इन्द्रबहादुर गुरुङ समानुपातिक तर्फ नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। ६७ वर्षीय गुरुङ २०१५ सालमा सहायक मन्त्री रहेका आफ्ना बुबाबाट प्रभावित भई राजनीतिमा लाग्नुभएको हो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुङ संविधानसभामा निर्वाचित हुँदा कानुन सहायक मन्त्री हुनुहुन्थ्‍यो। उहाँ आदिवासी जनजाति संघका सभापति समेत हुनुहुन्छ। भारत, देहरादूनमा आई.ए. पढ्दापढ्दै २०१७ सालमा उहाँ पक्राउ पर्नुभएको थियो। राजनीतिकै क्रममा २०१८ सालमा गुरुङले ८ महीना जेल जीवन विताउनुभएको छ। प्रजातान्त्रिक आन्दोलनमा झण्डै पाँच दशक बिताए पनि गुरुङले संसदीय निर्वाचनमा उम्मेदवारी दिनुभएको छैन। आइ.ए. पूरा गरेपछि राजनीतिमै समर्पित रहेका गुरुङले आफ्ना एकमात्र छोरा गतवर्ष गुमाउनुभएको छ। अध्ययन र समाजसेवा उहाँको रुचिका विषय हुन्। अब बन्ने लोकतान्त्रिक संविधानले देशको उज्ज्वल भविष्य कोर्ने विश्वास लिएका सभासद गुरुङ जाति, भाषा र भौगोलिक बनावटका आधारमा देशलाई सङ्घीय संरचनामा लैजानुपर्ने र निर्वाचन प्रणाली पूर्णतः समानुपातिक हुनुपर्ने मुद्दालाई संविधानसभामा आफूले प्राथमिकतासाथ उठाउने बताउनुहुन्छ। लोकतन्त्रप्रतिको अविचलित निष्ठा र समर्पणले आफूलाई संविधानसभामा पुर्‍याएको उहाँको अकलन छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्