एन्टिबायोटिक
ग्रीक भाषामा एन्टी भनेको विपरीत र बायोस् भनेको जीवन हो। अर्को शब्दमा भन्ने हो भने एन्टिबायोटिक भनेको जीवनाशक वस्तु हो र यसले जीवाणुलाई नाश गरेर मानिसलाई रोगबाट छुटकारा दिलाउँछ। जीवाणु नाश गर्ने एन्टिबायोटिकलाई ब्याक्टेरियल साइडल र फैलिन नदिनेलाई ब्याक्टेरियो स्टाटिक भनिन्छ। सन् १९२८मा एलेक्जेन्डर फ्लेमिङले फंगसबाट पेनिसिलिन निकालेका हुन्। फ्लेमिङ फ्लोरी र चेनले उक्त उपलब्धिका लागि संयुक्त रूपमा सन् १९४५मा नोबेल पुरस्कार पाएका थिए। हिजोआज विभिन्न किसिमका एन्टिबायोटिक बजारमा उपलब्ध छन्। धेरै चिकित्सकले चलाउने एमोक्सिलिन सन् १९९८मा मात्र उपलब्ध भएको हो।
अमेरिकाका जीवाणुविज्ञान विशेषज्ञ सेलम्यान वाक्सम्यानले सन् १९४३मा स्ट्रेप्टोभाइसिन पत्ता लगाएका हुन्। यसअघि क्षयरोगको ओखती थिएन। राम्रो हावापानी भएको सेनेटोरियममा पौष्टिक खाना ख्वाएर क्षयरोगको उपचार गरिन्थ्यो। यसरी उपचार अभावमा हजारौं क्षयरोगीको मृत्यु हुन्थ्यो।
पेनिसिलिनको सुइबाहेक सल्फाडायजिन र सल्फाग्वानिडिनका ट्याब्लेटहरू सरकारी अस्पतालहरूमा पाइन्थ्यो। धेरैजसो जीवाणुजनित रोगमा सल्फा समूहमा ओखतीहरू दिने चलन थियो। जीवाणुभित्रको फोलिक एसिडलाई प्रभाव पारेर सल्फा समूहका ओखतीहरूले जीवाणुहरूलाई फैलिन दिँदैनन्। यिनीहरू ब्याक्टेरिया स्टाटिक समूहमा पर्छन्। ब्याक्टेरियाको प्रोटिनलाई प्रभाव पारेर रोग नियन्त्रण गर्ने समूहमा एजिथ्रोभाइसिन, क्लिनडामाइसिन, क्लोरामफेनिकल र टेट्रासाइक्लिन पर्छन्। ब्याक्टेरियाको शक्ति नाश गर्ने उल्लिखित एन्टिबायोटिकमध्ये क्लोरामफेनिकल टाइफाइड ज्वरोमा वर्षौं प्रयोग भयो। हिजोआज टाइफाइडका लागि अन्य एन्टिबायोटिक उपलब्ध छन्। क्लोरामफेनिकलका धेरै अवाञ्छनीय अवगुण भएकाले आजकाल यसको प्रयोग हुँदैन। आँखाको रोगका लागि भने अझै यसलाई प्रयोग गरेको पाइन्छ।
आधुनिक युगमा सबभन्दा ज्यादा प्रयोग गरिने ओखतीहरूमा एन्टिबायोटिकहरू नै पर्छन्। एन्टिबायोटिकको जथाभावी प्रयोगले यी समूहका ओखतीको जीवाणु नाश गर्ने शक्ति कम हुँदै जान्छ र पछि यी ओखतीले एकदमै काम गर्न छाडछन्।
यही सत्यलाई राम्रोसँग बुझेका पश्चिमी मुलुकहरूमा जोकोहीले एन्टिबायोटिक दिन सक्दैन। चिकित्सकहरूले मात्र एन्टिबायोटिक दिन सक्छन्। प्रेस्किप्सनबिना औषधि पसलबाट एन्टिबायोटिक खरीद गर्न सकिँदैन। हाम्रो देशमा जोकोहीले सजिलैसँग एन्टिबायोटिक खरीद गर्न सक्छ। यसको फलस्वरूप एन्टिबायोटिकको सही प्रयोग हुँदैन। मानिसको ज्यान बचाउने ओखतीहरू शक्तिहीन भएर काम गर्न छाड्छन्।