वि.सं. १९५२ तिर वीर शमशेरद्वारा जीतशमशेरको लागि बनाइएको दरबारलाई चन्द्रशमशेरले विक्रम सम्वत् १९६५ सालमा किनी आफ्नो छोरा केशर शमशेरलाई दिएपछि उक्त दरबारको नाम केशरमहल रहन गयो।


नौ हेक्टर क्षेत्रफलभित्र बनेको उक्त दरबारको विशेषता भन्नु नै त्यहाँभित्रका विभिन्न जातका रुखविरुवा नै हुन्। ६ वटै ऋतुको लागि बस्न भनी बनाइएको केशरमहलको 'स्वप्नवाग' पनि त्यतिनै उल्लेखनीय छ। हाल अष्ट्रेलियन सरकारको सहयोगमा केशरमहलको 'स्वप्नवाग' संरक्षण गरिँदै आएको छ। पुस्तकको सङ्कलन र अध्ययनका सौखिन केशरशमशेरले यूरोप, अमेरिका, रुस, चीन, जापान जस्ता मुलुकहरूको भ्रमणपछि पुस्तकहरू सङ्कलन गरी केशर पुस्तकालय निर्माण गराए। एसियाकै ठूलो निजी पुस्तकालय केशर पुस्तकालयमा करीब ३६ हजार जति पुस्तकहरू राखिएका थिए। केशरशमशेरकै इच्छानुसार उनको मृत्युपछि उनकी कान्छी विधवा कृष्णचन्द्रदेवी राणाले केशर पुस्तकालय नेपाल सरकारलाई २०२६ सालमा हस्तान्तरण गरेकी थिइन्।

हालको स्थिती सम्पादन गर्नुहोस्

हाल केशरमहलको हाताभित्र शिक्षा तथा खेलकुद मन्त्रालय, केशर पुस्तकालय, समाज कल्याण परिषद्, मल्ल होटेल लगायत केही भागहरूमा केशरशमशेरकै सन्तानहरू रहेका छन्। केशर पुस्तकालय सरकारलाई हस्तान्तरण गर्दा दिएका विभिन्न पुस्तकहरू हाल त्यहाँ नभएकोले सम्बन्धित निकायको ध्यान त्यसतर्फ जानुपर्ने बताउँदै केशरशमशेरका छोरा लोकभक्त राणा पुस्तकालयका पुस्तकहरू जनताको सम्पत्ति भएकोले जनतालाई फर्काउनुपर्छ भन्नुहुन्छ।

यो पुस्तकालय स्थापनाको उद्देश्य भनेको विभिन्न शैक्षिक सामग्रीको सङ्कलन,संरक्षण र सम्वर्धन गरी सम्पूर्ण पाठकहरूलाई उपलव्ध सामग्री प्रयोगको अवसर प्रदान गर्नु हो ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्