको जुवारी
- (३) खूब ख्याल, ठट्टा गर्ने स्वभावको, ठट्यौलो ।
खेली लगायतका लोकगीतहरूलाई पहिले पहिले एक प्रकारको खेलको रूपमा लिइने चलन पनि थियो । जहाँ जीतहारको सवाल हुन्छ त्यसलाई खेल मान्न सकिन्छ । भनिन्छ, खेली गीतको जुहारी अथवा दोहोरी यस्तो घम्साघम्सीले चल्थ्यो कि सात दिन सात रातसम्म जीतहारको टुङ्गो लाग्दैनथ्यो र जित्नेले बिहे गरेरै लाने वा जानेसम्म हुन्थ्यो । त्यसरी ख्याल ख्यालैमा हँस्यौली–ठट्यौली पाराले पनि निकै समय गाइने हँदा पनि यसलाई खेली भनिएको कुरामा सहमत हुन सकिन्छ । [३]